समानुपातिक संख्या घटाएकोमा जनजातिको विरोध

काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघसहितका जातीय संस्थाहरूले संविधानसभा निर्वाचनमा समानुपातिकतर्फको सिटसंख्या घटाउन गरिएको प्रस्तावप्रति विरोध जनाएका छन् । समानुपातिकका प्रतिनिधिको सिटसंख्या घटाउँदा आदिवासी/जनजातिहरूको प्रतिनिधित्वमा असर पुग्ने उनीहरूको ठहर छ ।
विभिन्न जनजाति संघसंस्थाले सोमबार यसबारे प्रमुख चार दलको कार्यालयमै पुगी ज्ञापनपत्रसमेत बुझाएका छन् । प्रमुख दलहरूले २ सय ४० सदस्य संख्या मात्र समानुपातिक प्रतिनिधित्वबाट छान्ने सहमति गरी प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरेका थिए । महासंघसहित जातीय संस्थाहरूले एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
महासंघसँगै किरात राई यायोक्खा, ताम्सालिङ राष्ट्रिय दल, किरात याक्थुङ चुम्लुङ, नेवा: दे दब्यू, तमू ह्युल छोँज धी, शेर्पा राष्ट्रिय परिषद् मञ्च, लिम्बुवान राज्यपरिषद्, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहितका संस्थाले ज्ञापनपत्र बुझाएका छन् । (सौस)

प्रतिक्रिया