कसैले बुझाएनन् हतियार

रौतहट, १९ चैत । व्यक्ति विशेषसँग रहेका अवैध हतियार बुझाउन प्रशासनले दिएको ३५ दिने म्याद समाप्त हुँदा पनि रौतहटमा कसैले हतियार बुझाएनन् । १३ फागुनमा सदरमुकाम गौरमा प्रहरीले साप्ताहिक जनचेतनामूलक कार्यक्रम गरेर जिल्लालाई अवैध हतियारमुक्त जिल्ला बनाउने प्रतिबद्धता जनाएको थियो । प्रहरीले ३५ दिनभित्र व्यक्तिविशेषले राखेका अवैध हतियार बुझाउन म्याद दिएको थियो ।

जिल्लामा व्यक्तिविशेषले लुकाएर राखेका, कानुनको अज्ञानताका कारण राखिएका वा अन्य कुनै प्रयोजनले घरसमाजमा राखिएका अवैध हतियार तथा गोलिगट्ठा नजिकका प्रहरी युनिट, जिल्ला प्रहरी कार्यालय वा सशस्त्र प्रहरी इकाइमा बुझाउन प्रशासनले म्यादसहित अनुरोध गरेको थियो । प्रहरीले दिएको म्याद शनिवार सकिए पनि हतियार भने फेला परेको छैन । अवैध हतियारका विषयमा रौतहटका एसपी गोविन्दराम परियारले जिल्लामा अवैध हतियार ठूलो संख्यामा रहेको बताएका छन् । व्यक्ति–शुद्धीकरणका लागि भन्दै दिइएको म्यादभित्र प्रहरीले हतियार संकलन हुनसक्ने अपेक्षा राखे पनि त्यो सम्भव भएन ।
एसपी परियारले भने, ‘जिल्लामा अवैध हतियार प्रशस्त छन्, खुला सिमानाका कारण हतियार सजिलै भित्र्याउने गरेकाले यस्ता हतियारको एकिन संख्या नभए पनि त्यसको परिमाण ठूलो छ ।’ प्रहरीले विभिन्न स्रोतबाट संकलन गरेको तथ्यांकले पनि साना तथा ठूला आकारका हतियार प्रशस्त भएको देखाएको छ । हतियार बुझाउन दिएको म्याद समाप्त भएपछि खानतलासी गरेर हतियार बरामद गर्ने र कारबाही गर्ने मनसायमा प्रशासन पुगेको छ । सिडिओ जीवनप्रसाद बली जिल्ला बाहिर भएकाले तत्कालै यस विषयमा के गर्ने भन्ने अझै प्रस्ट भने भएको छैन । ‘सार्वजनिक सूचनालाई बेवास्ता गरी अवैध रूपमा हातहतियार लुकाइ–छिपाइ राखेको भेटिए हातहतियार तथा खरखजाना ऐन –०१९ अनुसार कारबाही गर्छौँ,’ एसपी परियारले भने ।
साना र ठूला गरी जिल्लामा हजारौँको संख्यामा हतियार रहेको प्रहरीको दाबी छ । खुला सिमानाका कारण भारतीय भूमिबाट पनि हतियार पैठारी हुने सदरमुकाम गौरमा मात्र ४८ थान हतियार रहेको प्रहरीको दाबी छ । वैवाहिक समारोहमा शान देखाउन बन्दुक पड्काउने चलन बढेका कारण अवैध हतियारको संख्या बढेको हो । १९ जेठ ०६७ मा रौतहटको गरुडामा बैरिया–३ का राजाराम शाहको छोरी पुनमको विवाहमा बन्दुक पड्काउँदा स्थानीय १४ वर्षीय बालक सुनीलकुमार शाहको मृत्यु भएको थियो भने सोही वर्ष असारमा प्रेमपुर गोनाही–८ मा उसर महतोकी छोरीको विवाहमा गोली चल्दा विवाहको भिडियो खिचिरहेका क्यामेरापर्सन विजयपुर–३ का २० वर्षीय विजय कुशवाहा गम्भीर घाइते भएका थिए । हतियारको अनुमति लिएकासँग पनि अवैध हतियार बढी रहेको प्रहरी स्रोतको दाबी छ ।
सिडिओ कार्यालयले हतियार राख्न इजाजत पत्र दिए पनि करिब दुई दर्जनभन्दा बढीले ०५२ सालयता त्यस्ता इजाजतपत्र नवीकरण नै नगराएका हुनाले ती हतियार अहिले कहाँ र कसले प्रयोग गरिरहेका छन् भन्ने प्रश्न उब्जिएको छ । सिडिओ कार्यालयमा दर्ता रहेका १ सय ४५ थान ठूला हतियारबाहेक अन्य साना हतियारको विषयमा कुनै जानकारी प्रशासनलाई छैन तर प्रशासनको यो तथ्यांकबाहेक ठूलो मात्रामा अवैध हतियार जिल्लामा छ ।
राज्यले ७५ वटै जिल्लामा ३५ दिने हतियार–संकलन–अभियान सुरु गरेको हो । जिल्लाका अधिकांश स्थानमा रहेका अवैध हतियारका विषयमा प्रहरीले गोप्य सूचना संकलन गरिरहेको छ । आफूलाई ठूलाबडा देखाउने व्यक्तिसँग नै अवैध हतियार बढी भएको प्रहरीको अनुमान छ । सामाजिक प्रतिष्ठा भएका ठूलाबडासँग पनि अवैध हतियार छन् । प्रहरीको सूचनालाई रौतहटका अवैध हतियारधारीले बेवास्ता गरेको पुष्टि भएको छ । अवैध रूपमा रहेका नलकटुवा पेस्तोल, भरुवा बन्दुक, एकनाले तथा दुईनाले बन्दुक, कट्टा, तथा साना पेस्तोलको संख्या रौतहटमा प्रशस्त छ ।

प्रतिक्रिया