चुनावी सरकारलाई लालटिन

राजविराज, १९ चैत । मुलुकभरि लोडसेडिङको तालिका घटिरहेका बेला सप्तरीमा भने त्यसको प्रभाव नदेखिएको भन्दै सप्तरीबासीले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षलाई लालटिन उपहार पठाउने भएका छन् । देशका अन्य जिल्लामा लोडसेडिङ १२ घण्टामा कायम रहे पनि सप्तरीमा भने १७ घण्टा लोडसेडिङ छ । उद्योग वाणिज्य संघ सप्तरीको आयोजनामा आइतवार राजविराजमा बसेको दलका कार्यकर्ता, उद्योगी, पत्रकार, नागरिक समाज तथा सर्वसाधारणको बैठकले लोडसेडिङविरुद्ध अन्य विभिन्न कार्यक्रमसहित मन्त्रिपरिषद्का अध्यक्षलाई लालटिन उपहार दिने निर्णय गरेको हो । बैठकको निर्णय–अनुसार सोमबारदेखि नै चरणबद्ध आन्दोलन गरिने उद्योग वाणिज्य संघका उपाध्यक्ष शंकर दासले बताए । सिडिओमार्फत् मन्त्रिपरिषद्का अध्यक्षलाई ज्ञापनपत्रसहित लालटिन पठाउने, स्थानीय गजेन्द्र चोकमा लोडसेडिङविरुद्ध दस्तखत संकलन गरिने, सिडिओ कार्यालय र नेपाल विद्युत् प्राधिकरण कार्यालयअगाडि दुई घण्टे धर्नाको कार्यक्रम गरिने र नेपाल विद्युत् प्राधिकरको नगद काउण्टर बन्द गर्नेलगायत आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया