नेपाल सेमिफाइनलनजिक

Paras-Khadkaकाठमाडौं, १८ चैत । मलेसियाविरुद्ध १९ रनले विजयी हुदै नेपाल एसियाली क्रिकेट परिषद् (एसिसी) टि–ट्वान्टी एलिटकपमा सेमिफाइनल–नजिक पुगेको छ । समूह ए अन्र्तगत शनिवार आफ्नो तेस्रो खेलमा मलेसियाविरुद्ध भिड्ने क्रममा नेपालले जितका लागि अन्तिम समयसम्म संघर्ष गर्नु परेको थियो ।

टस हारी पहिलो ब्याटिङ गर्न निम्ता पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६३ रन जोडेको थियो । मलेसिया पूरै ओभर खेल्दै नौ विकेट गुमाए पनि १४४ रन मात्र जोड्न सफल भयो । मलेसियालाई जितबाट टाढा राख्न नेपाली स्पिनरसँगै फिल्डरको भूमिका महत्वपूर्ण रह्यो ।
बलिङतर्फ स्पिनरद्वय पृथु बास्कोटा र सन्जम रेग्मीले दुई समान विकेट लिए भने चन्द्र सावद, वसन्त रेग्मी र शक्ति गौचनले एक/एक विकेट लिए । मलेसियाका लागि विकेटकिपर सफिक सरिफले नटआउट ५३ रन जोडे । प्रारम्भिक ब्याट्सम्यान हम्माद उल्लाह खानले ३३ र अहमद फैजले १९ रन जोडे । चन्द्रले इनिङको पहिलो ओभरमै १५ रन खर्चिएपछि दोस्रो ओभरमा वसन्त रेग्मीमार्फत स्पिन आक्रमण थालेको नेपालले त्यसमा पहिलोमै सफलता हात पार्‍यो ।
मलेसियाले २० रन जोड्दा पहिलो विकेट लिएर वसन्तले नेपाललाई पुन: एकपटक स्पिन बलिङमा शानदार सुरुवात दिलाएका थिए । तेस्रो ओभरमा बलिङ गर्न आएका पृथुले आफ्नो सुरुवाती दुई ओभरमा लगातार विकेट लिँदा शानदार रूपमा देखिएका प्रारम्भिक ब्याट्सम्यान हम्माद उल्लाह खान पनि उनको सिकार बने । १८ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै हम्मादले नेपाली बलरविरुद्ध धावा बोलेका थिए । सरिफले ३८ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।
समूहमा तीन खेलपछि चार अंक जोडेको नेपाल चार अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । चार खेलपछि आठ अंक जोडेको हङकङ यो समूहबाट विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । मलेसिया र माल्दिभ्सको तीन खेलमा समान दुई अंक छ । नेपालले समूहको अन्तिम खेलमा आइतवार सिंगापुरविरुद्ध प्रतिस्पर्धा गर्दै छ । समूहमा खेलिएका तीनवटै खेलमा पराजित भएको सिंगापुरविरुद्ध नेपाल सहजै विजयी हुने अनुमान गरिएको छ । नेपाल र मलेसियाबीचको खेल हेर्न शनिवार १० औं हजारको संख्यामा दर्शक कीर्तिपुरस्थित क्रिकेट मैदान पुगेका थिए । दर्शकको बाक्लो उपस्थितिका कारण प्रहरीले समेत भीड नियन्त्रण गर्न नसक्दा हजारौं दर्शकले विना प्रवेशशुल्क नै उक्त खेल हेर्न पाएका थिए ।
यसअघि नेपालको इनिङ कप्तान पारस खड्कासहित तीन खेलाडीको भरमा राम्रो बन्यो । पारसले ८७ रनको योगदान गरे । विकेटकिपर सुभाष खकुरेलले २५ र विनोद भण्डारीले २० रन जोडे । पारसले ५४ बलमा ११ चौका र तीन छक्का प्रहार गरेका थिए । प्रदीप ऐरी ०, ज्ञानेन्द्र मल्ल २, शरद भेषवाकर १, पृथु बास्कोटा ७ र वसन्त रेग्मी दुई रन जोडेर आउट भए । सुभाष र पारसबीच तेस्रो विकेटका लागि ४८ तथा पारस र विनोदबीच चौथो विकेटका लागि ४८ रनको साझेदारी भएको थियो । समूह ए अन्र्तगत नै आफ्नो चौथो तथा अन्तिम खेलमा सिंगापुरलाई ३९ रनले पराजित गरी हङकङ अपराजित यात्रा कायम राख्दै सेमिफाइन पुगेको हो । पहिला ब्याटिङ गर्ने क्रममा हङकङले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १९८ रन जोडेको थियो । सिंगापुरले भने निर्धारित पूरै ओभर खेलेपनि १५९ रन मात्र जोड्न सक्यो । हङकङको सानदार इनिङमा प्रारम्भिक ब्याट्सम्यान इरफान अहमदले ६३ र अर्का ओपनर बाकस बर्कातले ६९ रनको योगदान गरेका थिए ।
यता समूहअन्तर्गतको खेलमा साविकको विजेता अफगानिस्तान पराजित भयो । यस असिका सबै संस्करणको विजेता अफगानिस्तान समूहको आफ्नो तेस्रो खेलमा आएर यूएईविरुद्ध ६ विकेटले पराजित भयो । पहिला ब्याटिङ गर्नेक्रममा अफगानिस्तानले निर्धारित २० ओभरमा १४३ रन जोडेको थियो । यूएईले १९.२ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । विजयी टोलीका लागि स्वप्निल पटेलले ३४, अब्दुल शकुरले ३०, रोहन मुस्ताफाले २८ र बख्तियार हमिदले १९ रनको योगदान गरेका थिए ।
यसअघि कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको अफगानिस्तान मध्यक्रमका दुई ब्याट्सम्यानको प्रर्दशनका भरमा उक्त योगफलसम्म पुगेको थियो । कप्तान मोहम्मद नाबीले ७२ र सफिकुल्लाहले ५१ रनको योगदान गर्नुबाहेक अफगानिस्तानको इनिङमा कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेन । अफगानिस्तानका लागि नाबी र सफिकुल्लाहले छैटौं विकेटका लागि १०८ रनको साझेदारी गर्नुअघि उक्त टोली कुनै समय १७–५ को स्थितिमा थियो । नाबीले ४६ बल सामना गर्दै आठ चौका र तीन छक्का प्रहार गरेका थिए । यता ३३ बलको सामना गर्ने क्रममा सफिकुल्लाहले तीन चौका र तीन छक्का प्रहार गरे ।
समूह ‘बी’मा तीन खेलबाट ६ अंक जोड्दै यूएई शीर्षस्थानमा रहेको छ । तीन खेलबाट दुई अंक भएको अफगानिस्तान दोस्रो स्थानमा छ । तीन खेलबाट चार अंक जोडेको कुबेत नेटरनरेटमा पछि रहँदै तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया