आध्यात्मिक महत्त्व

विश्वमा प्राकृतिक सौन्दर्यबाट भरिपूर्ण यस्ता सयौँ स्थान छन्, जहाँ प्रकृति आत्मीयताका साथ आपसमा गला मिलाउन आतुर रहन्छ । हराभरा उपत्यका, झुलिरहेका लता वृक्ष, मनमोहक पुष्पलत्ता, शीतल पवनको ओहोरदोहोर, कलकल स्वरमा बगिरहेका झरनाले हर व्यक्तिलाई मन्त्रमुग्ध नबनाई छाड्दैन । एकपटक त्यहाँ पुगेपछि मानिस प्रकृतिसँगै हराउन पुग्छ । उसको सारा थकान, उसका सारा चिन्ता र तनावलाई प्रकृतिले स्वत: हटाइदिन्छ र उसलाई उन्मुक्त, स्वस्थ र ताजा बनाइदिन्छ । यस्तै चेतना र आनन्दले भरपूर्ण छ नेपालको भूमि जहाँ प्रकृति पलपलमा आफ्नो रूप बदलिरहन्छ ।

यो ठाउँ तिनैमध्ये एक हो जो संसारको सर्वाधिक सुन्दर आकर्षक र मनोहर स्थान हो । हेर्ने हो भने यो भगवानको चमत्कार हो जहाँ मानिसले भगवानलाई र भगवानले मानिसलाई बाँधेर राखेको छ ।
हो, के कुरा पूर्णत: सत्य हो भने जो एकपटक त्यहाँ जान्छ, प्रकृतिको सौन्दर्यताबाट मन्त्रमुग्ध हुँदै पटक–पटक त्यहाँ जान साँच्चै बाध्य हुन्छ । किनभने उसको मन यही आनन्दमा मग्न हुनपुग्छ । नेपालको हावामा कुनै यस्तो के चिज छ जसले बारबार मानिसलाई आफूतिर खिच्छ । हिउँका मुकुट लगाएका यसका उच्च टाकुरा अत्यन्त भव्य प्रतीत हुन्छ । यसैको बीचमा रहेको आनन्ददायी यो पवित्र स्थान यस्तो प्रतीत हुन्छ मानौँ प्रात: स्नान गरेर शुद्ध र पवित्र भइएको छ । यहाँको पहाड, नदी एवं सरोबरको दर्शन गरेपछि नै, यहाँको वास्तविकता बुझ्न सकिन्छ । यहाँको नृत्य, संगीत विश्वमै मनमोहक एवं आनन्ददायक छ ।
नेपाल र यहाँको प्रकृतिलाई देवताको वरदान प्राप्त भएको छ । यदि शब्दमा भन्ने हो भने यो ठाउँ सिद्धाश्रमको प्रवेशद्वार हो । यदि यहाँका तीर्थस्थलका बारेमा वर्णन नगर्ने हो भने नेपालको विवरण अधुरै रहन्छ । यहाँ विश्व प्रसिद्ध शैवपीठ, ज्योर्तिलिंग पशुपतिनाथ छन्, जुन स्वयंमा पूर्णचेतना र दिव्यतायुक्त वरदानस्वरूप हुन् । भनिन्छ, यहाँ आएर भगवान् शिवको एकपटक दर्शन गरेपछि संसारमा कहिल्यै पनि पशु जन्म लिनु पर्दैन । सिद्धाश्रम प्रवेश गरेका योगीले पनि पाशुपतास्त्रेय भूमिको स्पर्श गरेको छैन भने सिद्धाश्रमलाई पूर्णरूपमा आत्मसात् गर्न सक्दैनन् । यहाँ स्वयम्भूनाथ मन्दिर, गढिमाई शक्तिपीठ आदि विश्व प्रसिद्ध तीर्थस्थल छन् ।
पशुपतिनाथ मन्दिर नेपालको सबैभन्दा प्राचीन मन्दिरमध्ये एक हो । यो चैतन्य दिव्य मन्दिर काठमाडौंको बागमती नदी किनारामा अवस्थित छ । यो विश्वको सबैभन्दा प्रसिद्ध ऐतिहासिक सम्पदामध्ये एक मानिन्छ । पुराणमा उल्लेख भएअनुसार भगवान् शिवको विविध कल्प छन् तर पशुपतिनाथ मन्दिरले नै भगवान् शिवको परमानन्द योगी स्वरूपलाई स्पष्ट गर्दछ ।

अनुवाद : शिव ढकाल
‘प्राचीन मन्त्र–यन्त्र विज्ञान’पत्रिकाबाट

प्रतिक्रिया