नागरिकता वितरण सुरु गर्न आग्रह

काठमाडौं : नागरिकताविना मतदाता नामावली संकलन गर्न नसकिने भन्दै निर्वाचन आयोगले नागरिकता वितरण कार्य तत्काल सुरु गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त तथा अन्य आयुक्त र उच्चपदस्थ कर्मचारीसहितको टोलीले गृह मन्त्रालयका उच्चाधिकारीसँग शुक्रबार भएको छलफलमा तत्कालन नागरिकता वितरण टोली खटाउन आग्रह गरेको हो ।
निर्वाचनको आधार मतदाता नामावली भएको र मतदाता नामावलीको आधार नागरिकता भएको भन्दै आयोग पदाधिकारीले नागरिकता वितरणकार्य गाउँसम्म तत्काल नपुर्‍याउने हो भने धेरै बालिग नागरिक मताधिकारबाट वञ्चित हुनेतर्फ गृहको ध्यानाकर्षण गराएका थिए । छलफलका क्रममा गृहका उच्च अधिकारीहरूले संविधानसभा निर्वाचनलाई ध्यान दिँदै गृह मन्त्रालयले आगामी दश दिनभित्र सबै जिल्लामा नागरिकता वितरण कार्य सुरु गर्न टोली परिचालन गर्न लागेको जानकारी दिएका थिए । आयोगका प्रवक्ता अनिलकुमार ठाकुरले दिएको जानकारीअनुसार नागरिकता वितरणका लागि गृहले ३०५ देखि ५६१ व्यक्ति सम्मिलित टोली देशका सबै जिल्लामा परिचालन गर्नेछ । सँगसँगै आयोगले फोटोसहितको मतदाता नामावली संकलन गर्न थाल्नेछ ।
नागरिकता वितरणका लागि आवश्यक १८ हजार ८८४ रजिस्टर्ड छाप्न समय लाग्ने भएकाले दश दिनपछि नागरिकता वितरण कार्य सुरु गर्न लागिएको जानकारी गृहले आयोगलाई गराएको थियो । आयोगले हालसम्म १ करोड १० लाखभन्दा बढी नागरिकको फोटोसहितको मतदाता नामावली संकलन गरिसकेको छ । थप १५ लाखको नामावली संकलन गर्ने लक्ष्य आयोगले लिएको छ । (सौस)

प्रतिक्रिया