झन्डै ७७ हजार भुटानी शरणार्थी तेस्रो मुलुकमा

काठमाडौ, १७ चैत । दुई दशकदेखि झापा र सुनसरीका शिविरमा बसोवास गर्दै आएका झन्डै ७७ हजार भुटानी शरणार्थी तेस्रो मुलुकमा पुन:स्थापना भइसकेका छन् । अझै १५ हजार शरणार्थी जाने तयारीमा छन् ।

गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ७६ हजार ५ सय ७५ भुटानी शरणार्थी नेपाल छाडी तेस्रो मुलुकमा पुन:स्थापना भइसकेका छन् । झापा र सुनसरीका शिविरमा १ लाख १६ हजार शरणार्थी बसोवास गर्थे । ‘अबको केही समयमा थप करिब १५ हजार शरणार्थी तेस्रो मुलुक जाने तयारीमा छन्,’ गृह प्रवक्ता शंकर कोइरालाले सौर्यसँग भने ।
सन् २००७ देखि संयुक्त राष्ट्रसंघ मातहतका युएनएससिआर र आइओएम नामक दुई संस्थाको सहयोग र नेपाल सरकारको सहमतिमा भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुन:स्थापना गर्ने काम थालिएको हो । शरणार्थीका समस्या दिगो रूपमा समाधान गर्न पुन:स्थापनाको काम थाल्दा नेपालमा एक लाख आठ हजार शरणार्थी मात्रै थिए । तर, अहिले त्यो संख्या आठ हजारले बढेको युएनएससिआरका निर्मल खनालले बताए ।
संयुक्त राष्ट्रसंघको सहयोगमा भुटानी शरणार्थीलाई विभिन्न आठ विकसित मुलुकमा पुन:स्थापना गर्ने काम भइरहेको छ । अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, डेनमार्क, नेदरल्यान्ड, न्युजिल्यान्ड र नर्वेमा उनीहरूलाई पुन:स्थापना गरिएको खनालले बताए ।
सबैभन्दा धेरै शरणार्थी अमेरिकामा पुन:स्थापना गरिएका छन् । अहिलेसम्म अमेरिकामा मात्रै ६४ हजार ६ सय ६३ शरणार्थी पुन:स्थापना गरिएको छ । त्यस्तै, क्यानडामा ५ हजार ३ सय १९, अस्ट्रेलियामा ३ हजार ९ सय ४९, न्युजिल्यान्डमा ७ सय ४२, डेनमार्कमा ७ सय ४१, नर्वेमा ५ सय ४६, नेदरल्यान्डमा ३ सय २६ र बेलायतमा २ सय ८९ शरणार्थी पुन:स्थापना भइसकेका छन् । क्यानडाले थप हजार शरणार्थीलाई पुन:स्थापना गर्न स्वीकृति दिइसकेको छ ।
नेपालीभाषी भुटानीलाई भुटानी शासकले देशनिकाला गरेपछि सन् १९९२ देखि उनीहरू शरणार्थीका रूपमा पूर्वीनेपालमा बसोवास गर्दै आएका थिए । विकसित देशमा पुन:स्थापना गरिन थालेपछि अहिले झापा र सुनसरीका दुई शिविरमा ३९ हजार ८ सय २ शरणार्थी मात्रै बाँकी छन् ।
संयुक्त राष्ट्रसंघले करिब ९६ हजार भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुन:स्थापना गर्ने स्वीकृत पाइसकेको छ । बाँकी शरणार्थीलाई छिट्टै पुन:स्थापनामा पठाउने तयारी भइरहेको आइओएमका खनालले बताए । तेस्रो मुलुकमा पुन:स्थापना गर्न सुरु गरिएको ६ वर्षभित्र करिब ६८ प्रतिशत शरणार्थी पुन:स्थापना भइसकेका छन् ।

प्रतिक्रिया