तीस करोडको आलु निर्यात

दोलखा, १६ चैत । दोलखाका पश्चिमी क्षेत्रमा पर्ने १२ गाविसबाट यो वर्ष २९ करोड ७० लाख रुपियाँको आलु निकासी भएको छ । जिल्ला विकास समितिले गरेको मुडे–मेलुङ सडकको प्रभावसम्बन्धी मूल्यांकनबाट यो तथ्यांक बाहिर आएको हो ।
दोलखाका १२ गाविसबाट वर्षात्को चार महिनामा १४ हजार मेट्रिक टन आलु निर्यात भएको थियो । असारदेखि असोजसम्म कृषकले उत्पादन गरेर बिक्री गरेको तथ्यांकको आधारमा मागापौवाको बाघखोरमा सबैभन्दा बढी आलु संकलन भएको छ । बाघखोरमा १८ करोड ९० लाख रुपियाँको ९ हजार टन आलु संकलन भएको थियो ।
सडकले प्रभाव पार्ने शैलुंगेश्वरको भैसेमा २ हजार ३ सय ५० टन, फस्कुको चयाचाप र ढुंगेमा ७ सय ५० टन आलु संकलन गरी निर्यात भएको छ । सडकको बाघखोर, निगाले, ढुंग, चयाचाप, भैसे, लाम्चे, आहाल, पाँडेखानी, छिपछिपेमा वरपरको गाउँबाट आलु संकलन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेले बताए ।
एक सिजनमा आलुको निकासीबाट मात्र एउटा गाविसमा औसत २ करोड ९० लाख आम्दानी भएको उनले बताए । एउटा परिवारमा औसत ३२ हजार आम्दानी भएको पनि तथ्याकंले देखाएको छ । आलु संकलक कृषकको घर–घरमै गई संकलन गर्ने गरेकाले कृषकलाई जति उत्पादन गरे पनि बजारको समस्या नभएको पाण्डेको भनाइ छ । आलु उत्पादनप्रति कृषकको आकर्षणले आर्थिक हैसियत र रोजगारीसमेत बढाएको छ ।
सडक सुविधा पुगेपछि कृषक अन्य तरकारी उत्पादनमा पनि संलग्न भएका छन् । एक वर्षमा दोलखाका ती १२ गाविसले ६० लाख ५० हजार रुपियाँको २२ टन तरकारी उत्पादन गरी बिक्री गरेका छन् । त्यस्तै, ८० लाखको काठ र १ लाखको जडीबुटी निकासी भएको छ । काठमा विशेष गरी उत्तिस र सल्लाको काठ बढी निकासी हुने गरेको छ ।
सडक आसपासमा स–साना बजार विस्तार हुँदै गएका छन् भने रेमिट्यान्स सेवा, काठको भेनियर उद्योग खुलेका छन् । त्यस क्षेत्रमा उत्पादन भएको आलु र तरकारी सोझै काठमाडौं पुग्ने गरेको छ । दैनिक एक ट्रक तरकारी राजधानी जाने गरेको जिविस दोलखाका आलेप अधिकृत जगदीश अर्यालले बताए ।
०५४ सालदेखि ट्रयाक खोल्न सुरु गरिएको सडकमा ०५७ मा यातायातका साधन सञ्चालन सुरु भएको थियो । ५५ किलोमिटर सडकमध्ये अहिले सुख्खायाममा ५१ किलोमिटरमा र २८ किलोमिटर सडकमा बार्‍है महिना यातायात सञ्चालन हुने गरेको अर्यालले बताए । सडक निर्माणका लागि हालसम्म १८ करोड ६३ लाख ५० हजार खर्च भइसकेको छ । त्यसमध्ये १६ करोडभन्दा बढी जिल्ला सडक सहयोग कार्यक्रमबाट खर्च भएको छ भने जिल्ला विकास समिति, गाविस र सडक विभागको समेत लगानी छ ।

प्रतिक्रिया