साढे तीन अर्बको बजेट पेस

विराटनगर, १५ चैत । जिल्ला विकास समिति मोरङले आर्थिक वर्ष २०७०/७१ को लागि साढे तीन अर्ब रुपियाँभन्दा बढीको बजेट पेस गरेको छ ।

जिविस मोरङले २२ औँ जिल्ला परिषद्बाट स्वीकृत बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रममा जिल्ला विकास अधिकारी शिवराम पोखरेलले आगामी वर्षको लागि कुल तीन अर्ब ५३ करोड १६ लाख ९१ हजार रुपियाको बजेट पेस गरेका हुन् । उनले सो बजेटमध्ये जिविसको आन्तरिक स्रोत तथा केन्द्रीय अनुदाबाट ९० करोड ५५ लाख ९२ हजार पाँच सय बराबरको आय–व्यय प्रस्ताव पेस गरेका छन् ।
जुन प्रस्तावित बजेटको २५ दशमलव ६४ प्रतिशत हो । त्यस्तै उक्त बजेटमध्ये आन्तरिक स्रोततर्फ १५ करोड ३८ लाख दुई हजार पाँच सय रहेको छ भने पुँजीगत खर्चतर्फ छ करोड चार लाख दुई हजार पाँच सय र चालु खर्चतर्फ नौ करोड ३४ लाख रुपियाँ रहेको जिविस मोरङले जनाएको छ । ती खर्चमध्ये ३५ करोड सामाजिक सुरक्षा कार्यक्रम तथा १५ करोड गाउँ विकास कार्यक्रमका लागि विनियोजना गरिएको छ । सबैभन्दा ठूलो आकारको बजेट सामाजिक सुरक्षा कार्यक्रमको भएको स्थानीय विकास अधिकारी पोख्रेल बताए । स्थानीय स्वायत्त शासन ऐन तथा नियमावली र निर्देशिकाका आधारमा लक्षित वर्गका कार्यक्रम संचालन गर्ने प्रस्ताव गरिएको छ । गाउँ विकास कार्यक्रम अन्तर्गतका बजेट सम्बन्धित गाविसले नै संचालन गर्ने पनि उनले बताए ।
चालु खर्चमध्ये २ करोड ५५ लाख प्रशासनिक खर्चको लागि व्यवस्था गरिएको जानकारी दिइएको छ । प्रस्तावित बजेटमा विषयगत कार्यालयबाट दुई अर्ब २७ करोड ४५ लाख ३० हजार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट ३५ करोड १५ लाख ६८ हजार रुपियाँ बराबरको बजेट तथा कार्यक्रम रहेको पनि पोखरेलले जाकारी दिए ।
जिविस मोरङले आगामी आर्थिक वर्ष विशेषगरी अधुरो योजना पूरा गर्ने गरी कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया