पाकिस्तानमा निर्वाचन अभियान सुरु

इस्लामाबाद : पाकिस्तानका राजनीतिक दलले निर्वाचन अभियान आरम्भ गरेका छन् । मुलुकको राजनीतिक इतिहासमा ६६ वर्षपछि पहिलोपटक नागरिक सरकारले आफ्नो पूर्ण कार्यकाल सिध्याएर निर्वाचन गराउन लागेकाले निर्वाचन अभियानलाई चासोका साथ हेरिएको छ ।
पाकिस्तानमा आगामी मे ११ संसदीय निर्वाचन हुने घोषणा भएको छ । निर्वाचन प्रयोजनकै लागि पाकिस्तानका राष्ट्रिय सुरक्षा अंगहरूले गतसातादेखि नै सुरक्षा व्यवस्था कडा पारेका छन् । उनीहरूले चरमपन्थीहरूका सम्भावित अखडामा विशेष निगरानी बढाइएका छन् ।
पाकिस्तानमा केही वर्षयतादेखि मुस्लिम अतिवादी एवं आतंककारीले सुरक्षामा चुनौती दिँदै आएका छन् । सो अनुरूप पाकिस्तान सेना र प्रहरीले त्यहाँका आतंकवादीका सम्भावित अखडाहरूको खोजीलाई तीव्र पार्ने जनाएको छ । तर, यी सुरक्षा आश्वासनका बाबजुत पनि पाकिस्तानका प्रमुख राजनीतिक नेताहरूमा असुरक्षाको बादल भने मडारिएकै छ ।
राजधानी इस्लामावादबाट विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । फ्रान्सेली समाचार समिति एएफपी लेख्छ– यसअघिका निर्वाचन अभियानमा भएका उच्चस्तरीय नेताको हत्याका कारण अहिले पनि नेताहरूमा त्यसको भूतले काम गरेको छ । सन् २००७ मा भएको आम निर्वाचनको प्रचार अभियानकै क्रममा पाकिस्तानकी पूर्व प्रधानमन्त्री तथा पाकिस्तानको एक प्रमुख दल पाकिस्तान पिपुल्स पार्टीका नेता बेनजिर भुट्टोको हत्या भएको थियो ।
सो समयका तुलनामा अहिले पनि पाकिस्तानको सुरक्षा व्यवस्थामा कुनै कमी आएको छैन बरु झन् सुरक्षा खतरा थपिएको छ । त्यसैले अहिले सुरु भएको निर्वाचनको प्रचार अभियानमा पनि नेताहरू सशंकित भई नै रहेका छन्– समाचारमा जनाइएको छ । पाकिस्तानमा अल कायदाका लडाकुका साथै विभिन्न स्थानहरूमा अफगानिस्तानका तालिवानीको पनि प्रभाव रहिआएको छ । ती स्थानहरूमा पाकिस्तानी प्रहरी र सेनाले निगरानी राख्ने काम थालेको समाचार गत हप्ता नै आइसकेको थियो । तैपनि, सुरक्षाको सुनिश्चितता भने हुन नसकिरहेका समाचारहरू पनि आई नै रहेका सो समाचारमा जनाइएको छ । पाकिस्तानमा विगतको सो हत्याको समयमा भन्दा अथवा विगत पाँच वर्षको भन्दा यतिखेर तालिवानी क्रियाकलापहरूमा पनि निकै बढोत्तरी भएको छ ।
त्यसैगरी यो बितेको पाँचवर्षमा पाकिस्तानी अल्पसंख्यक जातीय समुदाय सिया मुस्लिमहरूको धार्मिक असहिष्णुतामा पनि निकै नै बढोत्तरी भएको छ । यो पाँच वर्षयता पाकिस्तानको इतिहासमा नै सबैभन्दा बढी हत्याका घटना सो समुदायका कारण भएका बताइएको छ । त्यसैगरी बलुचिस्तान क्षेत्र केही वर्ष मात्र यता आएर निकै हिंसा मच्चिने क्षेत्रका रूपमा विकास भएको छ । सो क्षेत्रमा प्राय: दिनहुँजसो हत्याका घटना भइरहेका बताइन्छ ।
पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीले गतहप्ता मात्र पाकिस्तानमा मे ११ मा निर्वाचन हुने घोषणा गर्नुभएको छ । पाकिस्तानको ६६ वर्षको इतिहासमा पहिलोपटक प्रजातान्त्रिक रूपमा निर्वाचित नागरिक सरकारले आफ्नो कार्यकाल पूरा गरी अर्को निर्वाचन गर्दै छ । आगामी निर्वाचनको व्यापक प्रचार पनि भएको छ । राष्ट्रपति जरदारीले आफ्नो गठबन्धनलाई पाँच वर्षका लागि स्थिर राख्न सफलता प्राप्त गर्नुभएकोले पनि वर्तमान सरकार र आगामी निर्वाचनको चर्चा चलेको हो ।
विश्लेषकहरू भने पाकिस्तानकी पूर्व प्रधानमन्त्री भुट्टोको हत्या भएकोले उहाँप्रतिको सान्त्वना स्वरूप पिपिपि पार्टीले संसद्मा बहुमत प्राप्त गर्न सफल थियो भन्ने गरेका छन् । बेलायती उपनिवेशबाट सन् १९४७ को अगस्ट १४ मा स्वतन्त्र भएको तथा भारतसँग पृथक भएको पाकिस्तानले तीनपटक सैनिक विद्रोह भोगेको छ । त्यहाँ विगतका नागरिक सरकार पनि सैनिकको सिकार भएका थिए । चारजना सैनिक शासकले यस मुलुकमा शासन चलाएका छन् । एक निर्वाचित नागरिक सरकारले अर्को निर्वाचित नागरिक सरकारलाई सत्ता हस्तान्तरण गर्न लागेको यो पहिलोपटक हो ।
तालिवान आक्रमण तथा अल्पसंख्यक सिया मुसलमान समूहमाथि हिंसा भइरहेको अवस्थामा निर्वाचनको सुरक्षाका विषयमा आशंका गरिएको छ । पाकिस्तान आपैँmमा पारमाणविक हतियारयुक्त मुलुक हो र यसको जनसंख्या १८ करोड रहेको बताइएको छ । पाकिस्तानी सेनाका एक जना वरिष्ठ अधिकारीले भने– हामी हाम्रा सैनिक कारबाहीहरूलाई निकै नै तीव्रताका साथ अघि बढाउने छौँ किनभने शान्तिपूर्ण रूपमा निर्वाचन गर्नु हाम्रो लागि चुनौतीपूर्ण हुनेछ । पाकिस्तानको खैबर क्षेत्र र अरू केही जातीय अल्पसंख्यकहरूको बसोबास रही आएका क्षेत्रहरूमा हाम्रो ध्यान केन्द्रित हुनेछ– उनले भने । समाचारहरूमा ती क्षेत्रहरूमा पनि सुरक्षाका कडा मापदण्डहरू अपनाउने काम भइरहेको बताइएको छ ।
यसैबीच पाकिस्तानको आगामी निर्वाचन निकै नै प्रतिस्पर्धात्मक हुने अुनमान गर्न थालिएको छ । पाकिस्तानका पूर्व राष्ट्रपति एवं सैनिक शासक परवेज मुसर्रफ पनि निर्वाचनका लागि स्वदेश फर्किसक्नुभएको छ । पाकिस्तानका तालिवानीहरूले हत्यागर्ने धम्की दिएको भए पनि निर्वाचनमा भागलिन कै लागि उहाँ पाकिस्तान पुग्नुभएको समाचार यसअघि नै आइसकेको छ ।
पाकिस्तानमा हुन लागेको आम निर्वाचनमा भागलिने उद्देश्यले उहाँले स्वदेश फर्किने घोषणा गरेलगत्तै तालिवानीहरूले टेलिफोनमार्फत उक्त धम्की दिएका समाचारमा जनाइएको छ । उहाँले यसअघि पनि पाकिस्तानमा रहँदा सन् १९९९ देखि २००८ सम्म पाकिस्तानमा रहेका कट्टरपन्थी मुस्लिमहरूले तीन पटकसम्म आक्रमण गरेका थिए । तर उहाँ ती हरेक आक्रमणबाट बचेका थिए ।
त्यसैगरी पाकिस्तानमा प्रमुख प्रतिपक्षी दलका नेता नवाज सरिफले गत सोमबारदेखि नै पाकिस्तानमा आम निर्वाचनका लागि अभियान सुरु गरिसक्नु भएको छ । उनले चुनावी सभा नै गरिसक्नुभएको छ । उहाँले वर्तमान सरकारले देशमा शान्ति सुरक्षा दिन नसकेकोले आफ्नो दलले बहुमत ल्याएमा सुरक्षा र विकास दिने बताएका थिए । (एएफपी)

प्रतिक्रिया