कहिले फर्केलान् मेरा सन्तान

kurdishम टर्कीको सानो कुर्दिस गाउँका तीन योद्धाकी आमा हुँ । सिरियाको सीमा रहेको मेरो थातथलोलाई सुरुक भनिन्छ । मेरो परिवार गरिब छ, त्यसैले एक दशकअघि गाउँ छोडेर काम खोज्दै सपरिवार स्तानबुल आएका हौँ । घर फर्किएर बाँच्ने आधार केही छैन । त्यसैले दुखजेलो गर्दै यहीँ बसिरहेका छौँ ।

पतिले सानो पसल खोल्नुभएको छ । हामी त्यही कमाइमा आजसम्म बाँचिरहेका छौँ । मेरा सात सन्तान छन् । उनीहरू साना छँदा जसोतसो प्राथमिक विद्यालय पठाएकी थिएँ । तर, उनीहरू पढाइ छोडेर काम खोज्न थाले । सातमध्ये तीन सन्तानचाहिँ कुर्दिस्तान वर्कर्स पार्टीमा भर्ना भए । एउटी छोरी चार वर्षअघि पार्टीमा भर्ती भइन्, १८ वर्षको उमेरमा । तर, उनी अहिले कहाँ छिन्, मलाई पत्तो छैन । इराकमा छिन् कि टर्कीमै ? पार्टीमा नलाग्दै उनले गाउँमा मसँगै खिचाएको पुरानो तस्बिर हेर्दै सम्झनामा घन्टौं टोलाइरहन्छु ।
अर्को छोरा पनि त्यही पार्टीमा जान्छु भनेर तीन वर्षअघि पहाडतिर हिँडेको थियो । त्यसपछि आजसम्म फेरि उसले आमा भनेर बोलाएको आवाज सुन्न पाएको छैन । बीस वर्षको जवान छोरो कहाँ पुग्यो होला, चिन्ताले सताइरहन्छ लगातार मलाई । फेरि छ महिनाअघि अर्को छोरा पनि कुर्दिस्तान वर्कस पार्टीमा भर्ती भयो । मेरो २६ वर्षे छोराले कहिल्यै त्यो पार्टीमा जाने सोचेकै थिएन । घरमा काम गरेर परिवार पाल्न सहयोग गर्दै आएको थियो । तर, सरकारका सैतान व्यक्तिहरूले मेरो छोरालाई मबाट छुट्टिन बाध्य गराए ।
छ महिनाअघि पुलिस घरमै आएर मेरो निर्दोष छोरालाई पक्रेर जेल हाल्यो । न्यायाधीशले उसले एक साथीसँग त्यो गुप्त पार्टीबारे कुराकानी गरेको फैसला गरिदियो । ‘एउटा फोनवार्ताले पनि छ महिना जेल हाल्ने कस्तो कानुन π’ छोरा भन्थ्यो, ‘जेल हालिसकेपछि पनि पुलिसले पटकपटक यातना दियो ।’ यातना पाएर शरीरमा बनेका घाउ देखाउन जहिलै इन्कार गरिरह्यो । दुई सन्तानको अत्तोपत्तो नहुँदा अतालिएकी मलाई अझ पीडा दिन चाहँदैनथ्यो ऊ सायद ।
एकदिन उसले लुगा फेर्न लाग्दा ढाडमा यातनास्वरूप पाएका घाउको खत देखेँ । मैले चिया पिउन बोलाउँदा मेरो छातीमा टाउको राख्दै आँखा चिम्लिएर भन्यो, ‘आमा यो कति आनन्ददायी क्षण ।’ अहिले पलपल म त्यो दिन सम्झिरहेकी छु । मेरो छातीमा टाउको राखेकै दिन मेरो तेस्रो सन्तान कुर्दिस्तान वर्कस पार्टीमा भर्ती हुन गयो । पुलिसले यातना नदिएको भए मैले तेस्रो सन्तानबाट पनि टाढा हुनुपर्ने थिएन ।
सन्तानको वियोगमा बसिरहेकी एउटी आमाको वेदना कस्तो होला, भन्नुस् त । त्यसमाथि बेलाबेला पुलिस त्रास देखाउन आइपुग्छ । ढोका ढक्ढकाउँदै भन्छ ‘तेरा सन्तान कहाँ पठाइस् ?’ म भन्छु, ‘बरु हजुरहरूलाई नै थाहा छ उनीहरू कहाँ छन्, मलाई पनि थाहा दिनुस् न ।’ तिनीहरू मलाई उल्टै खराब अनि सैतान आमा भन्छन् । तेरा सन्तान छिटो या चाँडो हामी फेला पारेरै छोड्छौँ भन्दै हिँड्छन् ।
आशा छ, मेरा छोराछोरी सम्मानजनक शान्ति लिएर घर आउनेछन् । चालीस वर्षयता टर्कीका हजारौं छोराछोरी शान्ति र प्रजातन्त्रको लागि कुर्दिस्तान वर्कस पार्टीमा भर्ती भएर भूमिगत हुँदै पहाडतिर गइरहेका छन् । उनीहरू आफ्नो संस्कृति, भाषा अनि पहिचानका लागि लडिरहेका छन् । म पनि त्यही शान्ति ल्याउने योद्धाहरूकी आमा हुँ । मेरा सन्तान खाली हात अवश्य फर्किँदैनन्, म विश्वस्त छु, एक दिन सम्मानजनक शान्ति लिएर अवश्यै आउनेछन् ।
(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया