जनताले अब पार्टी चिन्नुपर्‍यो : कांग्रेस

Congress-3-Netaपोखरा, १४ चैत । कांग्रेस शीर्ष नेताहरूले अघिल्लो संविधानसभा चुनावमा कांग्रेस खुलेर जनतासामु जान नपाएका कारण पराजय भोग्नुपरेको बताएका छन् । उनीहरू अबको चुनावमा जनताले पार्टी चिनेर मतदान गर्नुपर्ने बताउँछन् ।

प्रेस युनियन कास्कीले मंगलबार पोखरामा गरेको पत्रकार भेटघाटमा कांग्रेस नेताहरूले यसअघि संविधानसभा चुनावमा माओवादीले जनतामाझ जान नदिएको र कार्यकर्तालाई पर्याप्त प्रशिक्षणसमेत दिन नपाएको बताएका हुन् । कांग्रेस सभापति सुशील कोइरालाले विगतमा आफूहरू जनतामा जान नपाएको उल्लेख गर्दै जनताले माओवादीलाई ठूलो बनाउँदा संविधानसभाबाट संविधान नबनेको र मुलुक झन् कमजोर बन्न पुगेको बताए । सभापति कोइरालाले कांग्रेसलाई बलियो बनाई प्रजातन्त्र र राष्ट्रलाई बलियो बनाउन जनताले विचार गरेर र पार्टीलाई चिनेर मत दिनुपर्ने धारणा व्यक्त गरे ।
कोइरालाले वैद्य पक्षीय माओवादी पनि सहभागी गराएर चुनावमा जाने दाबीसमेत गरे । फोरम नेपालका उपेन्द्र यादवलगायत अन्य सबै साना पार्टीलाई चुनावमा लैजानुपर्ने उनको धारणा थियो ।
उनले प्रजातान्त्रिक शक्तिहरूसँग गठबन्धन गरेर चुनावमा जानुपर्ने बेला आएको भए पनि त्यसको निर्णय भने भइनसकेको जानकारी दिए । ‘चुनावका लागि सबै दल एकजुट भएर जानुपर्ने हुँदा चार दल मात्र होइन अरू पार्टीलाई पनि साथ लिएर हिँड्नुपर्ने खाँचो छ,’ उनले भने, ‘केही राजनीतिक पार्टीले चुनाव बहिष्कार गर्ने अभिव्यक्ति बाहिर आइरहेको अवस्थामा प्रजातन्त्र रक्षाका लागि पनि चुनावमा जानुपर्छ ।’
वरिष्ठ नेता शेरबहादुर देउवाले प्रजातन्त्रलाई हाक्ने प्रेस जगत भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको लागि कांग्रेस प्रतिबद्ध रहेको बताए । तीनै नेता सामूहिक रूपमा चुनावी अभियानमा हिँडिरहेको जानकारी दिँदै नेता देउवाले पार्टीमा कुनै गुटबन्दी नभएको उल्लेख गरे । प्रजातान्त्रिक संविधान बनाउनका लागि पनि कांग्रेसले चुनावमा जित्नैपर्ने देउवाले बताए । उनले प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा गठित अन्तरिम चुनावी मन्त्रिपरिषद्ले निष्पक्ष चुनाव गर्नेमा विश्वस्त रहन सबैलाई आग्रहसमेत गरे ।
उपसभापति रामचन्द्र पौडेलले द्वन्द्वले देश कहाँ पुग्यो मोहन वैद्यले आत्मसमीक्षा गर्नुपर्ने भन्दै चुनावमा आउन आग्रह गरे  । ‘विगतमा एमाओवादी के भनेर हिँडेको थियो ?,’ पौडेलले भने, ‘अब आफ्नो समीक्षा गर्दै लोकतान्त्रिक माध्यमबाट चुनवमा आउनुपर्छ ।’

प्रतिक्रिया