चम्सुरी भनेर जिस्काउँदा लाज लाग्छ

Palpasa-Dangolमैले त सोचेकी पनि थिइन कि कलाकारितामा त्यो पनि हास्य विधामा यति धेरै सफलता पाउँछु भन्नेमा । मिहिनेत गर्नुपर्छ त्यसअनुसारको फल अवश्य पाइन्छ । र, त्यो फल सबैभन्दा मीठो हुन्छ । मात्र यति थाहा थियो मलाई । यो सोच आफूमा भएका कारण अभिनयमा मिहेनेत गर्न कहिल्यै पछि हटिनँ । नत कलायात्राका पहिलो पाइलामा मिलेको असफलताले नै हल्लाउन सक्यो । त्यसैले त आज कलाकारिता एउटा आफ्नो छुट्टै स्थान बनाउन सफल भएकी छु ।
हुन त त्यति लामो समय भएको छैन मैले कलाक्षेत्रमा सफलता चुमेकी । यसो भन्दैमा आफ्नो कलायात्रा भर्खरको भन्न खोजेकी पनि होइन । लगभग दुई दशकदेखि यसैमा छु । सानैदेखिको अभिनय मोहले यसमा लागेकी पनि हँु । सानोमा बलिउड अभिनेत्री माधुरी दिक्षितका नृत्य टेलिभिजनमा खुब हेर्ने गर्थंे । उनका हरेक नृत्यबाट प्रभावित छु म । कुरा त्यस्तै ०५० साल तिरको हो, त्यतिबेला एसएलसी दिएकीले खाली नै थिएँ । त्यो समय सदुपयोग गर्न मन लाग्यो र नृत्यनिर्देशक राजु शाहको तात्कालीन साधना कला केन्द्रमा नृत्यकै प्रशिक्षण लिन थालेँ । यही क्रममा नेपाल टेलिभिजनको कार्यक्रम मनकामना म्युजिकल नाइटमा सहभागी हुन पाएँ । यो कार्यक्रममा मैले ग्रुप डान्सरका रूपमा नृत्य गरे । यही हो मेरो कलायात्राको पहिलो उपलब्धि । यस कार्यक्रममा नृत्य गरेका कारण अन्य यस्तै कार्यक्रमका अफरहरू पनि आए । जति अफर आउथे, गर्थें । दिन यसरी नै बित्दै थियो । यही क्रममा राजु शाह मार्फत नै चलचित्र जन्मभूमिमा कोरस डान्सरका रूपमा काम पाएँ । यो नै चलचित्रको पहिलो पाइला हो मेरो । पछि चलचित्र प्रदर्शनमा पनि आयो । धेरैपटक हेरेँ यो चलचित्र । यसपछि चलचित्रमा काम गर्ने थालेँ निरन्तर रूपमा । ‘परिभाषा’, ‘मृत्यु’लगायत करिब आधा दर्जनभन्दा बढी संख्याका चलचित्रमा । यी सबमा साइड डान्सरकै रूपमा । त्यतिबेला कोरस डान्सरलाई अन्य कलाकारले मान्छे नै गन्दैनथे, प्राविधिक हुन् या कलाकार साना– ठूला सबैले हेप्थे । त्यो सम्झदा त आज पनि रिस उठ्छ उनीहरू प्रती । यसले गर्दा पनि कोरसमा काम गर्न मन लागेन । बरु खाली बस्न थालेँ । पत्रपत्रिका, टिभी, रेडियो आदी समय पासका माध्यम बने । मिस नेपालमा सहभागीका लागि विज्ञापन निस्किएका पत्रिका मेरो हात पर्‍यो । आसै नभए पनि मैले सहभागीका लागि फर्म भरे । अडिसनमा करिब एक सयभन्दा माथि संख्याका सहभागी थिए । तर, छनोटमा म टप ट्वान्टीमा परेँ । ट्वान्टीमा परेपछि यस प्रतिस्प्रर्धाका लागि धेरै मिहिनेत गरेँ । फलस्वरूप मिस नेपाल–२०५१ मा वेस्ट ड्ेरस अवार्ड मेरो हातमा पर्‍यो ।
प्रतिस्प्रर्धाले धेरै माझ मलाइ चिनायो । फेरि कलाकारितामा होमिएँ । यस समय मलाई नराम्रो नजरले हेर्ने पनि धेरै थिए । काठमाडांै कीर्तिपुर पाँगाकी स्थानीय बासिन्दा भएकोले होला कसैले कु नियत गर्ने आँट गर्न सकेनन् । अरूको कुराको पनि प्रवाह गर्ने खालकी पनि थिइनँ म । किनभने बाबा र आमाका साथ र समर्थन मलाई थियो ।
कलाकारिताकै क्रममा ०५३ मा राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत जयन प्रधानसँग प्रेम विवाह भयो । विवाह पछि दुई वर्ष कलाकारिताभन्दा बाहिर रहन म बाध्य भएँ । जति बेला छिरे त्यति बेला राजु शाहको अर्काे कल्चर थियो । अहिलेकै नामको राजश्री डान्स ट्ेरनिङ सेन्टर । यही कल्चरमार्फत शिखर साँझ नामक सांस्कृतिक कार्यक्रमा भाग लिएँ । यसमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग कमेडी, प्रकाश श्रेष्ठ, कुमार बस्नेत, सुकमित गुरुङ र कुन्ती मोक्तानलगायत गायक गायिकाको गीतमा नृत्य गरेँ । महदाइले कार्यक्रममा प्रस्तुत गरेको कमेडीबाट म निकै प्रभावित भए । उक्त सोबाट २५ सय पारिश्रमिक हात पर्‍यो । यो कमाई मेरो कलाकारिताको पहलो कमाई भएकोले खर्च नगरी बैंक जम्मा गरे ।
समय बित्दै जाँदा चलचित्रमा सह–नायिकाको अफर मलाई आउन थाल्यो । अवतार, कस्तो सम्झौता, नगद नारायण र माटो बोल्छलगायत दर्जनौँ चलचित्रमा सह–नायिकाको भूमिका निर्वाह गरेँ । यी चलचित्रले मलाई डान्सरबाट छुटाएर अभिनय अभिनयको बाटो देखायो । डान्सरबाट अभिनयमा पाइला बढाएकीेले त्यतिबेला मलाई पहिरनको खासै ज्ञान थिएन । जति चलचित्र गरेँ पहिरन सामान्य नै लगाएँ ।
आफूले पहिलो अभिनय गरेको चलचित्र रञ्जना हलमा दर्शकसँगै बसेर हेरँे । मेरो सिन आउँदा दशर्कले हुटिङ गर्थे । ताली र सिठी मार्थे । यी सबै देख्दा आफ्नो मिहिनेत सफल भएछ भन्ने लाग्यो । यसपछि कलाकारितामा निरन्तर लागेँ । लगभग यसै क्षेत्रमा दुई दशक बितिसकेका छन् । यो लामो अवधिमा अभिनयका हिसाबले भन्ने हो भने चलचित्रभन्दा टेलिचलचित्र नै बढी अभिनय मैले गरेकी छु । विभिन्न भूमिकामा अभिनय गर्दै आएकी म मेरी बास्सै टेलिचलचित्र अभिनय पछि मात्र म हास्य कलाकारका रूपमा परिचित भएँ । सुत्केरी भएको ३८ दिनका दिनमा अभिनयको अफर आयो । मैले पनि अभिनय गरेँ । अहिले ६ वर्ष बितिसक्यो यसमा अभिनय अझै जारी छ । अहिले सबै माझ मलाई चिनाउने शृंखला यही भएको छ । यसैको अभिनयबाट मेरो उपनाम चम्सुरी भएको छ । अचेल बाटो हिँड्दा या सार्वजनिक स्थल जहाँ जाँदा पनि मलाई दर्शकले चम्सुरी भनेर जिस्काउँछन् । यसरी जिस्काउँदा मलाई लाज लाग्छ ।
प्रस्तुति :राजेन्द्र आचार्य

प्रतिक्रिया