वैदेशिक रोजगारीमा ठगी

स्वदेशमै रोजगारी नपाएपछि बेरोजगार युवा पलायन हुने क्रम बढ्दो छ । दैनिक १५ सय युवा रोजगारीका लागि विदेशिनु हाम्रो जस्तो थोरै जनसंख्या भएको मुलुकका लागि राम्रो लक्षण होइन । यसले भविष्यमा मुलुकलाई नै नकारात्मक प्रभाव पार्ने र श्रम शक्तिविहीन बनाउँनेछ । माओवादी द्वन्द्व, अस्थिर राजनीति, उत्पादनका श्रोत र साधनमाथि सीमित व्यक्तिको आधिपत्यका साथै श्रम बजारको अभावका कारण युवा जनशक्ति पलायन भएको हो । यो शक्तिलाई स्वदेशमै रोकेर रोजगारीको व्यवस्था गर्नुपर्ने सरकार नीतिहिन अवस्थामा छ भने रेमिट्यान्सको आधारमा वार्षिक बजेट तर्जुमा गर्ने परिपाटी बढेको छ । वास्तवमा वैदेशिक रोजगारी टिकाउ र दिगो हँुदैन । यो छोटो समयका लागि मात्र हो । तर, हामी भने वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सलाई नै अर्थतन्त्रको मुख्य आधार बनाइरहेका छौँ । कुनै पनि दिन विदेशमा काम गर्ने अवसर गुम्न सक्छ । तसर्थ, स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्छ । राष्ट्र विकासको मुख्यशक्ति युवा श्रम नै हो । यो श्रमको सदुपयोग राष्ट्रमै गर्न सकेमात्र मुलुक विकसित बन्न सक्छ । अन्यथा हाम्रो नियति अन्य मुलुकको अर्थतन्त्रमा आधारित भएर बाँच्नुपर्ने हुन सक्छ । यसर्थ, नीति निर्माता र योजनाविदहरूले बेलैमा सोचेर स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने खालका योजनाहरू तर्जुमा गर्न जरुरी छ ।
एकातिर युवाहरू रोजगारीका लागि विदेशिन बाध्य छन् भने अर्काेतिर स्वदेशमै ठगीको सिकार भएर घर–खेत गुमाउन अभिसप्त छन् । आफ्नो भएभरको जेथा दलालले ठगेपछि वैदेशिक रोजगारीका लागि विदेश जान नपाएकाहरूको पीडा असाध्य कष्टकर हुँदै गएको छ । वैदेशिक रोजगारीका नाममा एक महिनामै आठ करोडभन्दा बढी ठगी हुनु साँच्चै दु:ख लाग्दो विषय हो । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको फागुनमा रोजगारीका लागि कामदार विदेश पठाउने नाममा आठ करोड रुपियाँभन्दा बढी दलालहरूले ठगी गरेका छन् । विभागमा ठगीका उजुरी पर्ने क्रम बढ्दो छ । रेमिटेन्सबाट प्राप्त रकममा गर्व गर्ने सरकारले ठगहरूमाथि कारबाही गर्न सकिरहेको छैन । प्रत्येक जिल्लामा ठगहरूको बिगबिगी रहेको छ । वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई सचेत बनाउने, ठगहरूलाई कडाभन्दा कडा कारबाही गर्ने र ठगिएको रकममा दोब्बर जरिवाना गरेर पीडितलाई उपलब्ध गराउने व्यवस्था सरकारले गर्नुपर्छ । फागुन महिनामा मात्र ५५ हजार चार सय ३९ युवा रोजगारीका लागि विदेश पलायन भएका छन् । दुई करोड ६५ लाख जनसंख्या भएको मुलुकमा यति धेरै युवा विदेश पलायन हुनु राम्रो संकेत होइन । अत्यधिक चाप भएको वैदेशिक रोजगारीको क्षेत्रलाई सहज, सरल, पारदर्शी र ठगीरहित बनाउने दायित्व सरकारको हो । यो दायित्व सरकारले पूरा गर्नुपर्छ । युवाहरू ठगिनबाट जोगिनुपर्छ । राज्यले रोजगारीको व्यवस्था गर्न सकेन यो बेग्लै विषय हो । तर, ठगी धन्दा त रोक्न सक्नुपर्छ ! त्यो गरिरहेको छैन । यो मलुककै लागि दु:खद पक्ष हो ।
व्यक्तिगत र संस्थागत दुवै माध्यमबाट वैदेशिक रोजगारीमा जाने युवा ठगिएका छन् । व्यक्ति विशेषले वैदेशिक रोजगारमा पठाउने भनेर मोटो रकम असुल्ने र फरार हुने प्रवृत्ति बढेको छ । यो प्रवृत्ति रोक्नेतर्फ विभागलगायत सरोकारवाला संघ–संस्थाले ठोस, नीति ल्याएको पाइँदैन । ठगहरूमाथि कडा कारबाही भएको र पीडितले आफ्नो रकम फिर्ता पाएको खबर पनि सुन्न पाइँदैन । व्यक्तिगत रूपमा ठगी गर्नेहरूमाथि हदैसम्मको कडा कारबाही गर्ने नीतिसहित पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था सरकारले गर्नुपर्छ । साथै संस्थागत ठगी गर्नेको संस्था तत्काल खारेज गरेर पीडितको रकम फिर्ता गर्ने र पीडकलाई हदैसम्मको सजाय दिने व्यवस्था पनि हुनुपर्छ । होइन भने ठगी प्रकरणले प्रसय पाउने अवस्था बन्छ । रोजगारीको व्यवस्था पनि गर्न नसक्ने र रोजगारीमा जानेलाई ठगबाट जोगाउन पनि नसक्ने अवस्था रहनुहँुदैन । साथै विदेशमा गएकाहरूले पनि जुन कामका लागि गएका हुन त्यही काम गर्न पाउने वातावरण बन्नुपर्छ । सम्बन्धित निकायको अनुगमन, निर्देशन र कानुनी कारबाहीले मात्र वैदेशिक रोजगारलाई सहज बनाउनेछ । यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।

प्रतिक्रिया