सामाजिक कलंक छुवाछुत

समाजमा हरेक प्रकारका परम्परा कायम रहेका छन् । कतिपय परम्परा समाजका गहना र चिनारी बन्न सफल छन् भने कतिपय परम्परा अभिषापयुक्त, निन्दनीय र सामाजिक कलंकका रूपमा रहेका छन् । जाति, धर्म, वर्ण लिंग र क्षेत्रका आधारमा गरिने भेदभाव समाजका कुरीति हुन् । यस्ता कुपरम्पराबाट मुक्त भइनसकेको समाजले चाहेअनुसार अग्रगामी कदम चाल्न सक्दैन । यस्तो समाज विभाजित हुन्छ, एक आपसमा मेलमिलाप र सद्भाव कायम रहँदैन । जसले गर्दा समाज उत्थानको सम्भावना क्षिण हँुदै टाढाको विषय बन्न पुग्छ । अहिले नेपाली समाज विभिन्न खाले भेदभावबाट पीडित छ । त्यसमा पनि छुवाछुतको जातिभेदले हाम्रो समाजलाई आक्रान्त बनाएको छ । आफूलाई तथाकथित ठूलो जाति हौँ भन्नेहरूले समाजको एउटा ठूलो हिस्सालाई अछुत ठान्ने गरेको छ । यो नै हाम्रो समाजको सबैभन्दा ठूलो कलंक हो । र, यो कलंक नमेटिएसम्म हाम्रो सामाजिकपरम्परा उत्थानको दिशामा अगाडि बढ्न सक्दैन । २१ सौँ शताब्दीमा पनि हाम्रो समाज छुवाछुतको पीडा भोग्न अभिसप्त हुनु दुर्भाग्य नै हो । जुन दुर्भाग्यले हाम्रो समाज विकासको क्रमलाई बाधा र अवरोध पुर्‍याएको छ । विश्व मानवसभ्यता अर्के उच्चाइमा पुग्दै गर्दा नेपाल भने एउटा मान्छे सानो जातको र अर्को मान्छे ठूलो जातको भन्ने भावनाले ग्रसित छ । यस्ता भेदभाव नमेटाउने हो भने सामाजिक विभेदले सबै क्षेत्रमा नकारात्मक प्रभाव पार्नेछ । तसर्थ, मानिस–मानिसबीचमा रहेको जातिभेद उन्मूलन गर्नैपर्छ ।
गत बिहीबार नेपालमा पनि विश्व जातिभेद उन्मूलन दिवस मनाइयो । वर्षमा एक दिन जातिभेद उन्मूलन दिवस मनाएर मात्र छुवाछुत जस्तो सामाजिक कलंकको रूपमा रहेको घृणित प्रथाबाट समाज मुक्त हँुदैन । र, कानुन बनाएर मात्र पनि पुग्दैन । कानुन पालना हुने अवस्था सिर्जना गर्नेतर्फ ठोस कदम नचालेसम्म यो सामाजिक विकृति हट्ने देखिँदैन । मानिस सबैभन्दा चेतनशील प्राणी हो । यो प्राणी समाज नभए बाँच्न नसक्ने हुँदा सामाजिक प्राणी भनिएको हो । तर, यही समाजमा कुरीतिको रूपमा रहेको छुवाछुत जस्तो अत्यन्तै घृणित प्रथा विद्यमान रहनु वास्तवमा सामाजिक कलंक नै हो । यसैले गर्दा हाम्रो समाज पिछडिएको समाजका रूपमा परिचित छ । यो कलंक समाजबाट उन्मूलन नभएसम्म नेपाली समाज विश्वसामु कलंकित समाजको रूपमा रहिरहने छ । धेरै अगाडि छुवाछुत विरोधी कानुन बने, छुवाछुतविरोधी विभिन्नखाले आन्दोलनहरू पनि चले तर ती कानुन किताबमै सीमित रहे भने आन्दोलनहरू पनि पूर्णरूपमा सफल भएनन् । जसले गर्दा अहिले पनि छुवाछुत प्रथा समाजमा विद्यमान छ । यसलाई सम्बन्धित सरोकारवाला सबै पक्षले गम्भीरतापूर्वक लिएर कुन–कुन विकल्प प्रयोग गर्दा जातिभेद उन्मूलन हुन्छ त्यसतर्फ सोच्नै पर्छ । अन्यथा हाम्रो समाज सवल, सक्षम र सर्वस्वीकार्य हुन सक्दैन । र, विश्व समाजका सामु निरीह समाजका रूपमा हामी रहनेछ । यिनै छुवाछुत जस्ता विकृतिले हाम्रो समाजलाई गतिहीन बनाउने छ ।
पक्कै पनि पहिला जस्तो छुवाछुतको भयावह अवस्था छैन । नयाँ पुस्ताले देश–विदेश घुमेर सबै मानिस एकै हुन् भन्ने बुझ्न थालेको छ । शिक्षितहरूले छुवाछुतलाई सामाजिक कलंकका रूपमा लिएका छन् । कलिलो पुस्ताले जातिभेदलाई घृणाको नजरले हेर्नेछ । तर, आफूलाई उपल्लो जाति ठान्नेहरूबाट जातिभेद उन्मूलनमा बाधा पुर्‍याउने काम, नरोकिएसम्म यो प्रथालाई समाजले गह्रांै भारीको रूपमा बोक्नैपर्ने अवस्था देखिन्छ । यो समाजको कलंक हो । यसलाई चाँडै उन्मूलन गर्नुपर्छ र मानिस सबै एकै हुन, ठूलो जात र सानो जात हुँदैन भन्ने शिक्षा समाजमै फैलाउन जरुरी छ । छुवाछुत उन्मूलनका लागि बनेका कानुनहरू पनि कठोरतापूर्वक लागू गर्नुपर्छ । यसले मात्र हाम्रो समाजले बोकेको छुवाछुतको कलंकबाट मुक्ति पाउनेछ । विश्वका पछौटे केही मुलुकमा जाति, धर्म, लिंग, वर्ण र क्षेत्रका आधारमा समाज भाँड्ने काम अहिले पनि भइरहेको छ । त्यसमध्ये हाम्रो नेपाल पनि एक हो । यो वास्तवमा हामी सबैका लागि लज्जाको विषय हो । सामाजिक सद्भाव र एकताको बाधक यस्ता कुप्रथालाई जरैदेखि उखेलेर फाल्नै पर्छ । समाजमा बस्ने सबैले यो विषयमा गम्भीरतापूर्वक सोचेर छुवाछुत प्रथा हटाउन योगदान गर्नुपर्छ । तब मात्र यो प्रथाको अन्त्य हुनेछ ।

प्रतिक्रिया