श्रीमद्भागवतको एक प्रसंगमा भनिएको छ— ‘नारीको संगत नरकको ढोका हो ।’ जब कुनै एउटा घरमा महिला छोरीको जैविक शारीरिक विशेषता बोकेर जन्मन्छे, त्यसै दिनदेखि उसमाथि अनेकन किसिमका पक्षपातपूर्ण व्यवहार हुन थाल्छन् । खानपान, लालनपालन, शिक्षा, दीक्षा, जीवनसाथी रोज्ने कुरामा पक्षपात । छोरी भएर जन्मेपछि समाज र संस्कृतिले हेर्ने दृष्टिकोण नै फरक । कथित परम्पराका आधारमा छोरी— महिला, कोमल, अर्काको घर जाने जात, अवला, शान्त, सहनशील, निरीहजस्ता सीमारेखा उसको जीवनमा कोरिन्छ । एउटा अवला बालिकामाथि हुने यस्तो विभेदबारे उसलाई कुनै ज्ञान हुँदैन । फलस्वरूप हुर्कंदा उसले त्यही परम्परा सिक्छे र आफू घरको कमजोर भूमिकामा रहेको अनुभूत गर्छे । विवाह पश्चात् पनि बुहारी अनि श्रीमती हुँदाको कष्ट त झन् दर्दनाक छ । दाइजो थोरै ल्याएको निहुँमा जिउँदै जलाइन्छ । बोक्सीको आरोपमा मलमूत्र खुवाइन्छ । अनि छोरी जन्माएकोमा मुखमा एसिड छरिन्छ । यौन पिपासु श्रीमान्बाट बन्चरो प्रहारको सिकार हुनुपर्छ । एउटा निर्दोष नारीले आफ्नो जीवनकालमा भोग्न बाध्य यस्ता कुपरम्परा अरू नभई हाम्रै धर्म संस्कृतिका उपज हुन् ।
हिन्दू धर्मले पनि पुरुषलाई ‘उत्तम’ भनेर महत्त्व दिएको छ र महिलालाई दोस्रो दर्जामा राखेको छ । धर्म ग्रन्थका कथाहरूमा चाडपर्व, रीतिरिवाज तथा व्रतहरूमा पुरुषहरूलाई इज्जतका साथ राखेर ठूलो बनाइदिएको छ भने महिलाहरूलाई दास र तल्लो तहमा राखेर वर्णन गरिएको छ । अर्को अचम्म लाग्दो त, हिन्दूपरम्परामा जबसम्म छोराले काजकिरिया र पिण्ड दान गर्दैन, तबसम्म मोक्ष प्राप्ति हुँदैन भनिएको छ । रजस्वाला हुनुपूर्व नै छोरीको विवाह गरिदिएमा ठूलो पुण्य हुने उल्लेख गरिएको छ । त्यस्तै विवाहपछि पनि श्रीमान्को आयु बढाउन महिलाले अनेकन व्रत, तीर्थ गर्नुपर्ने, श्रीमान्को गोडाको पानी खानुपर्ने बाध्यता संस्कारमा सिकाइएको छ । धर्मशास्त्रले पुरुष भनेको नारीको ‘परमेश्वर’ हो भनिदियो । त्यतिमात्र होइन नारीमाथि पुरुषले जस्तोसुकै दमन र शोषण गरे पनि सहनु नारीको कर्तव्य हो भनेर सिकाइदियो । यस्तो संस्कार र परम्पराले गर्दा आज पनि यो संस्कारमा हुर्कन विवश धेरै महिलाहरू कथित कतव्र्य पूरा गर्नमा व्यस्त छन् । यो संस्कार अनि परम्पराको विकासले आज भयानक रूप धारण गरेको छ । बरु मानव विकासको प्रारम्भिक कालमा महिला र पुरुषमा कुनै विभेद थिएन । महिला र पुरुषलाई एक अर्काका परिपुरकका रूपमा हेरिन्थ्यो । जतिजति समाज विकासतिर लम्किँदै गयो, त्यति नै मात्रामा पुरुषहरूले आफ्नो आधिपत्य जमाएर महिलालाई नीच बनाउने प्रवृत्तिको विकास गरे । घरबाहिरको काममा पुरुष सक्रिय हुने र घरभित्रको काममा महिलाहरू मात्रै लाग्नुपर्ने संस्कारको विकास भयो । यही संस्कार र संस्कृतिको उपज हो महिलामाथिको हिंसा ।
हाम्रो परम्परा र संस्कृतिले महिलालाई चुलोचौकाको ठेकेदारको रूपमा बुझ्यो । सन्तान उत्पादन गर्ने मेसिनको रूपमा लियो । ‘पोथी बासेको राम्रो हुँदैन’ भनेर महिलालाई निर्णायक भूमिकामा पुग्नबाट रोक्यो । घरदेखि राज्यसम्मका नीति निर्माण गर्ने तहमा महिलाको उपस्थिति हुन नसक्दा उनीहरूका पक्षमा कार्यक्रमहरू तयार हुन सकेनन् । महिलाको कामको मूल्यलाई जहिले पनि उपेक्षाको दृष्टिले हेर्ने तथा परिभाषित गर्ने काम भयो । त्यसो त जन्मदेखि मृत्युसम्म हरेक समयमा महिलामाथि सांस्कृतिक हिंसा भएको पाइन्छ, जो हिन्दूपरम्परामा मात्रै सम्भव छ । रजस्वाला हुँदा अलग बस्नुपर्ने, खाटमा सुत्न र कसैलाई छुन नहुने, पुरुषको मुख हेर्न नहुनेजस्ता चलन यथावत छन् । अझ पश्चिमी भेगमा छाउपडी, झुमा देउकीजस्ता संस्कृतिले महिलालाई नै दु:ख दिएको छ । सुत्केरी हुँदा कसैसँग पनि छुन नहुने र परालमा सुत्नुपर्ने बाध्यता पनि कायमै छ । श्रीमान्को मृत्युपछि पनि महिलामाथि अनेक प्रकारका बन्धनहरू आइलाग्छन् । वैदिक साहित्य, विष्णु धर्मसूत्रमा विधवा नारीले पतिको मृत्युपछि कि त ब्रह्मचार्य पालन गर्नुपर्ने कि त पतिसँगै सति जानुपर्ने भनेर उल्लेख गरेको छ । एकातिर श्रीमान्को मृत्युपछि महिलाले रातो लगाउन नहुने संस्कृति छ भने अर्कोतिर श्रीमान् गुमाएको शोकमा रहेकी महिलालाई ‘लोग्ने टोक्यौ, अलक्षिणी, बोक्सी’ भनेर हेला गरिँदै आएको छ । उल्लिखित महिलाका अवस्थाहरू अति नै संवेदनशील हुन् । त्यतिखेर महिलाले निश्चय नै कसैको सहारा खोज्ने गर्छे । तर, हिन्दूपरम्परा र संकृतिले सो अवस्थामा उसलाई सहयोग गर्न बन्देज गर्छ र पीडामाथि पीडा थपिदिन्छ ।
महिलाहरूलाई होच्याउने र पीडा दिने यस्ता धार्मिकपरम्परामा समयअनुरूप परिवर्तन हुनुपर्छ । हिन्दू धर्मबाट उत्प्रेरित अमानवीय प्रथाका रूपमा कायम रहेको सतिप्रथा अन्त्य भइसकेको छ । सतिप्रथा पनि हिन्दू धर्मकै उपजका रूपमा आएको थियो । मानिसलाई आफ्नो जीवनकालमा जेजति चीजविजहरूको आवश्यक पर्छ, परलोकपछि पनि स्वर्गमा ती सबै चीजको आवश्यक पर्छ भन्ने गलत धारणाका कारण भगवान्को बिल्ला पाएका पुरुषका निम्ति ‘परलोकमा भोग गर्न स्त्री चहिन्छ’ भन्दै श्रीमान्को निधनपछि महिलाहरूलाई सती पठाइन्थ्यो । १९ सय वर्षसम्म चलेको यो प्रथामा कति महिलाले पुरुषसँगै चितामा जल्नुपर्यो होला ? हिन्दूपरम्परासँग जोडिएको यो परम्पराको अन्त्य गर्न नेपालमा मात्रै होइन, भारतमा पनि ठूलो संघर्ष गर्नु परेको थियो । जंगबहादुरको पालामा नै सतीप्रथा अन्त्यका लागि पहल सुरु गरिए पनि सफल हुन सकेको थिएन । पछि चन्द्र शमशेरले विसं १९७७ मा आफ्नो जन्म दिनको अवसर पारेर कानुनी रूपमै घोषणा गरेर सतीप्रथाको अन्त्य गरिदिए । चन्द्र शमशेरले जसरी सतीप्रथा अन्त्य गरे, त्यसरी नै नेपालमा हिन्दू संस्कारसँग जोडिएका र महिलालाई पीडा दिने अनेक परम्परा र संस्कारहरूको अन्त्य गर्न ढिला भइसकेको छ । हुन त महिलाहरू यतिखेर सबैखाले विभेदको अन्त्यका लागि जुर्मुराइरहेका छन् । राज्यले पनि हरेक तहमा महिलाको ३३ प्रतिशत सहभागिताको नीति लिएको छ । तर, पनि महिलामाथि हुने विविध खाले हिंसा किन कम भएनन् ? उनीहरूको अधिकार प्रत्याभूत हुनेखालका कानुनहरू किन बनेनन् ? मुख्य कारकका रूपमा आउँछ यस्ता परम्परा र संस्कारहरू । जबसम्म हिन्दू धर्मसँग जोडिएका विभिन्न प्रकारका परम्पराहरू मिथक हो भनेर बुझ्न र बुझाउन सकिँदैन तबसम्म सोचाइ र व्यवहारमा परिवर्तन आउन सक्दैन ।
त्यस्तै समाजमा परम्परागत रूपमा चलिआएको लैंगिकसम्बन्ध, व्यवहार र भूमिकामा पनि आमूल परिवर्तन हुनुपर्छ । समान किसिमको अधिकार र पहुँचको उपलब्धताले मात्रै महिला र पुरुषबीच समानता कायम हुन्छ न कि, यस्ता कुसंस्कार र परम्पराले । लैंगिक समानताले सामाजिक न्यायको पक्षलाई जोड दिन्छ । समाजमा, जबसम्म महिलाहरूले सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा काम गर्ने अवसर पाउँदैनन्, तबसम्म समानताको सवाल अधुरै रहन्छ र महिलाहरू यस्ता परम्पराका नाममा पीडित बनिनै रहन्छन् । अब महिलाहरू पुरुषसरह काम गर्न सक्दैनन् भन्ने मान्यतालाई झुटो सावित गर्दै महिलाप्रतिको दृष्टिकोणमा सकारात्मक सोचको विकास गर्नुपर्छ । हुन त पुराना संस्कार र संस्कृतिको विरोधमा लामै आन्दोलनहरू भएका छन् तर पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न नसक्दा धेरै महिलामाथि सांस्कृतिक हिंसा कायमै रहेको देखिन्छ । धार्मिक रूपमा महिलाविरुद्ध लगाइँदै आइएका मिथ्या आरोपहरूलाई सबैले बहिष्कार गर्न सके महिलाउपर जन्मदेखि हुँदै आएको विभेदको अन्त्य हुनेछ ।
[email protected]
प्रतिक्रिया