जागिर खानु कि सन्तान स्याहार्नु

Dreakfast_dadनोबुको इटो, जापानकी प्रोफेसनल अधिवक्ता । उनी आधुनिक समयकी सक्षम अधिवक्ता हुन्, अंग्रेजी भाषामा पनि विशेष दखल राख्छिन् । अन्तर्राष्ट्रिय सम्झौता कानुनसम्बन्धी केही वर्षयताकी विशेषज्ञ अधिवक्ता मानिन्छिन् । तर, यतिबेला उनी अन्तर्राष्ट्रिय स्तरको ल फर्ममा कार्यरत छैनन् । स्थानीय स्तरमा हुुने वकालतनामामा पनि मुस्किलले मात्रै काम पाउँछिन् । कारण, उनी तीन सन्तानकी आमा हुन् ।
विवाहपछि बच्चा जन्मिएका कारण वकालतका लागि प्रख्यात भइसकेकी नोबुकोको काममा यतिखेर लगभग ब्रेक लागेको छ । ‘म यतिखेर बच्चा जन्मिनुअघिको व्यस्त दिनचर्या सम्झिरहेकी छु, महिनामा तीन सय घन्टा काममै हुन्थेँ ।’ नोबुकोले विगत सम्झिइन्, ‘मसँग क्लाइन्टको यति भिड हुन्थ्यो कि बिहान नौ बजे कार्यालय पुगेर भोलिपल्ट बिहान तीन बजे मात्रै मुस्किलले काम सक्थेँ । आइतबार र शनिबार पनि प्राय: काममा नै रहनुपथ्र्यो ।’
तर, अहिले उनलाई घरपरिवार बिर्सिएर पहिलेजसरी काममा खट्न सजिलो छैन । तीन सन्तानकी आमा नोबुको भन्छिन्, ‘हाकिमले परिवारै बिर्सिएर काम मात्रै गर्नुपर्छ भन्छन्, तर यो असम्भव छ ।’
जापानमा हुने ‘क्रूर’ कार्यशैलीको सिकार भएकी महिलामध्येकी एक उदाहरण मात्रै हुन्, नोवुको । जापानमा पहिलो बच्चा भएपछि काम छोड्नुपर्ने बाध्यताबाट अहिले पनि ७० प्रतिशत महिला गुज्रिइरहेका छन् । यद्यपि, जापानलाई कामकाजी महिला धेरै रहेको देशअन्तर्गत लिइन्छ । जापानी महिलाहरूले बच्चा जन्मिएपछि जागिर छोड्नुपर्ने बाध्यताको अर्को कारण उनीहरूका पति पनि हुने गरेका छन् । अधिकांश जापानी पुरुषले परिवारलाई समय नै दिँदैनन् । त्यसैले पनि सन्तानप्रति पूर्णदायित्व आमाको मात्रै हुने गरेको छ ।
स्विडेन, संयुक्त राज्य अमेरिका, जर्मनीलगायत देशका पुरुषले परिवारका लागि दिनमा तीन घन्टा समय छुट्याउने गर्छन् । तर, जापानका पुरुषले मुस्किलले १५ मिनेट मात्रै आफ्ना सन्तानका लागि समय दिने गरेका जनाइएको छ । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार यहाँका २ दशमलव ६३ प्रतिशत पुरुषले मात्रै परिवारलाई पर्याप्त समय दिने गरेका छन् । तर, व्यस्तताका कारण पतिले समय दिन नसकेको स्वीकार्छन् महिलाहरू पनि । नोवुले भनिन्, ‘मेरा पतिले अभिभावकत्व भने छोडेका छैनन् ।’
जापानका हरेक पुरुष आफ्ना परिवारको लागि पर्याप्त समय दिन चाहन्छन् । तर, कडा कार्यप्रणालीका अनुसार उनीहरूका लागि परिवारलाई समय दिनुभन्दा महत्त्वपूर्ण कुरा गर्दै आएको काम हुनेगर्छ । परिवार हेर्न थाल्ने हो भने उनीहरूले आफ्नो काम नै छोड्नुपर्ने बाध्यता हुन्छ । महिलाहरू पनि आफूले गर्दै आएको काम त्याग्न नसकेर बच्चा भइसकेपछि केही समय कामलाई निरन्तरता पनि दिने गर्छन् । तर, त्यसो गर्दा बालबालिकाको स्वास्थ्य तथा हेरचाहमा असर पर्ने बालबालिकाको अधिकारको क्षेत्रमा काम गर्ने व्यक्तिहरू बताउँछन् । सरकारका अनुसार जापानका बीस हजार बालबालिका हरेक दिन डे केयरमा अभिभावकको प्रतिक्षामा बसिरहेका हुन्छन् । पछिल्लो समय आफ्नो कामलाई निरन्तरता दिन नोवुकोले पनि डेकेयर सेन्टरमा छोराछोरी राखेकी छिन् । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया