रावण

nayan-raj-pandayम गाउँ पुग्दा सबै सारै खुसी हुन्थे । सारा केटाकेटीसम्म म गाउँ आएको सूचना तत्काल पुगिसक्थ्यो । साँझसम्म हाम्रो कोठारको आँगनमा केटाकेटीको भीड लाग्थ्यो । र, म अबेरसम्म तिनीहरूसित खेल्नमा व्यस्त हुन्थेँ । गाउँ पुगेपछि मेरो अधिकांश समय खेल्नमै बित्थ्यो । कहिले खलिहानमा पुग्थ्यौँ । कहिले भगडामा गएर गुल्ली–डन्डा खेल्थ्यौँ । कहिले डुँडुवामा गएर पौडी खेल्थ्यौँ र लुगा सुकाउँदै बयर टिपेर खान्थ्यौँ ।
म सहरबाट आएकाले गाउँमा मेरो विशेष महत्त्व हुन्थ्यो । सबैले मलाई माया गर्थे । सम्मान गर्थे । मैले बोलेको ध्यानसित सुन्थे । म उनीहरूलाई सहरको कथा भन्थेँ । सिनेमाको कुरा गर्थें । उनीहरू ट्वाल्ल पर्थे । मानौँ म कुनै अर्कै संसारको कथा भन्दै छु ।
गाउँमाथिबाट हवाइजहाज उड्दा उनीहरू चीलगाडी भनेर दंग पर्थे । मैले जहाज चढेको छु भन्दा उनीहरू ठान्थे— म स्वर्ग पनि गएको छु । किनभने चीलगाडी पुग्ने आकाशमै स्वर्ग छ भन्ने धारणा थियो उनीहरूको ।
०००
म गाउँ पुगेदेखि नै त्यहाँ अर्को तयारी पनि सुरु हुन्थ्यो । रामलीला नाटकको तयारी । केही वर्षअघि म गाउँ आउँदा मेरा हजुरबुबाले गाउँमा रामलीलाको आयोजना गर्नुभएको थियो । उहाँ आफैँले रामायणलाई चार–पाँच दृश्यमा विभाजन गर्नुभएको थियो । पहिलो दृश्यमा राम, लक्ष्मण र सीताले दशरथसित वन प्रस्थानका लागि बिदा मागेको घटना चित्रण गरिएको थियो । दोस्रो दृश्य राम सिकारमा गएको, लक्ष्मणले लक्ष्मणरेखा बनाएको र रावण आएर छलले सीताको हरण गरेको देखाइएको थियो । तेस्रो दृश्यमा हनुमान्ले लंका जलाएको देखाइएको हुन्थ्यो । चौथो दृश्यमा राम–रावण युद्ध देखाइन्थ्यो । अनि रामको विजयोत्सवपछि रामलीला समाप्त हुन्थ्यो ।
वास्तवमा तिनताक हाम्रो दसैँँ गाउँमा बित्थ्यो । गाउँको दसैँँलाई रमाइलो र रोचक बनाउन हजुरबुवाको सक्रियतामा रामलीलाको आयोजना हुन्थ्यो । रामलीला आयोजनका लागि हजुरबुबाले वर्षेनी दश क्विन्टल धान छुट्टयाउनुहुन्थ्यो । त्यसैको बिक्रीबाट आएको रकमले रामलीलाको खर्च पूरा हुन्थ्यो ।
गाउँका बालकहरूभन्दा सफासुग्घर र सुन्दर भएर होला, हजुरबुबाले मलाई रामको भूमिका दिनुहुन्थ्यो । लक्ष्मणको भूमिका मेरा काकाको छोराले निर्वाह गथ्र्यो । त्यही गाउँका जिम्दार मित्र शमशेरको छोरालाई सिँगारपटार गरेर युवतीको रूप दिइन्थ्यो । उसले सीताको पार्ट खेल्थ्यो । रावण, हनुमान्, राक्षस र वानर सेनाको भूमिका गाउँका थारू र कमैयाका सन्तानहरूले पाउाथे ।
त्यसपछि दुईतीन दिन निकै रिहर्सल हुन्थ्यो । र, दसैँँभरि देखाइन्थ्यो त्यो रामलीला ।
०००
रावण बन्ने लछानु चौधरी हाम्रो कमैयाँको छोरो थियो । गाउँकै स्कुलमा तीन कक्षासम्म पढेर छाडेको थियो । किनभने गाउँमा तीन कक्षासम्म मात्र पढाइ हुन्थ्यो । त्यसभन्दा अगाडि पढ्न दुईतीन कोस परको गाउँमा पुग्नुपथ्र्यो ।
वास्तवमा ऊ रामको भूमिकामा अभिनय गर्न चाहन्थ्यो । किनभने रामले बोल्ने संवाद मीठा हुन्थे । लछानुलाई रामले बोल्ने ती संवादहरू कण्ठ पनि थियो । त्यसबाहेक रामले लगाउने मुकुट पनि दामी थियो । तर रावण बन्नेले नाटकभरि एउटा मुकुन्डो लगाइरहनुपथ्र्यो । त्यो मुकुन्डो गह्रुंगो पनि थियो । डरलाग्दो पनि थियो । त्यसमा थुप्रै टाउका जोडिएका थिए । त्यसैले नाटक हुँदा कसैले पनि उसको अभिनयतिर ध्यान दिँदैनथे । बस, उसको त्यो डरलाग्दो मुकुन्डोतिर हेरिरहन्थे, डराइरहन्थे र रावणलाई सरापिरहन्थे । तर, रामको चरित्र निर्वाह गर्ने पात्रलाई गाउँलेहरूले साक्षात् रामलाई जस्तै खुट्टामा ढोग्थे । त्यो सौभाग्य मैले पाएको थिएँ । सायद यिनै सबै कारणले रावणको भूमिकामा ऊ त्यति सन्तुष्ट थिएन ।
तर, रावण नबने रामलीलाबाट हटाइने डर पनि थियो उसलाई । त्यसैले ऊ चुपचाप सहन्थ्यो र रावणको भूमिका निर्वाह गथ्र्यो । उसको अभिनय सशक्त हुन्थ्यो । तर, कसैले उसको प्रशंसा गर्दैनथ्यो । बरु उल्टो रावण भनेर उसको खिसी उडाइन्थ्यो । मैले भने धेरै ठाउँमा संवाद बिर्सन्थेँ । तर, पनि मेरो अभिनयको निकै प्रशंसा हुन्थ्यो । किनभने म राम थिएँ । नाटक सिद्धिएपछि गाउँलेहरूले मेरा खुट्टा ढोगेको र मैले दर्शकबाट आदरसत्कार पाएको टाढाबाट हेरिरहन्थ्यो लछानु । उसको अनुहारमा त्यतिखेर रावण बन्नुको ग्लानि देखिन्थ्यो । अहिले लाग्छ— त्यतिखेर उसको अनुहारमा आक्रोश जस्तो पनि केही हुन्थ्यो । शायद आफूले पाउनुपर्ने महत्त्व नपाएको आक्रोश थियो त्यो ।
०००
हजुरबुबा बित्नुभयो । हामीले गाउँमा गएर दसैँँ मनाउने क्रम पनि बन्द भयो । हाम्रो दसैँँ सहरमै बित्न थाल्यो । त्यसपछि हामी धान दाउने बेला, मंसिरतिर मात्र गाउँ पुग्न थाल्यौँ । तर, म गाउँ पुगेपछि रामलीला खेल्ने तयारी फेरि सुरु हुन्थ्यो । पूरा उत्साहसाथ । हामी केटाकेटीलाई रामलीला खेल्न दसैँँ नै चाहिँदैन थियो ।
आ–आफ्नो भूमिकामा हामी पोख्त भइसकेका थियौँ । संवाद पनि हामीलाई कण्ठ थियो । रामलीलाका पोसाक र धनुषहरू कोठारमै कतै कुनामा हुन्थे । पुराना भए पनि ती अझै कामचलाउ थिए । रावणको मुकुन्डोमा मुसाले प्वाल पारे पनि त्यसबाहेक अर्को मुकुन्डो थिएन । त्यसैले लछानु त्यही थोत्रो मुकुन्डो लगाउन बाध्य हुन्थ्यो । वास्तवमा त्यति बेला पनि ऊ निराश हुन्थ्यो । हजुरबुबाको पालामा नाटक गर्दाकै जस्तो असन्तुष्टि देखिन्थ्यो उसको अनुहारमा ।
०००
एकपटक उसले हिम्मत गरेर भन्यो, ‘यस पालि म राम बन्छु ।’ उसले त्यसो भन्नु के थियो, हामी सबैले उसको खिसी उडायौँ । लक्ष्मण बनेको मेरा काकाको छोराले त ‘थारूको बच्चा पनि कहीँ राम बन्छ ?’ भनेर ठाडै जिस्क्यायो । ऊ पूरै निराश भयो ।
साँझसम्म यो कुरा गाउँभरि फैलिसकेको थियो । सबैले राम बन्न खोज्यो भनेर लछानुलाई उडाए । ऊ झन् निराश भयो । उदास भयो । ग्लानिले भरियो । रातभरि उसलाई निद्रा परेन । रातभरि ऊ छटपटियो । र, बिहान उसले केही निश्चय गर्‍यो । अर्को दिनको रामलीलाका निम्ति हामी लुगा र मुकुटहरू लगाउँदै थियौँ । ऊ आयो र भन्यो, ‘म रावण बन्दिनँ ।’
हामी सबै जिल्ल भयौँ । छक्क पर्‍यौँ । लछानु फर्केर गयो, रिसाउँदै । रावण नभएपछि राम, लक्ष्मण, सीताको के अर्थ ? त्यस दिन रामलीला भएन । रोकियो । त्यस दिन रोकिएको रामलीला फेरि सुरु भएन गाउँमा । कहिले पनि भएन ।
०००
तर, अचेल सुन्छु— लछानु गाउँमा छैन रे । कहाँ छ ? कसैलाई थाहा छैन । मैले हालसालै गाउँ गएका बेला लछानुलाई खोजेँ । भेटिनँ । अचेल उसलाई सुरक्षा फौजले पनि खोज्दै छ ।
(पाण्डेको प्रकाशोन्मुख कथासंग्रह ‘चकलेट’बाट)

प्रतिक्रिया