मान्मभन्दा परको कालिकोट

Bhanu-Bokhim-copyसपना पोखिएका बाटाहरूमा हिँड्छ
अभावको पोको बोकेर
बूढो युगबाट फर्के जस्तो
बूढो कालीकोट
पहिलोपटक बुद्धिसागरको यो कविता पढ्दा म इटहरीमा आइए पढ्दै थिएँ । जाडो यामको बेला एउटा दैनिकमा छापिएको कविता पढेपछि कालिकोट मेरो मस्तिष्कमा गढिरह्यो, रोग, शोक र भोकको पर्याय भएर ।
त्यसको ११ वर्षपछि म कालिकोट पुगेँ । बुद्धिसागरको घर सामुन्नेको गल्लीमा धेरैचोटि ओहोरदोहोर गरियो । मान्ममा बुद्धिसागरको चर्चा निकै थियो तर बुद्धिसागर थिएनन् । उनीसँगै कवितामा वर्णित दु:खहरूले पनि बसाइँ सर्न थालेको भान हुन्थ्यो । अहिले बिजुली , सञ्चार, सडक पुगेको थियो ।
तेस्रो दिन जुम्ला जाने सडक पछ्याएर दक्षिणपूर्वको दिल्लीकोट लाग्याँै । हाम्रो रिजर्ब गाडीका चालक थिए २२ वर्षे विजयसिंह थारू । जसको हँकाइले तोकेको समयमा गन्तव्यमा पुग्न सकिँदैन थियो । तर, सुरक्षित पुगिन्थ्यो ।
‘यही ठाउँमा हो सेना मारिएको’ पिली पुगेपछि पत्रकार अशोक सिंहले भने ।
धूलो खेलिरहेका कति केटाकेटी नांगै थिए । अनुहार र हत्केलाभरि मयलका पाप्रा थिए ।
सेराबडा पुगेपछि गाडी रोकियो । अब हामीले पैदल हिँड्नुथियो । अक्सर जुम्ला जाने गाडीले खाना खुवाउँदो रहेछ यहाँ । हामीले पनि खायौँ । ड्राइभर भाइलाई त्यहीँ छोडेर अशोक सिंह, विनोद काफ्ले र मैले तिलाको झोलुंगे पुल तर्‍याँै । अघि नै पारिबाट देखेको बाटोमा उकालो चढ्न गाह्रो भयो ।
‘सर्टकट बाटो जाऊँ’ अशोकले माथि डाँडामा निक्लने बेला अलि अप्ठ्यारो बाटोतिर लग्दै भने । अशोक नेपाल टेलिभिजनका कालिकोट संवाददाता हुन् ।
विनोद र म गाह्रो गरी उक्लियौँ । चितवनमा जन्मेका विनोदले पहाडी भेगमा कमै यात्रा गरेका थिए । डाँडामा निक्लिँदा हामीभन्दा पछाडि आइरहेका मान्छे त्यहाँ पुगिसकेका थिए ।
‘झन् ढिलो पुगिने बाटो नि सर्टकट हुन्छ ?’ मैले लामो सास तान्दै थिएँ ।
‘हा हा हा , के को सर्टकट † अप्ठ्यारो बाटोमा हिँड्न सक्नुहुन्छ कि हुन्न भनेर चेक गरेको’ अशोकले जवाफ दिए ।
उकालोओरालो गर्दै अघि बढी रह्यौँ । फेरि अप्ठ्यारो बाटो आयो । सबभन्दा अगाडि अशोकलाई पठायौँ ।
‘पछाडि भारी बोकेर आउनेहरू कसरी हिँड्लान् यहाँबाट ?’ मैले भनेँ ।
‘त्यै त है, कस्तो गाह्रो छ’ विनोदले भन्यो ।
हामी भीरको साँघुरो बाटोमा घसिँ्रदै थियौँ । सजिलोसँग खुट्टा चाल्ने ठाउँ थिएनन् । तर, हामी त्यो भीरमा पनि फोटो खिचिरहेका थियाँै ।
‘त्यत्रो भारी बोकेर आउनेहरू कसरी आउँछन्, भारी अट्ने बाटो त छैन ?’ अशोक उभिएको ठाउँमा पुगेपछि सोधेँ ।
‘उनीहरू त माथिबाट आउँछन्’ अशोकले भीरमाथि घुमेर आउने बाटो देखाउँदै भने । यहाँ पनि अशोकले हामीलाई जाँचेछन् ।
‘नमस्ते अंकल’ पुल तर्दा नतर्दै एउटा फुच्चे देखा पर्‍यो ।
‘नमस्ते’ मैले नमस्ते फर्काएँ । नचिनेको मान्छेले किन नमस्ते गर्‍यो भनेर सोच्दै थिएँ । तर, फुच्चेले तुरुन्तै चाउचाउ किनी मागेर रहस्य खोलिहाल्यो । मैले चाउचाउको सट्टा बीस रुपियाँ दिएँ ।
झमक्क साँझ पर्दा हामी अशोकको घर पुग्यौँ । हामीले यहाँसम्म आइपुग्दा ६ घन्टा हिँडेका थियाँै । थकाइले गर्दा खाना खानेवित्तिकै सुत्यौँ ।
भोलिपल्ट उठेर गाउँ घुम्न थाल्यौँ । खेतभरि गहँु उम्रेको थियो भने बारी बाँझै थिए । केटाकेटीहरू एकसरो कपडामा कुदिरहेका हुन्थे ।
हामी युद्ध पीडितसँग कुरा गर्न तलतिर झरिरहेका थियौँ । एउटा घरमा महिला दुईवटा बच्चा समातेर कोदोको रोटी खाँदै थिइन् । रोटी हेर्दै खस्रो, चाम्रो लाग्थ्यो । उनी हामीलाई देखेर लजाइन् तर रोटी खान छोडिनन् ।
हामी सरासर झर्‍यौँ । फराकिलो बारीको गह्रातिर बढ्यौँ । त्यहाँ एकातिर खुल्ला भएको कटेरो थियो । एकातिर बारीको भित्तालाई पर्खाल बनाइको कटेरोको दुई भाग जस्ताले बेरिएको थियो । जस्ताकै छाना भएको यो कटेरो भर्खर खोलिएको बोर्डिङ स्कुल थियो । त्यो स्कुलको नाम जति सुन्दर थियो , उति सुुन्दर थिएन त्यसको अवस्था । विद्यार्थीहरू ढुंगा र फलेकमा बसेका थिए । उनीहरूलाई अंग्रेजी वर्णमाला र शब्द उच्चारण गर्नमा अभ्यस्त पारिँदै थियो । तर, न त स्कुल बोर्डिङ जस्तो थियो, न केटाकेटी बोर्डिङका विद्यार्थी झैँ लाग्थे । उनीहरू घरमा जस्ता थिए, त्यस्तै मैलो कपडा लगाएर आएका थिए ।
त्यसपछि दुई बजे माझ गाउँको एउटा घरमा पुग्यौँ । त्यहाँ हाम्रो अनुरोधमा गाउँका युद्ध पीडितहरू भेला भएका थिए ।
‘ठूला–ठूला कुरा गर्थे युद्धकालमा, तर केही भएन अहिले, कुरा गरे जस्तो सजिलो त के हुँदो रहेछ र ?’ युद्धमा आफन्त गुमाएका वीरबहादुर सिंहले बताए । उनी जस्तै आफन्त गुमाएका चार जनासँग कुराकानी गरेँ । उदास मुद्रामा भेटिएका यी युद्ध पीडितहरूले राज्यबाट तीन लाख रकमबाहेक केही पाएका थिएनन् । शान्ति मन्त्रालयको नाम सुनेका थिए तर त्यसले के गरिरहेको छ भन्ने थाहा थिएन । माओवादीले सुन्दर परिभाषा दिएको क्रान्तिले उनीहरूको जीवनमा पीडा मात्र
थोपरेको थियो । दिनभरि युद्ध पीडितसँग कुराकानी गर्‍यौँ । भोलिपल्ट दिल्लीकोट छोड्दा साढे सात बजेको थियो ।
हाम्रो हिँडाइको रफ्तार अस्तिको भन्दा तेज थियो । उसमाथि यसपल्ट बाटोमा फोटो पनि खिचेनौँ । पादमाघाटको पुल तरेपछि अस्तिको भीरको अप्ठ्यारो बाटो आयो । तर, यसपाली सजिलोको लागि भीरमाथिको थुम्कातिर चढ्यौँ । थुम्कामा एकछिन सुस्तायौँ । ओह्रालो झर्ने क्रममा भारी बोकेर हिँडिरहेका किशोरहरू भेट्यौँ । उनीहरू गह्राँै भारी बोकेर पनि हामी खालि हिँडेका जत्तिकै हिँडिरहेका थिए ।
‘तिम्रो नाम के हो भाइ ?’ विनोदले १४, १५ वर्षको जस्तो लाग्ने किशोरलाई सोध्यो ।
‘जीवनबहादुर शाही’ उसले हिँडाइको गति कम गर्दै बोल्यो ।
‘के बोकेको ?’
‘जडिबुटी’
‘कहाँ पुर्‍याउने ?’
‘सेराडा’
‘तिमी स्कुल जाँदैनाँै ?’
‘अहिले बिदा छ, लागेपछि जान्छु’ ।
‘भारीचाहिँ किन बोकेको त ?’
‘खर्च जुटाउन । ड्रेस, कपी किन्नु पर्छ नि । भारी बोकेर आएको पैसाले किन्नु पर्छ ।’
जीवनको कुरा सुनेर म काठमाडौंको त्यस्तै कुनै किशोरको दिनचर्या सोचिरहेको थिएँ जो विदाको समय रमाइलो गरेर बिताउँछ ।
साढे एघार बजे हामी सेराडा पुगेका थियाँै । अस्ति गएको भन्दा अढाइघन्टा छिटो फर्केर आएका थियौँ । खाना खायाँै र मान्मतिर लाग्यौँ । साँघुरो बाटोमा धूलो उडाउँदै अघि बढ्यौँ । योबेला सोचेँ, कालिकोट सदरमुकाम मान्मभन्दा बाहिर पनि छ जहाँ समस्याहरू यथावत छन् । धेरै मान्छेहरू अझै कामको खोजीमा तराई झर्छन् कि मुग्लान पस्छन्, बुद्धिसागरको कवितामा जस्तो–
हिउँका सालिक झँै टलक्क टल्किँदै
हराएका आफ्ना छोराहरू खोज्न
अचेल बूढो कालिकोट
मधेस झरिरहेछ ।

 

प्रतिक्रिया