म उही चुर्ने कामी हुँ

Bibas-Bastiऔँसीको रातमा मेरो घरको बलेसीबाट चुहिने अँध्यारोसित
मेरो कुनै साइनो छैन
तर मेरा जीवनका पृष्ठहरू भने
त्यसभन्दा पनि धेरैधेरै अँध्यारा छन्
अँध्यारो, मेरो एउटा अध्याय भइसक्यो
अँध्यारो, मेरो जीवनको अनिवार्य प्रहर भइसक्यो
अँध्यारो, मेरो समृद्धिको गोरेटोको घाँडो भइसक्यो
अँध्यारो, मेरो घर, आँगन र दलानको सिकसिको भइसक्यो
थाहा छ, तपैंहरूलाई
तपैंहरू अर्थात् विष्ट/महाजनहरूलाई ?
म अँध्यारैमा रमाउँछु, अँध्यारैमा हराउँछु
चिन्नु भएन मलाई ?
म उही चुर्ने कामी हुँ

मेरो मझेरीमा उज्यालो छिरेको दिन म प्रफुल्ल हुनेछु
मेरो अँगेनामा राता अँगारहरू जलेका दिन म त्यही अँगारजस्तै
रक्तरञ्जित/रोमाञ्चित हुनेछु
मेरो पिँडीमा
बेपर्वाह ढंगले जूनका गाढा थोपाहरू तप्किएको बेला
म चम्किनेछु त्यसैगरी, जूनका पातला थोप्लाहरूझैँ
जसले धर्तीका मनोरम छातीलाई
तुल्याउनेछ अझ चौडा र स्नेहिल
त्योबेला
तपैंहरूले/विष्टहरूले मेरो परिचय खोज्नु भयो भने
म सहर्ष भन्नेछु– हजुर, म अरू क्वै हैन
उही चुर्ने कामी हुँ

मसित केही स्मृति छन्/इतिहास पनि छन्
अतीत छ/वर्तमान छ
त्यसलाई मैले ठानेको छैन आफ्नो सम्पत्ति
ती त सबै पहिला–पहिला मुखियाहरूले एकलौटी पारे
जिम्वालहरूले गुट्मुट्याए
पछि–पछि
कुन–कुन महाराज आए, नेतागण आए
आए को को इतिहासका कालखण्डहरूमा
छैन मसित अहिले कुनै पनि लेखाजोखा
मसित त केवल तिनै पीडा, घाउ, व्यथा र असीमित भँगालाहरूमात्र छन् दु:खका
जसले मेरा स्मृति/वेदनाहरूलाई मात्र छाम्छन्
र, केलाउँछन् पनि…
म त्यस्तो कुनै गर्विलो पात्र होइन हजुर †
आफ्नै रंगमञ्चको/आफ्नै संसारको
म त उही चुर्ने कामी हुँ

मेरो आरन चिसिएको दिन
मेरा छोराछोरीका लाम्टाहरू पनि चिसिन्छन्
मेरो आरनमा गोल ओइलिएका दिन
मेरी स्वास्नीका अनुहारमा तुवाँलोका बिम्वहरू उत्रिन्छन्
मेरो आरनमा खग्रास लागेका दिन
मेरो उत्साह, उमंग र उज्यालो संसारमा
लाग्छ पूरै ग्रहण

त्यतिबेला म सोच्न बाध्य हुनेछु
यो संसारका रीतिथितिहरू
हजुर † यो संसार मभन्दा धेरै विस्तृत र विहंगम छ
सोच्दछु, म त केवल
उही चुर्ने कामी न हुँ

मेरा बाजे यहीँ प्यांखरमा आए
मेरा बाउले यहीँका ढुंगा र माटोसित आफ्नो भविष्य चम्काउने स्वप्न उमारे
म पनि यहीँ छु अहिलेसम्म
र, मेरा छोरा/नातीहरू पनि यहीँ डाँडाकाँडामा भविष्यका तानाबाना बुन्दै
उँघिरहेका होलान्
हजुर †
यो माटो हामीले आवाद गर्‍यौँ
यो धर्तीसित हामीले संवाद गर्‍यौँ
अहिले यो माटो हाम्रो हो कि हैन
यो बाटो हाम्रो हो कि हैन, भइरहेछ
तलतल गैयाँटार, ढकाल गाउँ, बोझे
र अझ तलका मिलनचोकका डगरहरूमा सल्बलाउने पाइलाहरूले
हाम्रो माटोमा रमाउन चाहिरहेछ
हाम्रो बाटोमा हराउन चाहिरहेछ

तर म आफ्नो बाटो बिराउन चाहन्न
म आफ्नो माटो हराउन चाहन्न
चिन्नु भएन कोइराला बाजे ?
म उही चुर्ने कामी हुँ,
उही चुर्ने कामी †

प्रतिक्रिया