नेपाललाई राम्रो अवसर

काठमाडौं, १० चैत । एसियाली क्रिकेट परिषद् (एसिसी) टि–ट्वान्टी एलिट कपको चौथो संस्करण यसै साता काठमाडौंमा सुरु हँुदै छ । मंगलबारदेखि सुरु हुने यो प्रतियोगिता नेपालले लगातार दोस्रोपटक आयोजना गर्न लागेको हो । तर, यसपटकको आयोजना नेपालका लागि यत्तिमै सीमित छैन ।

पछिल्लो पटक अन्तर्राष्ट्रिय क्रिकेट खासगरी एसिसी लेभलमा राम्रो प्रदर्शन गरिरहेको नेपाललाई ठूला प्रतियोगितामा सहभागी हुन यो संस्करण अर्को राम्रो अवसरका रूपमा छ । आइसिसी टि–ट्वान्टी विश्वकपको एक मात्र छनोट प्रतियोगिताका रूपमा रहेको यस प्रतियोगीताबाट यसपटक कुल चार टोली विश्वस्तरको छनोटमा खेल्न पाउनेछन् । त्यसमा पनि एकदिवसीय मान्यता पाएका रूपमा अफगानिस्तान र विश्वस्तरको छनोट आयोजकका रूपमा युएई विश्वस्तरको छनोटमा प्रवेश गरिसकेका छन् ।
यसको मतलब एसिसीस्तरमा बलियो प्रभाव राखेका यी दुई टोलीबाहेकका बाँकी दुई टोलीमा अटाउन नेपाललाई त्यति गाह्रो छैन । त्यसमा पनि अफगानिस्तान र युएई नेपालको समूहमा नरहेका कारण कम्तीमा सेमिफाइनलसम्मको यात्रासमेत नेपाललाई विश्वस्तरको छनोटमा प्रवेश गर्न ‘काफी’ हुने देखिन्छ । यसै वर्षको नोभेम्बरमा युएईमा विश्वस्तरको छनोट हुनेछ । आगामी वर्षको मार्चमा बंगलादेशमा आइसिसी टि–ट्वान्टी विश्वकप हुनेछ ।
स्मरणीय छ, नेपालले दुई वर्षअघि घरेलु मैदानमा आयोजित पछिल्लो संस्करणमा ऐतिहासिक यात्रा तय गर्दै सेमिफाइनलसम्म पुगेको थियो र त्यसैका आधारमा युएईमा आयोजना भएको विश्वस्तरको छनोटमा समेत सहभागी भएको थियो । अर्को कुरा, छनोट भइसकेको र केही खेलाडी घाइते भएका कारण अफगानिस्तान र युएईले आफ्ना पहिलो रोजाइका खेलाडीलाई यसपटक पठाएको छैन । यसको अवसरका रूपमा उपाधिसम्मको यात्रा नेपाललाई तुलानात्मक रूपमा बढी देखिएको छ ।
एसिसीसँगै पछिल्लोपटक एकदिवसीय विश्वकप सहभागिता र एकदिवसीय मान्यताको खुड्किलाका रूपमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को वल्र्ड क्रिकेट लिग (डब्लुसिए)मा निकै राम्रो प्रदर्शन गरिरहेको नेपाललाई छनोट मात्र नभएर उपाधिकै लागि चुनौती दिनसक्ने टोलीका रूपमा हेरिएको छ । हाल डब्लुसिएलको डिभिजन थ्रीमा रहेको नेपालले गत अक्टोबरमा डिभिजन वानमा रहेको युएईसँग बराबरी गर्दै पहिलोपटक एसिसी ट्रफीको उपाधि जितेको थियो । युएईमा आयोजित उक्त प्रतियोगितामा नेपालले घरेलु टोलीलाई समूह चरणमा पराजित गरेर ठूलै सफलताका साथ नतिजा हात पार्‍यो ।
नेपालले समूह चरणमा मलेसिया, हङकङ, माल्दिभ्स र सिंगापुरको सामना गर्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । समूहमा नेपालका लागि बलियो प्रतिद्वन्द्वीका रूपमा हङकङ रहेको छ । गत संस्करणमा फाइनलसम्म पुगेको हङकङ यद्यपि नेपालसँगको प्राय: भिडन्तमा पराजित भएको इतिहास छ । गत संस्करणको समूह चरणसहित पछिल्ला दुई टी–ट्वान्टी भिडन्तमा नेपालले हङकङलाई हराएको थियो ।
सन् २००७ देखि सुरु भएको एसिसी टी–ट्वान्टी एलिट कपमा नेपालले पहिलो र दोस्रो संस्करणमा समूह चरण पार गर्न सकेको थिएन । पहिलो संस्करणमा बराबरी खेल्दै ओमान र अफगानिस्तान संयुक्त विजेता भएका थिए । सन् २००९ मा आयोजना भएको दोस्रो संस्करण फाइनलमा युएईलाई हराएर अफगानिस्तानले कब्जा जमाएको थियो ।
सन् २०११ मा आयोजित पछिल्लो संस्करणमा हङकङलाई सहजै पराजित गरेर अफगानिस्तानले उपाधिमाथि हयाट्रिक गर्‍यो । उक्त संस्करणमा साविक उपविजेताका रूपमा रहेको युएई समूह चरणबाटै बाहिरिएपछि आफ्नै देशमा आयोजित आइसिसी टी–ट्वान्टी विश्वकपको विश्वस्तरको छनोटमा सहभागी हुन सकेको थिएन ।
मुलुकबाहिर आयोजित प्रतियोगितामा समेत राम्रो प्रदर्शन गरिरहेको नेपाललाई यसपटक घरेलु मैदान बलियो ‘एडभान्टेज’का रूपमा रहनेछ । खासगरी नेपालको खेल हुँदा विगतमा १०औँ हजार दर्शकको उपस्थिति हुने गरेको त्रिवि मैदानमा घरेलु टोलीले निकै कठिन खेल दर्शककै हौसलामा जितेका कैयौँ घटना छन् । यसमा पनि टी–ट्वान्टी स्वरूपमा क्रिकेटमा घरेलु दर्शकको साथ नेपाललाई एक बलियो हतियारका रूपमा रहने निश्चित छ ।
यसका अतिरिक्त नेपाली टोलीको प्रदर्शनसमेत पछिल्लो समय तारिफयोग्य रहँदै आएको छ । खासगरी स्पिन बलिङमा बलियो प्रभाव देखाएको नेपालले विगतमा कमजोरीका रूपमा रहेको ब्याटिङमा समेत सुधार गरिरहेको छ । अनिल मण्डल, पारस खड्का र सुभाष खकुरेलले पछिल्ला केही महिनाभित्र ठूला टिमविरुद्ध बनाएका एकदिवसीय शतक र ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरीलगायत खेलाडीको विस्फोटक ब्याटिङ नेपालको सफलताका आधार बन्न सक्ने अवस्था छ । स्पिनरद्वय वसन्त रेग्मी र शक्ति गौचनबाट यसपटक धेरै आश गरिएको छ । पछिल्ला केही प्रतियोगितामा यी दुई खेलाडीको प्रदर्शन नेपालको सफलतामा महत्त्वपूर्ण रहेको थियो ।
आइसिसी प्रतियोगितामा सहभागी हुन लामो समयदेखि आतुर नेपाल त्यसतर्फ पछिल्लो समय क्रमश: अगाडि बढिरहेको पनि छ । गत टी–ट्वान्टी विश्वकपको विश्वस्तरको छनोटमा सहभागी १६ टिममध्ये नेपाल ७औँ भएको थियो । यसलगत्तै नेपाल बर्मुडामा हुने आइसिसी डब्लुसिएल डिभिजन थ्रीमा सहभागी हुँदै छ । ६ टिम रहने उक्त प्रतियोगितामा शीर्ष दुई स्थानमा रहे नेपालले सन् २०१५ को एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा खेल्न पाउनेछ । यसर्थ, अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उपस्थिति बलियो बनाउन नेपाललाई उपाधिसँगै यतिबेला ठूला प्रतियोगिताको छनोट खेल्नुसमेत उत्तिकै महत्त्वपूर्ण छ । एसिसी टी–ट्वान्टी एलिट कपमा पनि छनोट र उपाधि यात्रा नेपालका लागि उत्तिकै प्राथमिकतामा रहनेछन् । आइसिसी टी–ट्वान्टी विश्वकप र आइसिसी एकदिवसीय विश्वकपको विश्वस्तरको छनोट खेलेर विश्व क्रिकेटमा आफूलाई थप चिनाउन एसिसी टी–ट्वान्टी एलिट कप नेपालका लागि पहिलो चुनौतीका रूपमा रहने निश्चित छ ।
समूह ए : नेपाल, मलेसिया, हङकङ, माल्दिभ्स, सिंगापुर
समूह बी : युएई, अफगानिस्तान, ओमान, कुवेत, बहराइन

नेपालको खेल तालिका
१३ चैत – माल्दिभ्स
१४ चैत – हङकङ
१७ चैत – मलेसिया
१८ चैत – सिंगापुर
नोट : समूह चरणका नेपालका खेल सबै त्रिवि मैदान कीर्तिपुरमा सञ्चालन हुनेछन् ।

प्रतिक्रिया