म्यानमारमा पुन: जातीय दंगा

यंगोन : समय समयमा जातीय दंगा भइरहने म्यानमारमा पुन: अर्काे दंगा भड्किएको छ । म्यानमारमा बिहीबार भड्किएको दंगामा परी कम्तीमा १० जनाको ज्यान भएको म्यानमारका अधिकारीहरूले जनाएका छन् । म्यानमारको पश्चिमी राखिनी प्रान्तमा हिंसा भएको हो । अधिकारीहरूका अनुसार हिंसामा परी दर्जनौँ घाइते भएका छन् ।
मुस्लिम धर्मावलम्बी र बौद्धमार्गीबीच सो क्षेत्रमा हिंसा भड्किएको हो । सो प्रान्तमा विगतमा पनि यस्तै हिंसा मच्चिने गरेको छ जसबाट सयौँ मानिसको ज्यान गइसकेको छ । म्यानमारको प्रमुख प्रतिपक्षी दल नेसनल लिग फर डेमोक्रेसीका एक नेता विन एचटिनले राखिनमा त्यस्तो हिंसा जारी रहेको पुष्टि गरेका छन् ।  उनले सोही प्रान्तको एक सहर मिकटिलाबाट टेलिफोन गरी दिएको जानकारीअनुसार उनले १० वटा शव देखेका थिए । गत वर्षमात्र भएको यस्तो हिंसामा परी कम्तीमा पनि ८० जनाको ज्यान गएको थियो । (एएफपी)

प्रतिक्रिया