मध्यरातसम्म लाइब्रेरीमा थुनिए सांसद

therese_coffeyदुई बेलायती सांसद मध्यरातसम्म लाइब्रेरीमा थुनिएका छन् । बेलायतको तल्लो सदनका दुई प्रतिनिधि गत बुधबार हाउस अफ कमन्सको लाइब्रेरीमा यति धेरै व्यस्त रहे कि उनीहरूलाई घर जाने बेला भएको पनि हेक्का रहेन । सबै जना गइसकेको अनुमान गर्दै कर्मचारीले नियमितजसो लाइब्रेरीमा ताल्चा लाइदिएपछि उनीहरू आधा रातसम्म भित्रको भित्रै परे ।
काममा व्यस्त रहेका कन्जरभेटिभ पार्टीकी सांसद थेरेस काफे र लिवरल पार्टी सदस्य टेसा मुन्टले आफूहरू लाइब्रेरीमा फसेको र अन्जानवश कर्मचारीले ताल्चा लाइदिएको त्यति बेलासम्म थाहा पाएनन्, जति बेला उनीहरू आफ्नै सुरले घर जान तयार भए । तर, यति बेला रातको १२ बजिसकेको थियो ।
आफूहरू थुनिएको थाहा पाएपछि छटपटिएकी
थेरेसले तुरुन्तै ट्विटरमा लेखिहालिन्– ‘हामी कामका दौरान हाउस अफ कमन्सको लाइब्रेरीमा थुनिएका छौँ, ढोका खुल्ने आशमा प्रतीक्षा गरिरहेका छौँ ।’ ट्विटरमार्फत खबर फैलिएपछि करिब २० मिनेटपछि यी सांसदलाई त्यहाँबाट निकालिएको थियो । यसअघि उनीहरूले मद्दतका लागि चारचोटि फोन पनि गरिसकेका थिए । थेरेसले भनिन्– ‘कामका लागि हाउस अफ कमन्सको लाइब्रेरी निकै उत्तम छ । पौने आठ बजे बहस सकिएपछि म लाइब्रेरी छिरेकी थिएँ । यति व्यस्त भइछु कि घडी हेर्दा १२ बजिसकेको रहेछ । हत्तपत्त घर जाने सुरले ढोकातिर आएँ तर बाहिरबाट बन्द गरिसकिएको रहेछ ।’ (एजेन्सी)

प्रतिक्रिया