मतदाता नामावली संकलनमा अवरोध

धनकुटा : लेगुवा गाविसमा फोटोसहितको मतदाता नामावली संकलनमा नेकपा–माओवादीले अवरोध पुर्‍याएको छ ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाबाट खटिएका कर्मचारीलाई बिहीबार माओवादी कार्यकर्ताले अवरोध पुर्‍याएपछि मतदाता नामावली संकलन कार्य स्थगन भएको छ । नामावली संकलनमा अवरोधपछि सयौँ सर्वसाधारण त्यत्तिकै फर्किए । ‘असंवैधानिक’ तवरले प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठित अन्तरिम चुनावी मन्त्रिपरिषद्को राजीनामा, राष्ट्रिय सहमतिमा राजनीतिक दलको नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने माग राख्दै मतदाता नामावली संकलनमा अवरोध गरिएको नेकपा–माओवादी धनकुटा क्षेत्र नम्बर २ का इन्चार्ज नगेन्द्र गहतराजले बताए । माओवादीले अवरोध गरेपछि जिल्ला निर्वाचन कार्यालयबाट खटिएका दुई कर्मचारी पनि फर्किएका छन् ।
ठूला चार दलले रेग्मी नेतृत्वको सरकारमार्फत संविधानसभा चुनाव गर्न अन्तिम तयारी गरिरहेको तथा मतदाता नामावली संकलनले सरकारलाई सहयोग गर्ने भएकाले चुनाव असफल बनाउन नामावली संकलनमा अवरोध गरिएको गहतराजको भनाइ छ ।
मतदाता नामावली संकलन कार्य नियमित कार्यक्रम भएकाले अवरोध नपुर्‍याउन आन्दोलनरत पक्षसग आग्रह गरिएको जिल्ला निर्वाचन अधिकृत सुवर्ण घिमिरेले बताए । बुधबार कुरुलेतेनुपामा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले अवरोध गरेपछि मतदाता नामावली संकलन कार्य स्थगन भएको थियो । (सौस)

प्रतिक्रिया