धनगढी, ९ चैत । गाउँघरमा रोजगारीको अवसर नपाएपछि सुदूरपश्चिमबाट भारत जाने पुरानै चलन हो । तर, भारतबाट मजदुरी गरेर फर्किंदा धेरै नेपाली सीमावर्ती नाकामा लुटिने गरेका छन् । उनीहरूलाई भारतीयले नै पिछा गर्दै लुट्ने गरेको पाइएको छ ।
घर फर्कने नेपालीलाई भारतीय लुटेराले चियामा लट्याउने पदार्थ हाली तथा बिस्कुट खुवाएर बेहोस् बनाई लुट्ने गरेको प्रहरी बताउँछ । एकान्तमा बस रोकी केहीलाई कुटपिट गरी लुटपाट गर्ने गरेको धनगढीस्थित सीमा प्रहरी चौकी त्रिनगरले जनाएको छ ।
खान–लाउन समस्या भई जीवन गुजाराका लागि भारत पुगेका धेरै नेपाली सीमामा लुटपाटको घटनाले पिरोलिन थालेका छन् । जोहो टार्न कमाएर ल्याएको रकम लुटिएपछि सपना तुहिएको बैंलोरबाट फर्किएका बझाङ हेमन्तबाडाका सेरे कामीले बताए । ‘गाउँबाट ऋण गरेर भारत गए’, कामीले भने, ‘फर्कंदा लुटिएपछि परिवारको बोझसँगै ऋण थपिँदा निकै पीडा भएको छ ।’
कामी मात्र होइनन् रोजगारीका लागि भारत जाने अधिकांशले कमाएको रकम सीमामा जोखिममा पर्ने गरेको छ । सुरक्षित रेमिट्यान्सबारे जानकारी नहुँदा उनीहरूले कमाएको रकम हराउने, चोरिने सम्भावना बढी छ ।
भारतका विभिन्न सहर पुगेका नेपालीसँग कमाएको रकम कसरी सुरक्षित घर पठाउने जानकारी नभएको अछाम भागेश्वर–३ का धने दमाई बताउँछन् । भन्छन्, ‘गाउँकै चिनेजानेका व्यक्तिसँग रकम पठाउने गरेका छाँै ।’ आफन्तसँग पठाएको रकम पनि घरमा हात नपर्ने गरेको उनको भनाइ छ ।
सुदूरपश्चिमका अछाम, बझाङ, बैतडी, डोटी, दार्चुला र बाजुराका सबैभन्दा बढी व्यक्ति भारत पस्ने गरेका छन् । पहाडी जिल्लामा बैंक तथा वित्तीय संस्थाको पहुँच नहुनु र रेमिट्यान्सको जानकारी नहुनुले उनीहरू आफैंसँग वा आफन्तसँग रकम पठाउन बाध्य बनेका हुन् । भारतमा बैंकमा खाता खोल्न रासन कार्डलगायत अन्य आवश्यक प्रमाणपत्र चाहिन्छ । खाता खोल्न लाग्दा आवश्यक प्रमाणपत्र नभएर समस्या हुने गरेको कामीले बताए ।
केही वर्षयता बैंक तथा मनी ट्रान्सफरमार्फत घरसम्म सुरक्षित तवरले रकम पठाउने क्रम बढे पनि त्यसमा सबैको पहुँच पुग्न सकेको छैन् । भारतबाट बैंक तथा मनी ट्रान्सफरमार्फत रकम पठाउन प्रोत्साहन गर्न थालिएको धनगढीस्थित फाया नेपालले जनाएको छ ।
रोजगारीका लागि भारत पस्ने नेपालीको आधिकारिक तथ्यांक नभए पनि ९० प्रतिशतले खल्तीमै रकम बोकेर ल्याउने गरेको फायाका सुरक्षित रेमिट्यान्स तथा सुदृढ जीविकोपार्जन कार्यक्रमका संयोजक नित्यानन्द जोशीले बताए । जोशीका अनुसार नेपालीले कमाएको रकम सुरक्षित तवरले घर पुगोस भन्ने उद्देश्यले सुरक्षित रेमिट्यान्सबारे जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिँदै आएको छ ।
भारतबाट मजदुरी गरेर फर्कने नेपाली सिमावर्ती क्षेत्रमा लुटिने गरेको थाहा पाएपछि आफूले भारतीय अधिकारीलाई त्यसबारे जानकारी गराई नियन्त्रणका लागि केही पहल चालिएको कैलालीका सिडिओ रामप्रसाद थपलिया बताउँछन् । बैंक तथा मनी ट्रान्सफरमार्फत रकम पठाउन सबैलाई आग्रह गर्दै सिडिओ थपलियाले त्यसबाट पैसा पनि सुरक्षित हुने र ज्यान पनि खतरामा नपर्ने बताए ।
पछिल्ला दिनमा केही मात्रामा भारतबाट भित्रिने रेमिटयान्समा वृद्धि भए पनि जुन अनुपातमा रेमिटयान्स् भित्रिनुपर्ने त्यो नभएको नेपाल राष्ट्र बैंक धनगढी शाखाले जनाएको छ ।
प्रतिक्रिया