एनआरटी थ्री–स्टार पछ्याउँदै

Futbl-liga-nrt-after-scorinकाठमाडौं, ८ चैत । एनआरटी क्लबले रेडबुल ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि सम्भावनालाई कायम नै राखेको छ । बुधबार भएको खेलमा आरसिटीलाई २–१ ले पराजित गर्दै एनआरटी दोस्रो स्थानमा उक्लेको छ । एनआरटीको जित पछि दुई टोलीबीचको दूरी चार अंकमा झरेको छ । शीर्ष स्थानको थ्री–स्टारको ३९ तथा एनआरटीको ३५ अंक छ । तेस्रो स्थानमा रहेको मनाङ–मस्र्याङ्दी क्लबको ३४ अंक छ । सुपर एटको चौथो खेलमा नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब तथा मच्छिन्द्र क्लब र फ्रेन्ड्स क्लबका बीच बाँकी खेल पछि उपाधिको होडमा अन्य कुन टोली रहने भन्ने प्रस्ट हुनेछ । सुपर एट चरणमा एनआरटीले तीन जित हात पार्दै सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ ।

बुधबारको खेलमा एनआरटीका लागि सुवास गुरुङ ‘ए’ र र अकिनले गोल गरे । पराजित आरसिटीका लागि भीम दर्लामीले गोल गरे । २१औँ मिनेटमा सुबास गुरुङ ‘बी’ को क्रसमा सुवास गुरुङ ‘ए’ ले उत्कृष्ट प्लेसिङ गर्दै एनआरटीलाई अग्रता दिलाए । दोस्रो हाफको पहिलो मिनेटमा अकिनले त्यत्तिकै सानदार फिनिसिङ गर्दै एनआरटीको अग्रता फराकिलो बनाए ।
दुवै टोलीले निरस प्रदर्शन गरेको खेलमा आरसिटीका अमर डंगोल र शेखर लिम्बूले गोलका केही राम्रा अवसर गुमाए । खेल सकिँदा १० मिनेट बाँकी रहँदा युगलकिशोर राई रातो कार्ड पाएर बाहिर निस्के पछि आरसिटी १० खेलाडीमा सीमित भएको थियो । एनआरटीका प्रशिक्षक डिकेन सुवालले जितका बाबजुद टोलीले वास्तविक प्रदर्शन गर्न नसेकेको बताएका छन् । ‘उपाधिकै लागि भन्दैनौँ । तर, हामीले उपाधि जित्ने सम्भावना पनि देखिएको छ ।’ आरसिटीसँगको खेलपछि उनले भने ।

प्रतिक्रिया