बैंकिङ प्रविधि: सम्भावना र चुनौतीहरू

Meghnath-Dhakalनेपालमा सूचना प्रविधिको राम्रो पहुँच र प्रयोग भएको क्षेत्र बैंकिङ हो । प्राय: सबै बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सेवा दिइरहेका छन् । पुराना तथा सरकारको स्वामित्वमा रहेका बैंकहरूले पनि आफूलाई यस क्षेत्रमा प्रतिस्पर्धी बनाउन सफल छन् । तथापि यस क्षेत्रलाई अझै व्यवस्थित गर्न नसके यसले ज्यादै ठूलो क्षति निम्त्याउन सक्ने सम्भावनालाई त्यतिकै ध्यान दिनु जरुरी छ ।
अहिलेको समयमा कम्प्युटरमा बैंकिङ सफ्टवयरको प्रयोगबाट सेवा दिनु सामान्य र आधारभूत आवश्यकता भैसकेको छ । यसको प्रयोगलाई विस्तार र व्यापक बनाउँदै ग्राहकहरू समक्ष आधुनिक सेवा दिने प्रतिस्पर्धा चलिरहेको छ । इन्टरनेट प्रविधिको प्रयोगमार्फत कुनै निश्चित बैंकका जुनसुकै शाखा कार्यालयबाट सजिलै पैसाको कारोबार गर्न सकिन्छ । यस्तो सुविधालाई एबिबिएस सेवा भनिन्छ । यस्तो सुविधा प्राय: सबै वाणिज्य बैंकहरू र केही विकास बैंक तथा फइनान्स कम्पनीहरूले दिइरहेका छन् । एटिएम अर्थात् जुनसुकै समयमा पैसा निकाल्न सकिने मेसिनको सुविधा प्राय: सहरी क्षेत्रमा विस्तार भैसकेको छ । जसले गर्दा पैसाको आवश्यकता पर्नासाथ जहाँसुकैबाट पनि मेसिनको प्रयोगमार्फत आफूलाई चाहिएको रकम सजिलै निकाल्न सकिन्छ । यससँंगै जल्दोबल्दो रूपमा मोवाइल र इन्टरनेट बैंंकिङजस्ता सेवाहरू प्रयोगमा विस्तार भइरहेका छन् । यसबाट ग्राहकले आफ्नो खातासम्बन्धि सम्पूर्ण जानकारी घरमा बसेरै हेर्न सक्ने सुविधा प्राप्त गरेका छन् । त्यस्तै एउटा खाताबाट अर्कोमा सजिलै रकम सार्न सकिने जस्ता सुविधा विनाशुल्क नै उपभोग गर्न सक्छन् । यस्ता सुविधाहरू जनता तथा ग्राहकहरूसँग पुर्‍याउने क्रममा प्रत्येक संस्थाले आफ्नो आकर्षक वेव पेज बनाएका हुन्छन् जसले गर्दा सम्बन्धित बैंकले प्रदान गर्ने सेवा सुविधाहरू आफ्ना ग्राहकहरूले सजिलै थाहा पाउन र उपभोग गर्न सक्ने भएको छ ।
विभिन्न सञ्चारमाध्यममार्फत आफ्ना सेवाहरूको विज्ञापन पनि गर्दा यसलाई अझै सहज बनादिएको छ । चाहे विज्ञापनको लागि होस् वा सेवा सुविधा प्रयोगको लागि होस् सबैले आफूसँग सम्बन्धित प्रविधिलाई नै मुख्य तथा आकर्षक विषयवस्तु बनाएको पाइन्छ । आजको यस्तो प्रतिस्पर्धात्मक समयमा अटूट परिवर्तन भइरहने प्रविधिलाई आत्मासात गर्दै प्रयोगमा ल्याउनु प्रत्येक संस्था सफल हुने आधारस्तम्भ सावित भइरहेको छ । विश्व बजारमा बैंकिङ र व्यवसायिक तथा व्यपारीक क्षेत्रमा सँगसँगै दु्रतगतिमा विकास भइरहेको परिप्रेक्षमा नेपालमा पनि यसको विकास केही आशालाग्दो तबरबाट भइरहेको छ । सञ्चार सेवा प्रदायक संस्थाहरू बैंकिङ प्रविधिलाई समन्वय गरेर आफ्ना सेवा सुविधाहरू सर्वसुलभ रूपमा ग्राहकहरू समक्ष पुर्‍याउन अग्रस्थानमा रहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरण, एनसेललगायतका सेवा सुविधा खरिद गर्नको लागि यथास्थानमा नै रही मोवाइल एसएमएसमार्फत बैंकमा रहेको आफ्नो खाताबाट भुक्तानी हुनेगरि रिचार्ज किन्न तथा कुनै पनि सेवाको बिल भुक्तानी गर्न सकिन्छ । बैंकिङ भाषामा यसलाई पे बिल सेवा भन्छन् । साथै अन्य आधुनिक र व्यवस्थित व्यापारिक केन्द्रहरूले बैंकसँग समन्वय गर्दै इन्टरनेट प्रविधिको प्रयोग गरेर घरमा वा यथास्थानमा नै रहेर कुनै पनि सामान खरिद गर्ने, फिल्म हेर्नको लागि टिकेट बुक गर्ने इत्यादि सेवा सुरु गरिसकेका छन् । यसलाई बैंकहरूले वेव मच्र्यान्ट सेवा भन्छन् । यस्तो सुविधालाई धेरै व्यापक र विस्तार गर्न सकिए यसको प्रभाव समग्र राष्ट्रको विकास र चिनारीमा पर्न गई हाम्रो गौरवको विषय बन्न सक्छ । तसर्थ सम्पूर्ण सरकारी, गैरसरकारी तथा निजी व्यवसायिक क्षेत्रहरूले बैंकसँग समन्वय गरी आफ्नो सेवालाई छिटो, प्रविधियुक्त र प्रभावकारी बनाउनु आवश्यक छ ।
जुनसुकै विकासक्रम निरन्तर चलिरहने प्रक्रिया हो । अटूट विकासक्रमको उपज स्वरूप शाखारहित बैंकिङ सेवाबाट गाउँगाउँसम्म बैंकहरू पुर्‍याउन सहज भइरहेको छ । यो विशेष किसिमको यन्त्र र सम्बन्धित बैंकले तोकेको एजेन्टको माध्यमबाट संचालन हुने सेवा हो । पैसा जम्मा गर्न र खर्च गर्न सहज हुने हुँदा यसलाई आवयकता अनुसार ग्रामीण तथा सहरी क्षेत्रमा स्थापना गर्न सकिन्छ । यसबाट बैंकिङ क्षेत्रमा जनताको पहँुच बढ्ने तथा सस्तो, सुरक्षित र सरल सेवाप्रदान गर्न सकिने हुँदा यो प्रविधि छिटो गतिमा विकास भइरहेको छ । यस्तै भर्खरै सुरु भइरहेको अर्को प्रविधि भनेको पैसा जम्मा गर्ने मेसिनको प्रयोग हो । यसको प्रयोग सामान्य रूपमा गर्न सकिन्छ । टच स्क्रिन सहितको मोनिटरमा आफ्नो खाता नम्बर हालेर त्यसलाई समर्थन गरिसकेपछि च्याम्बरमा राखेको नोटलाई एकएक गर्दै मेसिनको भल्टमा तान्छ र सँगसँगै सम्बन्धित खातामा जम्मा भइरहेको हुन्छ । यसमा प्रयोग हुने नोटहरू सफा र नच्यातिएका हुनुपर्छ । संकास्पद र नक्कली नोटहरूको पहिचान गर्न सक्ने र आवश्यकताअनुसार जहाँसुकैबाट रकम जम्मा गर्न सकिने हुँदा यसको धेरै महत्त्व रहेको छ । नेपालमा यसको प्रयोग एभरेस्ट बैंक र राष्ट्रि्रय वाणिज्य बैंकले यसै वर्षबाट सुरु गरिसकेका छन् ।
संसारमा सुरु भएका जुनसुकै आधुनिक विकाससँगै उत्तिकै चुनौती पनि आइरहेका हुन्छन् । बैंकिङ प्रविधिमा हुनसक्ने सम्भाव्य दुर्घटनाहरूलाई व्यवस्थित र सुरक्षित गर्नु यस क्षेत्रसँग सम्बन्धित अग्रणीहरूको मुख्य एजेन्डा हुनु जरुरी छ । यसको गलत प्रयोग गरी बैंकिङ अपराध गरिएका घटनाहरू बेलाबेलामा सुनिने गरेका छन् । यसमा प्रविधि प्रयोगकर्ताले जानेर या नजानेर प्रविधिको गलत प्रयोग भएको हुनसक्छ । अपराध गर्ने ध्येयले कुनै पनि तरिकाबाट गोप्य राख्नुपर्ने पासवर्ड र सूचनाहरू पत्ता लगाउनु, कम्प्युटर ह्याकिङ गर्नु इत्यादि जानेर गर्ने अपराधिक क्रियाकलाप हुन् । अर्कोतर्फ सिस्टममा हुने समस्याहरूले गर्दा गलत कारोबार हुनसक्ने, अत्यावश्यक डाटाहरू मेटिने र चुहावट हुने इत्यादि दुर्घटना हुन सक्छन् । साथै दैवीप्रकोपबाट हुनसक्ने दुर्घटनाबाट बच्न समयमै उचित सावधानी अपनाउनु जरुरी हुन्छ । यसरी सम्भाव्य जोखिमहरूबाट बच्न मुख्यत: प्रविधिलाई संचालन गर्ने व्यक्तिहरू सम्बन्धित क्षेत्रमा दक्ष, विश्वसनीय र अनुभवी हुनु जरुरी हुन्छ । यो आफैँमा संवेदनशील क्षेत्र भएकाले सम्बन्धित व्यक्तिले प्रविधि प्रयोगकर्तालाई समेत सचेत गराउन सक्ने र उनीहरूको निगरानी तथा मूल्यांकन गर्न सक्ने क्षमता भएको हुनु जरुरी हुन्छ । प्रविधिमा हुने त्रुटिहरूलाई समयमै सच्याई हिसाबलाई दुरुस्त राख्न पनि प्राविधिक जनशक्तिको सही र समयसापेक्ष परिचालन हुनु आवश्यक छ । यससँगै विश्वसनीय र गुणस्तरीय विद्युतीय सामग्रीको प्रयोगमा ध्यान दिनुपर्छ । जसले गर्दा निरन्तर सेवा प्रदानमा कुनै पनि बाधा अवरोध नआई सेवाको गुणस्तर कायम राख्न सकियोस् ।
द्रुतगतिमा भइरहेको प्रविधिको विकासलाई समग्र नेपाली जनताको पहुँचसम्म पुर्‍याउनु एउटा अर्को ठूलो अवसर र चुनौतीको विषय बनिरहेको छ । प्रविधिको विकासले थोरै जनशक्ति परिचालनबाट छिटो रूपमा धेरै काम गर्न सकिन्छ । जसले गर्दा आन्तरिक खर्चमा कमी आई बढी मुनाफा कमाउने सम्भावना बढी हुन्छ । तसर्थ यसको उचित प्रयोगले समग्र वित्तीय स्थितिमा सुधार आई समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न जान्छ । यद्यपि हाम्रो देशमा अधिकांश ग्राहकहरूले आफूसँग उपलब्ध सेवालाई बुझ्ने तथा प्रयोग गर्न नसक्ने अवस्था विद्यमान छ । यस्तो वास्तविक तीतो सत्यलाई बुझ्दै नेपालका प्रत्येक बैंकर्सहरूले आ–आफ्नो ठाउँबाट योगदान दिादै यस क्षेत्रको विकास, प्रवद्र्घन र प्रयोगलाई बढावा दिनु आजको मुख्य आवश्यकता हो ।

प्रतिक्रिया