जिपीको स्मृति र सिक्नुपर्ने पाठ

बुधबार परेको स्मृति दिवससँगै ठीक तीन वर्ष पूरा भएको छ– पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला दिवंगत भएको । यो अवधिमा उनको रिक्तता आमरूपले राजनीतिकवृत्तमा निकै नै महसुस गरिएको छ । विशेषगरी जुन उचाइ उनले जीवनको उत्तरार्धमा हासिल गरेका थिए, त्यही उचाइको अर्को कुनै व्यक्तित्व राजनीतिको रंगशालामा नदेखिएको हुँदा उल्लिखित रिक्तताको आयतन अझ बढेको हो । त्यसो त धेरैजसो विवादास्पद व्यक्तित्व बनेका कोइराला जीवनको अन्तिम कालखण्डतिर भने मुलुकको राजनीतिका लगभग शीर्ष व्यक्तित्व बन्न सफल भएका थिए । खासगरी मुलुकबाट शताब्दिऔँ पुरानो राजतन्त्रलाई नारायणहिटीबाट हटाएर इतिहासको रछ्यानमा मिल्काउन र विषम परिस्थितिबीच पनि पहिलोपटक संविधानसभाको निर्वाचन गराउनसमेतका दुई युगान्तकारी परिघटनामा कोइरालाको भूमिका निर्णायक र प्रशंसनीय रह्यो ।
गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिका त्यस्ता एक मात्र पात्र हुन् जसले सबैभन्दा धेरै गाली र सबैभन्दा धेरै ताली पाए । प्रस्ट वक्ता, आँटिला नेता र कुशल संगठकको छवि बनाएका कोइराला सुरुमा दाजु विश्वेश्वरप्रसाद कोइराला र सुवर्ण शमशेरको छायामुनि हराइरहे भने पछि ‘नेतात्रय’ को अवधारणा कायम रहेका बेला पनि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका व्यक्तित्वले ओझेलमा परे । पार्टी संगठनभित्र सबैलाई समेट्नेभन्दा पनि आफ्नो एउटा ‘कोटेरी’ बनाएर राजनीतिमा अगाडि बढ्ने रणनीति उनले बनाएका थिए । छयालीस सालको जनआन्दोलनको सफलतासँगै टुँडिखेल खुलामञ्चमा पहिलोपटक भाषण गर्दै ‘माले, मण्डले र मसाले एउटै हुन्’ भनेपछि उनले अकल्पनीय हुटिङको सामना गर्नुपरेको थियो र भाषण समाप्त नहुँदै हठात् अपमानित ढंगले बस्नुपरेको थियो । पछि ०४७ सालको निर्वाचनमा नेता भट्टराईको आश्चर्यजनक पराजयपछि कोइराला पहिलोपटक यो देशका प्रधानमन्त्री बनेका थिए । त्यसउप्रान्त उनी पटकपटक प्रधानमन्त्री बने । तर, यो अवधिमा उनले नेपाली कांग्रेसको संसदीय बहुमत रहेको सरकार विघटन गर्दै देशलाई अनावश्यक तरिकाले मध्यावधि निर्वाचनमा धकेलेका थिए । उनको अदूरदर्शी र एकलकाँटे निर्णयले मुलुकको वर्तमान दुर्दशाको वीजारोपण गरेको हो भनेर मान्नेहरू धेरै बुद्धिजीवी छन् । लोकतान्त्रिक मूल्य र मान्यताविरुद्ध कहिल्यै सम्झौता नगरेका कोइराला लामो समयसम्म कम्युनिस्ट–निन्दक बनेर चिनिन्थे तर पछि मुलुकको यथार्थलाई अंगीकार गर्दै उनले वामपन्थीहरूसित सहकार्य गर्दै राजनीतिलाई अगाडि बढाए । कुनै राजनीतिक ज्ञान र पहिचान नभएकी छोरी सुजातालाई जबस्र्जस्ती राजनीतिमा डोहोर्‍याएको कुराले पनि उनी उत्तिकै विवादमा मुछिइरहे । विविध कारणले नेपालको प्रथम राष्ट्रपति बन्ने उनको महत्त्वाकांक्षा पनि पूरा हुन सकेन । यद्यपि, कोइरालाको जीवनको पूवार्धभन्दा पनि नेपाली राजनीतिलाई निर्दिष्ट गर्ने उनको मध्य र उत्तराद्र्धको राजनीतिक जीवन अहिलेका नेताहरूका निम्ति सिकाइ बन्न सक्छ ।
विसं ०५२ सालमा माओवादी विद्रोह सुरु हुँदा कोइरालाले नेतृत्व गरेको पार्टीले सरकारको बागडोर सम्हालेको थियो । पछि उनी प्रधानमन्त्री बनेकै बेला माओवादी विद्रोह सशस्त्र स्वरूप धारण गर्दै मुलुकभरि व्याप्त भएको थियो । समाजमा विद्यमान सामाजिक, आर्थिक, राजनीतिक र राष्ट्रियता, जनजीविका आदिसँग सम्बन्धित विषयप्रति जनतामा जागेको वितृष्णालाई उपयोग गरी माओवादीले सशस्त्र विद्रोहको शंखघोष गरेको थियो । ०४६ सालपछिको राजनीतिक परिवर्तनबाट जनताले अपेक्षा गरेअनुरूप परिवर्तनको अनुभूति गर्न नसकेपछि यसले माओवादी विद्रोहलाई शिखरमा पुर्‍याउन सघाएको थियो । त्यसैले यसलाई स्वीकार गर्नैपर्छ, ०४६ सालको परिवर्तनपछि जीवनको अन्तिम समयसम्म राजनीति तथा सत्ताको मियो बन्न सफल कोइराला नेपालमा १० वर्षे हत्या–हिंसाका क्रममा भएका यावत् क्षतिका मुख्य कारणमध्ये एक हुन् । प्रजातन्त्र सुदृढीकरण, राष्ट्रियता सम्बद्र्धन र जनताको जनजीविकाप्रति ०४६ सालको जनआन्दोलनले व्यवहारगत रूपमा सुधार ल्याउन नसक्नुमा यस अवधिका शीर्षनेतामा रहेको भिजनको अभावलाई दोषी ठहर्‍याउन सकिन्छ ।
नयाँ संविधान बन्न नसकिरहेको अहिलेको अवस्थामा मुलुक संक्रमणकालबाट गुज्रिँदै छ । दुर्भाग्यवश, यो संक्रमणकाल निकै लामो हुँदै गइरहेको छ, जुन अन्तत: देश र देशवासीका लागि हितकर हुन सक्दैन । भित्र–भित्र सल्काइँदै गरेको जातीय विद्वेषले अहिले मुलुक हिंसाको भुंग्रोमाथि रहेको भान हुन्छ । यसले गर्दा कुनै पनि समय मुलुक बृहत्तर हिंसाको चपेटामा पर्नसक्ने अवस्थालाई नकार्न सकिँदैन । हिजोको भन्दा आजको अवस्था कुन अर्थमा थप जटिल छ भने हिजो माओवादी र राज्यसँग द्वन्द्वको लगाम थियो । अहिले त्यो अवस्था छैन । हिंसा भड्किएको अवस्थामा मुुलुकभरि स–सानो स्तरमा हिंसाका शृंखलाहरू आरम्भ हुनेछन् र यस्तो हिंसा रोक्न राज्यलाई धेरै कठिन हुने विभिन्न अन्तर्राष्ट्रिय घटनाले समेत पुष्टि गरिसकेका छन् । यस्तो अवस्थामा हाल राजनीतिको शीर्षमा देखिएका नेताहरूले स्व. गिरिजाप्रसाद कोइरालाले गरेका गल्तीहरूबाट सिकेर मुलुकलाई अगाडि बढाउनेतर्फ ध्यान केन्द्रित गर्न सक्नुपर्छ । कोइरालाबाट संघीय लोकतान्त्रिक गणतन्त्र निर्माणका निम्ति यथोचित पाठ सिक्नु नै उनको स्मृति दिवसको सान्दर्भिकता पनि ठहरिनेछ ।

प्रतिक्रिया