तीन महिनापछि खुल्यो विश्वविद्यालयको ताला

सुर्खेत, ७ चैत्र । तीन महिना अघि लगाइएको विश्वविद्यालयको ताला बुधबार खोलिएको छ ।
विभिन्न विद्यार्थी संगठनहरुले पुस ३ गते केन्द्रीय कार्यालय र काठमाडौंमा रहेको सम्पर्क कार्यालयमा  तालाबन्दी गरेका थिए । आन्दोलनरत विद्यार्थीहरु र विश्वविद्यालयका पदाधिकारीहरुबीच मंगलबार राती साढे २ बजे १७ बुदे सहमति भएपछि ताला खोलिएको हो । विश्वविद्यालय सबैको धरोहर भएकोले यसको विकासको लागि लाग्नु पर्छ भन्नेमा सबै पक्ष सहमत भएकाले लामो समयदेखिको अन्यौलता चिर्न सफल भएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. पदमलाल देवकोटाले बताए ।
मंगलबार राती भएको सहमतिमा विश्वविद्यालयमा अध्यापन हुने मानविकी र शिक्षा संकाय तर्फका साधारण विषयमा त्रिभुवन विश्वविद्यालयको भन्दा ३५ रुपैंया कम शुल्क लिइने सहमति भएको छ । अन्य प्रयोगात्मक विषयहरुमा भने पहिले नै त्रिविको भन्दा कम शुल्क भएकोले घटाइएको छैन् । त्यस्तै शिक्षक तथा कर्मचारी नियुक्तिका सम्बन्धमा एक हप्ताभित्र विज्ञापन आव्हान गर्ने र परीक्षामा सहभागि नहुनेलाई नियुक्ति नदिने सहमति भएको छ । केन्द्रीय कार्यालयबाट नै सबै काम संचालन गर्ने, विश्वविद्यालयको सभा पनि सुर्खेतमै गर्ने, विश्वविद्यालयमा अध्ययन गर्ने १२ प्रतिशत विद्यार्थीलाई निशुल्कबृत्तिको व्यवस्था मिलाउने, विश्वविद्यालयलाई राजनीतिक भागबन्डाबाट टाढा राख्ने, भौतिक पूर्वाधार निर्माणलाई तिव्रता दिने लगायतका सहमति भएको उपकुलपति देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया