माथिल्लो तामाकोसी निर्धारित समयमा पूरा नहुने

uppar tamakosiचरिकोट, ७ चैत । माथिल्लो तामाकोसी हाइड्रो पावर लिमिटेड निर्धारित समयमा पूरा नहुने भएको छ । चिनियाँ ठेकेदारले निर्माण उपकरण र बिस्फोट पदार्थ आयात गर्न लामो समय लागेको र अन्य विविध कारण देखाउँदै निर्माण अवधि बढ्ने कुरा पेस गरेपछि निर्धारित समयमा पूरा हुन नसक्ने भएको हो । आयोजनाले सिभिल निर्माणसँग समन्वयात्मक ढंगले अघि बढाउनुपर्ने लट नं. २ र ३ को खरिद सम्झौता हुन ढिलाइ भएकाले निर्धारित समयमा आयोजना सम्पन्न गर्न नसक्ने बताएको छ ।

चरम लोडसेडिङको समस्या भोगिरहेका बेला मुलुककै सबभन्दा ठूलो आयोजनाबाट विद्युत् उत्पादन निर्धारित समयभन्दा आठ महिना ढिलो सुरु हुने स्थिति उत्पन्न हुनु दु:खद भएको ऊर्जा मन्त्रालयका एक  उच्च अधिकारीले बताए । ती अधिकारीले चिनियाँ ठेकेदार कम्पनी सक्रिय रूपमा लाग्न नसकेको कारण पछिल्लो समयमा भनेको भन्दा अझ ढिलो सम्पन्न हुनसक्ने चिन्ता प्रकट गरे ।
चिनियाँ ठेकेदारका कारण निर्माणाधीन सबभन्दा ठूलो चार सय ५६ मेगावाटको जलविद्युत् आयोजना माथिल्लो तामाकोसीबाट निर्धारित मितिभन्दा आठ महिना ढिलो अर्थात् ०७३ जेठदेखि मात्र पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु हुने भएको छ । माथिल्लो तामाकोसीले ऊर्जा मन्त्रालयलाई बुझाएको मासिक प्रगति प्रतिवेदनमा सिनो हाइड्रोका कारण आयोजनाबाट व्यापारिक उत्पादन निर्धारित मितिभन्दा ढिलो सुरु हुने उल्लेख छ ।
सिभिलतर्फ ठेकेदार र परामर्शदाताबीच एक वर्षअघि आयोजनाको सबै निर्माण सम्पन्न गरी ०७२ असोजदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने सहमतिअनुसार कार्य हुन नसकेको उल्लेख गर्दै तामाकोसी हाइड्रो पावरले मन्त्रालयलाई माथिल्लो तामाकोसी आयोजना निर्धारित समयमा सम्पन्न नहुने जानकारी गराएको पनि स्रोतले बतायो । चिनियाँ ठेकेदारका कारण आयोजनाको निर्माण अवधि लम्बिदा लागतसमेत बढ्ने चिन्ता तामाकोसीका एक उच्च अधिकारीले व्यक्त गरे । तर, मन्त्रालयमा बुझाएको प्रतिवेदनमा लागत बढ्नेबारेमा केही पनि उल्लेख गरिएको छैन ।
सिभिलतर्फको मुख्य संरचना भूमिगत विद्युत् गृह निर्माण कार्यमा चिनियाँ ठेकेदारको कमजोरीका कारण केही ढिलाइ हुने देखिएकाले उच्च व्यवस्थापन टोली खटाई समस्या समाधान गर्न र निर्माण तालिका सम्बन्धमा गहन छलफल गरी प्रस्ताव पेश गर्न आग्रह गरिएको आयोजनाका एक अधिकारीले बताए ।
लट नं. १, २ र ३ का ठेकेदारसित वार्ता गरी आयोजनाको निर्माण सम्पन्न हुने नयाँ मिति तय भएको उल्लेख गर्दै माथिल्लो तामाकोसीले विद्युत् गृहका युनिटबाट दुई–दुई महिनाको फरकमा व्यापारिक उत्पादन गर्ने समझदारी भएको प्रतिवेदनमा उल्लेख छ । पहिलो युनिटबाट ०७२ चैतभित्र ४ युनिट तथा ०७३ जेठ महिनाभित्र आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी सबै युनिटबाट पूर्ण क्षमतामा चार सय ५६ मेगावाट विद्युत् उत्पादन हुने आयोजनाका एक अधिकारीले बताए ।
लट नं. १ अर्थात् सिभिलतर्फको चिनियाँ ठेकेदार कम्पनी र परामर्शदातासित एक वर्षअघि भएको सहमतिमा ०७२ असोजभित्र सो आयोजनाबाट ६ वटै युनिटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने समयतालिका निर्धारण गरिएको थियो । चिनियाँ ठेकेदारको कमजोरीका कारण सहमतिअनुसार तय गरिएको समय तालिकाभन्दा आठ महिना ढिलो विद्युत् उत्पादन हुनसक्ने अवस्था आएको तामाकोसीका साइड प्रमुख विमल गुरुङले बताए ।
चिनियाँ ठेकेदारका कारण निर्माणमा ढिलाइ भए पनि आयोजना सुरु गर्दा पहिलो युनिटबाट ०७२ जेठ, चार वटा युनिटबाट ०७२ कात्तिकभित्र तीन सय नौ मेगावाट र सबै ६ युनिटबाट ०७२ चैतभित्र उत्पादन गर्ने निर्धारित तालिकाभन्दा ढिलो नहुने दाबी आयोजना प्रमुख विज्ञान श्रेष्ठको छ ।

प्रतिक्रिया