रोजगारीका लागि ५५ हजार बिदेसिए

काठमाडौं, ७ चैत । वैदेशिक रोजगारीका लागि फागुनमा ५५ हजारभन्दा बिदेसिएका छन् । स्वदेशमा प्रशस्त रोजगारी नभएपछि काम खोज्दै बिदेसिनेको संख्या बढी रहेको समयमा चालु आवको फागुनमा वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिएर ३९ हजार एक सय एक र पुन: श्रम स्वीकृतिमा १६ हजार तीन सय ३८ जना रोजगारीमा गएका हुन् । अन्तिम श्रम स्वीकति र पुन: श्रम स्वीकृति गरेर फागुनमा ५५ हजार चार सय ३९ जना रोजगारीमा गएका छन् ।

विभागका अनुसार फागुनमा अन्तिम श्रम स्वीकृतिमा ३६ हजार चार सय ९१ पुरुष र दुई हजार ६ सय १० जना महिला रोजगारीका लागि विदेश गएका छन् । यो संख्या गत आवको सोही अवधीको तुलनामा ४९ दशमलव ४० प्रतिशत बढी हो । गत आवको फागुनमा २६ हजार एक सय ७२ जना अन्तिम श्रम स्वीकृतिमा रोजगारीमा गएका थिए ।
विभागका अनुसार चालु आवको फागुन मसान्तसम्ममा अन्तिम श्रम स्वीकृति लिएर बिदेसिनेको संख्या दुई लाख ७६ हजार सात सय ८७ जना पुगेको छ । यो संख्या गत आवको सोही अवधीको तुलनामा समेत ३५ दशमलव नौ प्रतिशत बढी रहेको जनाइएको छ । गत आवको फागुनसम्ममा दुई लाख चार हजार आठ सय ८७ जना थियो । यस्तै, पुन: श्रम स्वीकृति लिएर बिदेसिनेको संख्यासमेत एक लाख आठ हजार एक सय ९४ जना पुगेको छ ।
मुलुकभित्र रोजगारीको सिर्जना नहुनु तथा राजनीतिक अस्थिरताका कारण बिदेसिनेको संख्या प्रति महिना बढ्दै गएको विभागले जनाएको छ । विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई रोजगारीको भरपर्दो अवस्था नभएकै कारण प्रति महिना अन्तिम श्रम स्वीकृति लिने पुन: रोजगारीमा जानेको संख्या बढ्दै गएको बताउँछन् । गत आवको तुलनामा चालु आवको फागुनसम्ममा अन्तिम श्रम स्वीकृतिमा बिदेसिने ७१ हजार नौ सय जना बढी रहेको जनाइएको छ ।
चालु आवको फागुनमा सबैभन्दा बढी कामदार रोजगारीका लागि मलेसिया गएका छन् । फागुनमा १२ हजार पाँच सय ४६ जना रोजगारीका लागि मलेसिया गएका छन् । यस्तै, यो महिना नेपाली कामदारको दोस्रो श्रम गन्तव्य कतार भएको छ । फागुनमा आठ हजार एक सय ४३ जना कतार गएका छन् । यस्तै, साउदी जानेको संख्या ६ हजार सात सय ५६ जना छन् भने युएई जाने पाँच हजार ६ सय ७८ जना रहेको विभागले जनाएको छ ।
चालु आवको फागुनसम्ममा मलेसिया जानेको कूल संख्या एक लाख एक हजार पाँच सय २६ छ भने साउदीमा ५४ हजार सात सय ६२, कतार ४८ हजार नौ सय २८ र युएई जानेको संख्या ३४ हजार चार सय दुई जना पुगेको छ । मलेसिया नेपाली कामदारको पहिलो श्रम गन्तव्य मुलुक हो । अहिले पनि मलेसियामा आट लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन् । नेपाली कामदारको श्रम गन्तव्य मलेसिया र खाडी मुलक नै भएकाले कुल बिदेसिने मध्ये ९५ प्रतिशत कामदार ती मुलुक जाने गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया