नेविसंघसित दिनदिनै लडाइँ हुन्थ्यो

Thakur-Gaire०४६ सालको परिवर्तनसँगै मेरो कलेज जीवन सुरु भयो । पाल्पा मेरो घर । तानसेनसँगै जोडिएको बरांगी गाविसस्थित श्रीवेद माविबाट एसएलसी सकेको थिएँ । स्कुलदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिएँ । कार्यक्रम भइरहने भएकाले स्कुलमै छँदा पनि कलेजतिर बेलाबखत पुगिन्थ्यो ।
एसएलसी पास भएपछि तानसेनमा रहेको त्रिभुवन बहुमुखी क्याम्पस भर्ना भएँ, म्यानेजमेन्ट विषय लिएर । पहिले पनि आइसकेकाले कलेजका केही विद्यार्थी र भौतिक वातावरणसँग परिचित नै थिएँ । तर, भाषण सुन्न जानु र आफैँ विद्यार्थी भएर जानुमा केही फरक हुँदो रहेछ । नयाँ अनुभव, नयाँ साथी । आफू अलि परिपक्व भएजस्तो, जिम्मेवारी थपिएजस्तो लाग्दो रहेछ । साँघुरो वातावरणबाट फराकिलो वातावरणमा प्रवेश गरेजस्तै लाग्यो ।
स्कुलमा छँदा पनि कलेज पुग्न पाए केके न होला भन्ने थिएन । सामान्य प्रक्रिया सोचेको थिएँ, भयो पनि त्यस्तै । थियो । कलेज प्रवेश गर्दा अनेरास्ववियुको प्रारम्भिक कमिटीमा संगठित थिएँ । ०४६ को आन्दोलनको माहोलले छोडेको थिएन । पढाइसँगै राजनीतिक जिम्मेवारी पनि बढ्दै थियो ।
विद्यार्थीजीवनमा छँदै सामाजिक काम गरेवापत सार्वजनिक मुद्दा खेप्नुपर्‍यो । म रेडक्रसमा आबद्ध थिए । एकचोटि रेडक्रसको कोषवृद्धि गर्ने उद्देश्यले गाडी रोकेर चन्दा उठाउन थाल्यौँ । त्यही क्रममा एउटा बिहेको गाडी आयो । उनीहरूले चन्दा नदिने भन्दै अड्डी लिए । हामी पनि के कम † चन्दा नदिए बाटो छोड्दैनौँ भनेर कसियौँ । उनीहरूले प्रहरी लगाएर मलगायत केही साथीलाई गिरफ्तार गराए । प्रहरीले त केही समयमै छाडिदियो तर दुई दिनसम्म जिल्ला प्रशासन कार्यालय धाउनुपर्‍यो ।
हामी क्रान्तिकारी विद्यार्थी कहलिएका थियौँ, नयाँ कुरा गर्न खोज्ने । गाउँको चारपाते क्लबमा म पनि आबद्ध थिए । केही नयाँ काम गर्ने सोच बनायौँ । गाउँमा ब्राह्मणको छोराले हलो जोत्ने चलन थिएन । हामी केही ब्राह्मण युवा मिलेर हलो जोत्यौँ । गाउँभरि हल्लीखल्ली मच्चियो । परिवार र आफन्तको हप्की खायौँ ।
टेस्ट पास हुँदा नौ कक्षामा पढने साथीहरूले बिदाइ कार्यक्रम राखेका थिए । सबैबाट पैसा उठाएर खसी काटिएको थियो । कसैले खसीको मासुमा भाङ हालिदिएछ । मासु चिउरा खाएका सबै बिरामी भए । त्यो घटनाले अभिभावकको बीचमा ठूलो विवाद उत्पन्न भयो । बल्लबल्ल सम्हाल्यौँ ।
कलेजमा हाम्रो र नेविसंघको बीचमा सधैँजसो लडाइँ हुन्थ्यो । धेरैपटक कुटाइ खाएँ । कयौँपटक झुट्टा मुद्दा खेपियो । हामीलाई कलेज प्रशासनले पनि बिनाकारण दु:ख दिन्थ्यो । धेरैपटक प्रहरी हिरासतमा बसियो । राजनीति गरेबापत तीन वर्षसम्म सार्वजनिक मुद्दा खेपेँ ।
कलेजमा पिकनिकको माध्यमबाट संगठन बिस्तार गथ्यौँ । पिकनिकमा हजार पन्ध्र सयको सख्यामा विद्यार्थी–सहभागिता हुन्थ्यो । रमाइलोभन्दा पनि अनुभव आदानप्रदान र भेटघाटको माध्यमका रूपमा आयोजना गथ्र्यौं । कलेजमा रहँदा विद्यार्थीको समस्या सुन्ने, संगठन बनाउने अनि प्रशासनसँग वार्ता गर्दैमा समय बित्थ्यो । पढाइ राम्रो बनाउनतिर सोच्नै भ्याइँदैनथ्यो । पढाइलाई भन्दा संगठनलाई प्रमुख मान्दैमा बिते कलेजका दिन । म विद्यार्थीभन्दा बढी नेताका रूपमा चिनिन्थेँ । नयाँ विद्यार्थीलाई भर्नामा सहयोग गर्ने अनि गाउँबाट आएकालाई कोठा खोज्नेजस्ता काममा पनि संगठन परिचालन गरिन्थ्यो ।
स्कुल पढ्दा भागीभागी सिनेमा हेर्न जाने बानी भने कलेज आएपछि पातलिएको थियो । सुरुसुरुमा अलिअलि हेरियो । बिस्तारै सबैले नेता भनेर चिन्न थाले । जिम्मेवारी बढ्दै गयो । सिनेमा हल जाने क्रम पनि हराउँदै गयो ।
पाल्पाबाट बिकम गरेसँगै मेरो संगठनात्मक जिम्मेवारी पनि बढ्यो । जिल्लाबाट केन्द्रीय कमिटीमा आएँ । बसाइ पनि काठमाडौंतिरै सर्‍यो । यहाँ आएर टियुमा भर्ना भएँ तर पढाइले गतिलिन सकेन । कलेजका किताबभन्दा अन्तर्राष्ट्रिय राजनीतिका किताबमा बढी ध्यान जान्थ्यो । पढाइमा भन्दा भाषण सुन्न र सुनाउनमा समय बित्थ्यो । अनि कसरी सप्रियोस् पढाइ ? विद्यार्थीकालमा छँदा पढाइलाई मात्र होइन, आफ्नो निजी जीवनका लागि पनि समय थिएन । ०४९ फागुनमा परिवारले बिहेको फिक्स गरिदिए । मैले भने टीकाटालो गर्दा पनि समय दिन सकिनँ । परिवारले आफ्नै ढंगले टीकाटालो टुंग्याइदिएछन् ।
(वार्तामा आधारित)

प्रतिक्रिया