अरब गएँ भनेर बेपत्ता

इलाम : ‘म साउदी अरब गएको, मलाई खोज्ने प्रयास नगर्नुहोला’ भन्ने व्यहोराको चिठी पतिलाई लेखेर साङ्रुम्बाकी एक महिला बेपत्ता भएकी छन् । साङरुम्वा–८ की २३ वर्षीय निरमाया तामाङ पतिलाई चिठी लेखेर शुक्रबारदेखि बेपत्ता भएकी हुन् ।
आफन्तमा खोजी गर्दा पनि निरमाया फेला पर्न नसकेपछि उनका पति टीकारामले पत्नी खोजिदिन प्रहरीसमक्ष हारगुहार गरेका छन् । साथीभाइ, आफन्त र माइतीमा समेत सम्पर्क गर्दा कतै फेला नपरेको उनको भनाइ छ । ‘घरमा दुई छोराछोरीलाई छाडेर घरसल्लाहै नगरी कहाँ गएकी हुन्, कतै पत्तो लागेन,’ टीकारामले भने, ‘परिवारमा राम्रै मेलमिलाप थियो, अकस्मात् उनी बेपत्ता भएपछि परिवारमा समस्या बढेको छ ।’ (सौस)

प्रतिक्रिया