पार्टी कार्यालयमा अनेरास्ववियुको रिले अनशन

काठमाडौं : एकपक्षीय रूपमा आयोजक कमिटी गठन गरिएको भन्दै आन्दोलन गरिरहेका अनेरास्ववियुका केही नेताले आइतबारदेखि पार्टी कार्यालय बल्खुमा रिले अनशन नै सुरु गरेका छन् ।
पार्टी नेतृत्वले आफ्नो माग सुनवाइ नगरेपछि असन्तुष्ट नेता तथा कार्यकर्ताले अनिश्चितकालीन रिले अनशन सुरु गरेका हुन् । स्थायी समितिले गरेका निर्णय सच्चाउनुपर्ने माग गर्दै आइतबार दिउँसो १२ बजेबाट पार्टी कार्यालयको मूलढोकामा रिले अनशन सुरु गरिएको छ । पार्टीले हचुवाका भरमा केही विद्यार्थीलाई केन्द्रीय कमिटीबाट हटाएको उनीहरूको आरोप छ । बुधबारबाट धर्ना दिएका विद्यार्थीहरूले पार्टीले कुनै सुनुवाइ नगरेपछि रिले अनशन थालेका हुन् ।
आफ्ना मागप्रति पार्टी नेतृत्वले कुनै सुनवाइ नगरेपछि रिले अनशन थालेको अनेरास्ववियुकी राधिका खतिवडाले बताइन् । ‘ज्ञापनपत्र बुझाउँदा र धर्ना दिँदासमेत हाम्रा मागलाई बेवास्ता गरिएपछि अनशनमा बसेका हौँ,’ उनले भनिन्, ‘निर्णय नसच्चाए थप आन्दोलनका कार्यक्रम गछौँ ।’
आन्दोलनरत विद्यार्थीहरूले पोखरामा यही बुधबारदेखि हुने केन्द्रीय कमिटीको बैठक पनि बहिष्कार गर्ने बताएका छन् । नेत्री खतिवडाले ७ गतेसम्म पनि आफ्ना माग सम्बोधन नभए समानान्तर कमिटी गठन गरिने चेतावनी दिइन् । आयोजक कमिटीका ४० असन्तुष्ट नेता अनशनमा बसेका छन् । उनीहरूमध्ये अधिकांश पार्टी अध्यक्ष झलनाथ खनाल पक्षधर छन् ।
पार्टीले गत १९ फागुनमा विद्यार्थी नभएका, कारबाहीमा परेका, विदेश गएका र निष्क्रिय रहेका २ सय १३ जनालाई हटाउँदै अध्यक्ष माधव ढुंगेलको संयोजकत्वमा १ सय ४१ महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । (सौस)

प्रतिक्रिया