आन्दोलन गर्दा आर्मीको कुटाइ खाएँ

avi-subedi२०१९ सालको कुरा, म तेह्रथुमबाट भर्खरै एसएलसी सकेर मोरङ झरेको थिएँ आइए पढ्न । कलेज हाजिर भएको भोलिपल्ट ‘शिक्षाको विकासमा राजनीतिको भूमिका’ विषयमा वादविवाद प्रतियोगिता रहेछ, अंग्रेजी भाषामा । कलेजको परिवेशसँग राम्रो घुलमिल नभए पनि मलाई त्यसमा भाग लिन मन लाग्यो । अंग्रेजीमा राम्रो छु भन्ने आत्मविश्वास पनि थियो । मैले आफ्नो क्षमता देखाएँ । प्रतियोगिताको साँझदेखि त मेरा अघिपछि साथीहरूको झुन्ड बढ्न थालिहाल्यो नि ।

कलेजका सुरुकै दिनमा पपुलारिटी कमाएपछि म कमिटी बनाउने, आफू पनि विद्यार्थी युनियनमा बस्ने गर्न थालेँ । आवाराजस्तो बनेर युनियनमा लागे पनि पढ्नमा भने सिरियस थिएँ । कविता पनि लेख्थेँ । हाम्रो पढाइ साँझमा हुन्थ्यो त्यतिबेला । कोठा टाढा थियो कलेजदेखि । क्लास सकेर फर्किंदा राति भइसकेको हुन्थ्यो, ट्यार्रट्यार्र भ्यागुता कराउँथे । कोठामा पुगेपछि तिनै परिवेश र अनुभूतिलाई कवितामा उतार्थें ।
बाल्यकालदेखि नै पढ्नमा भने तेज थिएँ । थोरै पढे पनि पुग्थ्यो । क्लासमा सरले पढाएको ध्यान दिएर सुन्ने र एकपटक घरमा दोहोर्‍याएपछि त्यो विषय राम्रोसँग उत्तीर्ण गर्न सक्थेँ । मोरङ कलेजबाट ०२१ सालमा आइए पास गरेँ । त्यतिबेला पूर्वाञ्चल क्षेत्रबाट मेरो सबैभन्दा बढी अंक आएको रहेछ । बढी नम्बर ल्याएको भएर सरकारले महेन्द्र छात्रवृत्तिको पनि घोषणा गर्‍यो ।
बिए पढ्न काठमाडौंको त्रिचन्द्र क्याम्पस आएँ । तर, यहाँ अंग्रेजी पढाइ हुँदैन रहेछ । फेरि धरानै फर्किएँ । तर, कलेज भर्ना हुने म्याद गुज्रिसकेको रहेछ । त्यसपछि पढाइमा ख्याल नगरी हल्लेर दिन काटिरहेको थिएँ । दाइले गाली गर्नुभएपछि भर्ना हुन कर लाग्यो । धरानमा आनन्ददेव भट्टले अंग्रेजी पढाउनुहुन्थ्यो । परीक्षा दिएँ । पास भएपछि बिए भर्ना हुन पाएँ ।
बिए पढ्न थालेपछि अझ अराजक भएर निस्किएँ म । १५/१६ जना साथी बटुलेर अराजकतावादी समूह नै बनायौँ । हामी आन्दोलन गर्न थाल्यौँ । मोडल देश बन्नुपर्छ भनेर हाँकेको आन्दोलनका कारण आर्मीले पक्रेर नराम्रोसँग कुट्यो एकपटक । त्यतिबेलासम्म म आफूलाई राजनीतिक आन्दोलनमा लागेको ठान्थेँ । तर, बिस्तारै लाग्न थाल्यो– म त राजनीतिक होइन, सांस्कृतिक, सामाजिक व्यक्ति रहेछु । त्यति बेलासम्म मैले थुप्रै साहित्य पनि पढिसकेको थिएँ । फ्रेन्च साहित्य बुझ्न थालेको थिएँ । आफँै पनि कविता लेख्थेँ । पढाइसँगै साहित्यतिर तिनै बेलाताका प्रवेश गरेको हुँ ।
कलेजमा पढ्दा सबै एकैखालका साथी थिएनन् । केटा अनि केटी साथी उत्तिकै थिए । कलेज जीवनमा एकपटक प्रेममा पनि परेँ । तर, व्यक्त गर्न सकिएन । सम्झन्छु, बिए पढ्दा हामी कोसीमा पिकनिक गएका थियौँ । मैले मनपराएकी केटी पनि गएकी थिइन् । उनको नजिक पुग्दा मेरो ढुकढुकी बढ्थ्यो । बोल्न वाक्य नै फुट्दैनथ्यो । त्यो दिन पनि हामी धेरैबेर कोसीतिरमा बस्यौँ । तर, दुवै जना चुपचाप । उनी पनि बोल्न सकिनन्, न त मैले नै मनको कुरा खोल्न सकेँ । अन्तत: प्रेमिल कविता लेखेर सुनाएँ । प्रेमिल शब्दको प्रतिउत्तरमा उनले हेरेको मायालु नजर आजसम्म पनि सम्झिरहन्छु । यद्यपि, मेरो त्यो प्रेम अघि बढ्न सकेन ।
बिएको पढाइ सकेपछि एमए पढ्न त्रिभुवन विश्वविद्यालयमा भर्ना भएँ । यता, त्रिचन्द्रमा बिए पनि पढ्थेँ त्यतिबेलै । काठमाडौं आएर पढ्न थालेपछि साहित्यतिर अझ क्रियाशिल हुन थालेँ । विद्यार्थी युनियनमै बसे पनि म राजनीतिकभन्दा सांस्कृतिक, साहित्यिक क्रियाकलापमा लागिरहेँ । त्यतिबेला अम्बर गुरुङलाई लगेर गीत गाउने, विजय मल्लले लेखेका नाटक कलेजमा मञ्चन गर्ने, केआइ सिंहलगायत नेताहरूसँग सामाजिक सांस्कृतिक विषयमा छलफल चलाउने गर्न थालेँ । कलेज पढ्दैताका हिप्पी कल्चरका बरेमा पनि अध्ययन तथा लेख लेखेको थिएँ । त्रिभुवन युनिभर्सिटीबाट अंग्रेजीमा एमए सकेपछि अमेरिका गएर पनि पढेँ । कलेज पढ्दाका ती रमाइला दिन अझै पनि मेरो स्मृतिमा ताजै छन् । ती दिन जीवनको यात्रा तय गर्ने गोरेटो मात्रै होइन, जीवनकै पाठशाला पनि हुन् । (वार्तामा आधारित )

प्रतिक्रिया