माओवादीले चुनाव बहिष्कार गर्ने

काठमाडौं, ३ चैत । प्रधानन्यायाधीश नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषद्ले गर्ने संविधान सभाको निर्वाचनमा नेकपा माओवादीले भाग नलिने स्पष्ट पारेको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष मोहन वैद्यले रेग्मी नेतृत्वको चुनावी सरकारले गर्ने निर्वाचनमा माओवादी सहभागि नहुने स्पष्ट पारेका हुन् । असार पहिलो साता निर्वाचन हुनेमा आशंका व्यक्त गर्दै बैद्यले भने, ‘चार दलकै कारण मुलुक अब फासिबादतर्फ गईरहेको छ, सुरुवात रेग्मी नेतृत्वको निर्दलीय सरकारबाट भइसक्यो ।’ बैद्यले रेग्मी सरकारविरुद्धको आन्दोलनलाई थप शसक्त बनाउन अन्य राजनीतिक दलहरुसंग छलफल भईरहेको बताए । माओवादीले अन्तरीम चुनावी परिषद्को विरोधमा आन्दोलन गर्दै आएको छ । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईले धोका दिएको भन्दै बैद्यले क्रान्ति पुरा गर्न २०५२ साल दोहोरिन सक्ने चेतावनी दिए । उनले एमाओवादी नसच्चिए पतन भएर जाने दावी गरे ।

प्रतिक्रिया