दु:खमा लेखिएका कविता

Babuमाटोबाट भाँडाहरू, दूधबाट मिठाईहरू, फलामबाट औजारहरू तथा शब्दबाट सिर्जनाहरू बन्छन् । यी बन्ने र बनाइने प्रक्रियामा प्रोल्लास सिन्धुलीयको कवितासंग्रह ‘झन्डालाई डिभी पर्‍यो भने के हुन्छ ?’ बजारमा आएको छ । एक वाक्यमा भन्नुपर्दा यो कवितासंग्रह शब्दबाट बनेको भएता पनि फलामका औजारहरूले सुसज्जित छ ।
झन्डालाई डिभी पर्‍यो भने के हुन्छ ?
न उसको कुनै ढुङ्गे पाखो
टारीखेत अथवा नाङ्ले गरा हुन्छ
न उसको बग्दै गरेको बाटो
बाँधले डुबेको खेत
अथवा दिन दहाडै लुटिएको खेत हुन्छ
न उससँग कुनै विदेशीले कुल्चेको शिर हुन्छ
न कुनै स्वदेशीले फ्यालेको नागरिकता हुन्छ
सिवाय अस्मिता झन्डासँग केही हुँदैन
सिवाय अस्तित्व झन्डासँग केही हुँदैन
कविता पढ्दा लाग्छ– हामी पनि त्यहीँ छाँै, जहाँ छन् कवि सिन्धुलीय, जहाँ पुगेर सिन्धुलीयले कविता लेखेका छन् । अथवा, त्यहीँ छ हामी बाँचेको समाज, त्यहीँ छ हामी बाँचेको परिवेश । एउटा देश छ । जेलिएका धुलाम्मे बाटाहरू छन्् । पसिनाको रङजस्तो नीलो आकास छ । बागमा आफँै उम्रिएका फूलहरू छन् । निरन्तर बगेका आँसुजस्ता नदीहरू छन् । बाटामा भेटिने अपरिचित अनुहारभित्र परिचित अनुहारहरूको बिम्ब छ ।
कवितामा, बतास आउँदा तराईलाई छोएर आएको छ । कवितामा, पहाडलाई नाघेर आएको छ घामले । कवितामा हिमालको चुचुरोमा पुगेर सुस्ताइरहेको भेटिन्छ एक डोको सामल । कहिल्यै जित्न नसकेको युद्ध जितेर फर्केका योद्धाजस्ता छन् कविताहरू ।
कविताका पाठक कवि–लेखकहरू मात्र हुन्छन् भन्नेका लागि यो कवितासंग्रह चुनौती बनेर आएको छ । पाठकहरू गिट्टी कुट्ने पनि हुन सक्छन्, सवारी चलाउने पनि हुन सक्छन् । तिनका लागि पनि यो संग्रह बोधगम्य छ । तर, त्यही सरलताभित्र गम्भीर विषयहरूको उठान गर्नु कविको क्षमता देखिन्छ ।
यो संग्रहमा कविको विशेषता भनेको जटिल विषयलाई सरल रूपमा प्रस्तुत गर्न सक्नु हो । ‘झन्डालाई डिभी पर्‍यो भने के हुन्छ ?’ कवितासंग्रह भर्जिन पाठकहरूका लागि खुराक हो ।Cover-jhanda
‘बनिसकेको बाटोमा हिँड्नुभन्दा, बाटो बनाउँदै हिँड्न रहर लाग्छ’, कुनै दिन कवि हरिभक्त कटुवालले भनेका थिए । कवि सिन्धुलीयले पनि आफू हिँड्ने बाटो आफैँले बनाएका छन्, जसलाई अरूको बाटोको जरुरत छैन ।
हायूनी बूढी
भग्नावशेष दरबारको आँगनमा पलेटी मार्छे
र, गन्छे
महाराजधिराजले चन्दा दिएका केही रुपियाँ
र आफ्नो उमेर
संग्रहमा भएका कवितामध्ये सबभन्दा शक्तिशाली कविता ‘हायुनी बूढी’ हो । यो कविताले कवि बाँचेको समयको चित्र र चरित्रलाई जस्ताको तस्तै उतारिदिएको छ । राजतन्त्र र गणतन्त्रबीचको द्वन्द्वको नमुना चित्र हो यो कविता । एकातिर कवि सिन्धुलीयलाई र अर्कोतिर उनको कवितासंग्रहलाई राखेर जोख्ने हो भने दुवैको तौल बराबर हुन्छ । अर्थात्, कविको जीवन र कविता उस्तै छ ।
खोट देख्नेले फूलमा पनि खोट देख्छ । पानीमा पनि खोट देख्छ । यसकारण देख्छ, उसले हेर्दा दोषयुक्त आँखाले हेर्छ । अथवा कालो चश्मा लगाएर हेर्छ । ती दोषी आँखा र कालो चश्माले हेर्नेहरूलाई त्यसरी नहेर्न आग्रह पनि गर्दछु ।
कविताको अर्को महत्वपूर्ण पाटो भनेको कविले भोगेको जीवन, कवि हिँडेको बाटो र कविसँगै बाँचेको समयभन्दा पनि अलग समग्रमा कविताहरू यही शताब्दीका साक्षी भएका छन् । डा. टीकाराम भण्डारीले भनेका छन्, ‘आशा र भरोसा नराख्ने हो भने त जीवन नबाँचे पनि भो ।’ यस संग्रहका कविताले मानिसलाई जिउने कला सिकाउँछ ।
माथि पहाडमा उभिएर सोच्दा
गहिराइ धमिलो देखिन्छ
दिक्कलाग्दा देखिन्छन् झुप्राहरू
पिँढीको सुकुल र भुटेको मकै त फुटेको आँखाले पनि देखिँदैन
त्यही माथिबाट नदेखिने गाउँको
कुनै कुनाको एक टुक्रा कब्जा जग्गा बिक्रीमा छ अचेल
कृपया दलालले कष्ट नगर्नु होला ।
संग्रहका कवितामा वास्तविक पात्रहरू प्रशस्तै आएका छन् । ती ज्यूँदाजाग्दा पात्रहरूले सिङ्गो समाजको प्रतिनिधि गरेका छन् । र, वर्तमान समाजको चित्रलाई ऐनाले झैँ छर्लङ्ग देखाइदिएका छन् ।
नलेख्नेको गल्ती हुँदैन । जब लेखिन्छ, तब गल्तीहरू हुने सम्भावना पनि रहन्छन् । गल्तीहरूबाटै सिक्ने प्रक्रियाको जन्म हुन्छ । त्यसकारण त मान्छे सिकेर कहिल्यै पूर्ण हुँदैन । पूर्ण भए त मान्छेको अस्तित्व नै समाप्त हुन्छ । यो कवितासंग्रहसम्म आइपुग्दा कवि गल्तीकमजोरीहरूलाई धेरै पर छाडेर अगाडि बढिसकेको आभास हुन्छ ।
मलाई हार्नु छैन
जित्नु छ यो सहरसँग
जितेकै अनुहार बोकेर फर्कनु छ गाउँमा
त्यो गाउँ
जहाँ म जन्मिएँ
जहाँको धुलोमा खेल्दै म हुर्किएँ
त्यहीको धुलो उडाउँदै
मलाई आफ्नो मलामी हिँडाउने रहर छ ।
आजको सन्दर्भमा ‘राम्रो छ’ भन्नु र ‘राम्रो हुनु’ फरक कुरा हुन्छ । प्रोल्लास सिन्धुलीयको यो संग्रह सिर्फ पठनीय या संग्रहणीय मात्र छैन, कविता लेख्ने र पढ्नेहरूका लागि राम्रा कविता कस्ता हुन्छन् ? भन्ने प्रश्नको सही जवाफ बनेको छ । कवितालाई राजमार्गमा दौडाउन खोज्ने कविहरूका कविताभन्दा भिन्न रूपमा सिन्धुलीयका कविता दौडिएका छन् ।
केही कविताहरू लामा छन्, तर हिँडेरै नसकिने लामा बाटाजस्ताचैँ छैनन् । बाटोको सौन्दर्यले लामो बाटो पनि छोटो भैदिन्छ । बाटो लामो त नहिँड्नेहरूका लागि हुन्छ । कवि सिन्धुलीयले आफ्नो भूमिकामा भनेका छन्, ‘तपाईंलाई मेरा कुनै कविता राम्रा लागे भने विश्वस्त हुनुस्, त्यो सबभन्दा दु:खमा लेखिएको हो ।’ म कवि प्रोल्लास सिन्धुलीयको उक्त भनाइलाई समर्थन गर्दछु, यी कविताहरू साँच्चै दु:खमा लेखिएका रहेछन् ।

प्रतिक्रिया