विद्रोह र समयको विचलन

dnmanअखबारी लेखन तथा आख्यानमा निरन्तर रूपमा लेख्दै आइरहेका माधव सयपत्री अब नौलो नाम रहेन । नामकै लागि लेखेका पनि होइनन् । सिर्जना साधना हो भन्दै आफ्नै अभ्यासमा निरन्तर लागिपरेका एक साधक हुन् सयपत्री । पछिल्लो चरणमा उपन्यासले बजार तातिरहेका बेला उनले पनि उपन्यासमा हात हालेका छन् र यसको बलियो सबुद उनको भर्खरै प्रकाशित उपन्यास ‘सीमान्त विचलन’ हो । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको माधव सयपत्रीको यो उपन्यासले पनि बजारको मूल्य, मान्यता र अहिले चलिरहेको युद्ध तथा क्रान्तिलाई नै प्रमुख विषय बनाइएको छ ।
मानिसको जीवनलाई राजनीतिले जसरी जकडेको हुन्छ, त्यसैगरी यो ‘सीमान्त विचलन’ ले पनि राजनीतिक विषयवस्तुलाई अँगाल्दै नेपालको यथार्थ बस्तुचित्र अक्षरका माध्यमबाट देखाएको छ । करूणा र सागरको प्रमुख पात्रमा उपन्यासका विविध पक्षबाट नेपालको पञ्चायतीकालमा विद्यार्थी संगठनबाट सुरु भएको राज्यविरोधी क्रान्ति अति नै सरल तथा सूक्ष्म ढंगबाट प्रस्तुत गरेका छन् । विदेशमा करले भासिनुपरेको करूणाको स्मृतिमा उपन्यासका पानाहरू पल्टिरहेको छ । सर्वहारा वर्गका साथै भ्रष्ट मानिसहरू कसरी अकुत धन कमाउँछन् र आफ्नै देशलाई धमिरा बनाउनतिर उन्मुख हुन्छन् । ०४४ देखि ०४६ सालसम्मका घटनाले पाठकलाई एकोहोरो रूपमा तानिरहन सक्छ । त्यसबेलाको विद्यालयमा हुने भित्रैभित्रको आन्दोलनका तयारी र प्रशासनले गर्ने घीनलाग्दो कर्तुतको वास्तविक चित्रण गरिएको छ । करूणाको एकोहोरो प्रेम र सागरको एकोहोरो क्रान्तिकारी विचार र व्यवहारले पाठकलाई तानिरहन्छ । bichalam
उपन्यासको बजार तातिएको छ । यो समयलाई उपन्यासकारले हातमा लिने चेष्टा त गरेकै हुन् । बजार भएको बेला उपन्यास निकाल्नु उनको चलाखी पनि हुनसक्छ । यो सामाजिक उपन्यास पक्कै होइन । तसर्थ यो पूर्णरूपमा प्रेममा आधारित पनि छैन । यसले प्रेमको बाटो पक्डिरहे पनि विद्रोह यो उपन्यासको मूल पाटो रहेको छ । सरकारी दमनलाई उपन्यासले नंग्याएको छ । प्रहरी प्रशासन कसरी सरकारको पक्षमा उभिएर भित्रभित्रै देशलाई धमिरा बनाइरहेका हुन्छन् भन्ने खुलासा छ । यसरी विद्रोह प्रस्तुति गरिरहँदा पनि प्रेम र भय क्षणक्षण सँगै बगेको छ । एकोहोरो प्रेम जीवन्त नरहेको घटना यसमा छ ।
उपन्यास बजारमुखी भएको छैन । यसले उपन्यासको मर्मलाई अँगाल्ने कोसिसचाहिँ गरेको छ । भाषा, शब्द र वाक्यको अस्पष्टताले पाठकलाई अन्योल भने पारिरहन्छ । कतै शब्दका अर्थहरू नै अनर्थ हुनेगरी आइपरेका छन् । कथाले पाठकलाई तानिरहेका बेला यस्ता त्रुटिले ध्यान भंग हुने सम्भावना धेरै छ । उपन्यासकार आफँैले पनि भूमिकामा आफ्ना कमजोरी स्विकारेका छन् । उनी भन्छन्, ‘केही तिलस्मी घटना, पात्रहरूको अचानक उपस्थिति, नाटकीय रूपमा कथातत्वको विकास यस उपन्यासका दोषहरू हुन् भन्ने लाग्छ ।’ यो उनको आत्मस्वीकारोक्ति हो । तर, यहाँ करूणा उपन्यासको प्रारम्भमा विदेशमा हुन्छिन् र आफ्नो स्मृतिमा विगत सम्झिन थाल्छिन् । तिनै करूणा उपन्यासको मध्यतिर स्मृतिमा हुन्छिन् तर भूगोल परिवर्तित भइदिएको छ, त्यहाँ करूणा विदेश नभई नेपालमै छिन् । उनी नेपालमै स्मृतिको पाना पल्टाइरहन्छिन् । छोराछोरी विदेश पठाउने कुरा हुन्छ । यो उपन्यासकारले सूक्ष्म रूपमा गरेको भूल मान्नै पर्छ । तैपनि, पाठकले यस्ता त्रुटि सजिलै पचाउन सक्ने परिस्थिति भने उपन्यासको कथाले तानिरहने सबल पक्षले गर्छ नै †
उपन्यासमा दुई भाग छन् । एकमा करूणाको स्मृति र अर्काेमा सागरको । ०४६ सालको आन्दोलनमा मरेको भनिएको सागर उपन्यासको मध्यअन्ततिर बाँचेको पाइन्छ । सरकार र प्रशासनको कस्तो सम्म पहुँच छ भन्ने पुष्टि यसले देखाएको छ । सागर मरेको भन्ने समाचारले करूणाको बाबुले समयको सदुपयोग गरी करूणाको बिहे गरिदिएका छन् । यहाँ समय जहिल्यै बलियाको हातमा हुन्छ भन्ने देखिन्छ । त्यसपछि हुन्छ मौन विचलन । यहाँ परिवार छ । सरकार छ । प्रशासनको दमन र मनोपोली छ । भ्रष्टहरूको बोलबाला छ । उपन्यासले विद्रोह कहिले समाप्त हुँदैन भन्ने कुरालाई सूक्ष्म ढंगबाट पस्किएको छ । सर्वहारा वर्ग कहिल्यै सपनाबाट माथि उठ्न सक्दैनन् तर सम्पन्नवर्ग अर्थाेपार्जनमा रमाइरहन्छन् । यसको अर्काे सन्देश पनि हो । नेपाली आख्यानमा परिचित अनुहार माधव सयपत्रीले आफूलाई उपन्यासकारका रूपमा उभ्याएका छन् । यो ‘सीमान्त विचलन’ले पाठकलाई झर्काे नलाग्ने पारामा तानिरहनेछ ।

प्रतिक्रिया