बझाङमा महिला र प्रहरीबीच झडप

bajjangधनगढी, २ चैत । महिला अधिकारकर्मीले शुक्रबार जिल्ला अदालत बझाङमा नाराबाजीसहित धर्ना दिएका छन् । धर्नाका क्रममा प्रहरी र महिलाबीच झडप भएको छ ।

तीन साताअघि हत्या गरिएको भनिएकी चैनपुर–१ की कल्पना जोशीका हत्यारालाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मीले नाराबाजीसहित धर्ना दिएक हुन् । महिलाअधिकारकर्मीको चर्को दबाबपछि हत्यामा संलग्न भनिएकालाई बझाङ अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ ।
अभियुक्तलाई जिल्ला कारागार लैजाँदै गरेका बेला आन्दोलित महिला र प्रहरीबीच झडप भएको हो । झडपमा एक महिला प्रहरी र महिलाअधिकारकर्मी घाइते भएका छन् । महिला र प्रहरीबीचको मुठभेडले जिल्ला सदरमुकाम चैनपुर बजार केहीबेर तनावग्रस्त बनेको थियो । आन्दोलनमा महिलाको सहभागिता ठूलो थियो ।
विषसेवन गरी जोशीले आत्महत्या गरेको घरपरिवारले बताए पनि माइती पक्षले आत्महत्या नभई हत्या भएको भन्दै तीन जनाको नाममा किटानी जाहेरी दिएका थिए । माइती पक्षको जाहेरीका आधारमा जोशीका पति यज्ञ, देवर हरि र सासूलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाइरहेका बेला महिलाअधिकारकर्मीले दोषीलाई शीघ्र कारबाहीको माग राखेर निरन्तर रूपमा दबाब दिएका हुन् ।
महिला हिंसाका घटनालाई न्यायालयले बेवास्ता गरेको बताउँदै अधिकारकर्मी आशा विकले जोशीका हत्यारालाई उन्मुक्ति दिँदै छ भन्ने थाहा पाएर दबाबस्वरूप धर्नासहित आन्दोलनमा उत्रिनुपरेको बताइन् । जिल्लामा महिला हिंसाका घटना बढिरहेका छन् । ‘प्रहरी, प्रशासन र अदालतको फितलो अनुसन्धानले अपराधीले प्रश्रय पाइरहेकाले त्यसका विरुद्ध महिला आन्दोलित हुनुपरेको हो,’ विकले भनिन् ।
जोशीका हत्या भएको थ्रुपै प्रमाण भेटिएको भए पनि अपराधीलाई उन्मुक्ति दिन आर्थिक चलखेल भएको महिला अधिकारकर्मीले आरोप लगाएको छ । जोशीको हत्यामा संलग्न भनिएका अभियुक्तको बिहीबारदेखि जिल्ला अदालतमा बयान लिने काम भइरहेको छ ।

प्रतिक्रिया