गहनाका आ–आफ्नै अर्थ

Indian-jewellery-गरगहनाको महत्त्व विभिन्न संस्कृतिमा आ–आफ्नै खालको छ । गहना भन्ने बित्तिकै शरीरलाई आकर्षक बनाउने कुरा बुझिन्छ । अर्थात्, गहनाले आकर्षण र सुन्दरतालाई प्रतिबिम्वित गरिरहेको हुन्छ । त्यसो भए के विशेषत: नारीले लगाउँदै आएका गहनाले सरसजावटलाई मात्र प्रतिबिम्वित गर्लान् त ? होइन, तिनको विशेष अर्थ पनि हुने गर्छ । हिन्दू, वैदिक समुदायका नारीले सजावटका लागि प्रयोग गर्ने गहनाले विशेष अर्थ र प्रयोजन बोकेका हुन्छन् । वैदिक समयदेखि चलिआएका विभिन्न ३ दर्जनबढी गहनाका नाम र तिनको प्रकृतिबारे आधुनिक युवतीलाई कमै थाहा होला ।
gahanaगरगहना र आभूषणलाई अहिले फेसनको ट्रेन्डमा ल्याउने काम तीव्र रूपले भइरहेको छ । प्राचीन समयका गहना र आभूषण पनि उत्तिकै सुन्दर क्राफ्टिङ र डिजाइनमा बन्थे । ती गहना अधिकांश सुन र चाँदीबाट नै बन्थे । हिन्दू संस्कृतिमा हुर्केका नारीहरूले पारम्परिक संस्कारबाटै पनि त्यस्ता गहनालाई शरीरको देखिने स्थानमा लगाउन सिकिसकेका हुन्छन् । त्यस्ता गहनाहरू अहिलेको जस्तो फेसन र सोका लागि मात्र नभएर अर्थका लागि पनि लगाइन्थ्यो । अर्थात्, प्रत्येक गहनाका आ–आफ्नै अर्थ छन् । संसारमा उत्पादन हुने सुननिर्मित विभिन्न उत्पादनको ४० प्रतिशत माग भारतलगायत देशमा हुन्छ । जहाँ वैदिककालदेखि चलिआएको रीति छ, त्यहाँका नारीले सोहीअनुरूपका गहना लगाउँछन् ।
यस्ता गहनामध्ये एक हो ‘मेती’ । जुन विवाहित हिन्दू नारीले लगाउँछन्, विशेषगरी ब्राम्हण सम्प्रदायका नारीले । ‘मेती’ चाँदीबाट बनेका एकखाले आँठी हो, जसमा दुई या तिनओटा लाइन घुर्मीएका हुन्छन् । गोडाको चोरऔँलामा यो लगाइन्छ । चाँदीमा ऊर्जा खिच्ने क्षमता हुन्छ । गोडामा लगाइएको त्यस किसिमको रत्नले पृथ्वीको ऊर्जा शरीरमा पास गर्ने विश्वास गरिन्छ । मासिक कर्मको चक्रलाई नियमित र व्यवस्थित बनाउन यसखाले रत्नले सहयोग गर्ने विश्वास राखिन्छ । ‘मेती’ अविवाहित तथा विधवा महिलालाई लगाउन निषेध छ ।
त्यस्तै अर्को गहना ‘घुंग्रु’ पनि चाँदीबाटै बनेको हुन्छ । यसलाई लगाउँदा शरीरमा ऊर्जा ‘रि–भाइब्रेट’ हुने विश्वास गरिन्छ । विभिन्न कलात्मक तबरले यसको डिजाइन गरिएको पाइन्छ ।
‘काप्पु’ भनिने अर्को गहना पनि चाँदीबाटै बन्छ । यो बच्चालाई जन्मिएको ११ औं दिनदेखि लगाइदिने गरिन्छ, न्वारनको समयमा । प्राय:जसो कम्मरमुनि लगाइने गहना चाँदी निर्मित हुन्छन् । कम्मरमाथितिर लगाइने प्राय: गहनाचाहिँ सुनर्निमित हुन्छन् । प्रत्येक विवाहित हिन्दू महिलाले मंगलसूत्र त अनिवार्य लगाउनै पर्ने मानिन्छ । मंगलसूत्र सुननिर्मित हुन्छ । विवाहित हुनको जनाउ दिनुका साथै मंगलसूत्रले महिलाको रक्तसञ्चार प्रक्रियालाई पनि सन्तुलित राख्न मद्दत गर्छ ।
नेपालमा पनि विभिन्न जातिका महिलाले लगाउने फरकफरक गहनाको आ–आफ्नै मौलिकता छ । नेवारी सम्प्रदायका नारीले सिन्चा, मोतासा, न्यापुसिख:लगायत गहना शिरमाथि लगाउछन् । यीबाहेक कल्या, प्यूचा, तुगी बग्गी, तायो, चन्द्रहारलगायत गहना पनि प्रचलनमा छन् । ढुंग्री, बुलाकी, नत्थी, शिरबन्दीजस्ता गहना नेपालकै अन्य सम्प्रदायमा लोकप्रिय छन् ।
(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया