तामाकोसीको पेनस्टक सुरुङ निर्माण रोकियो

uppre_tamakosiदोलखा, २ चैत । रेजबोरिङ मेसिन दुई महिनादेखि भन्सारमा रोकिँदा माथिल्लो तामाकोसीको पेनस्टक सुरुङ निर्माण कार्य रोकिएको छ । पेनस्टक अडिट सुरुङ पूरा भएको दुई महिना बितेपछि मेसिन नहुँदा ठाडो सुरुङ निर्माणको कामसमेत प्रभावित भएको हो ।

अन्य सुरुङ निर्माणभन्दा ठाडो सुरुङ निर्माण गर्न कठिन हुने भएकाले त्यसका लागि रेजबोरिङ मेसिन प्रयोग गर्नु पर्छ । चिनीयाँ कम्पनी सिनो हाइड्रोकर्पोरेसनले मेसिन झिकाएको दुई महिनाभन्दा बढी भइसकेको छ । उसले पछि फिर्ता लैजाने गरी चीनबाटै मेसिन ल्याएको हो । मेसिनको बारेमा भन्सारसँग कुरा नमिलेपछि तातोपानी भन्सारमा रोकिएको हो । फिर्ता हुने गरी ल्याएको मेसिनमा पनि भन्सारले अन्य सामान जस्तै मूल्यांकन गरेर भन्सार शुल्क मागेपछि मेसिन रोकिएको हो ।
काम सकेर फिर्ता लैजाने मेसिन अर्थ मन्त्रालयको स्वीकृति लिएर शून्य भन्सारमा ल्याउन पाउने व्यवस्था छ । सिनो हाइड्रोले ल्याउने सामानको मूल सूचीमा तोकेभन्दा अहिले ल्याएको रेजबोरिङ मेसिन ठूलो भएकाले भन्सारले रोकेको हुनसक्ने माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका सहायक प्रबन्धक तथा साइड प्रमुख विमल गुरुङले बताए । मेसिन अभावमा आयोजनाको पेनस्टक साफ्ट सुरुङ निर्माणको काम रोकिएको बताए । आयोजनाको तालिका अनुसार पेनस्टक सुरुङ निर्माणको काम दुई महिनाअघि नै सुरु हुनुपर्ने हो । ठेकेदारले गोंगरडाँडामा पेनस्टक अडिटको ९ सय मिटर सुरुङ निर्माण पूरा गर्ने बित्तिकै पेनस्टक सुरुङ र हेडरेसतर्फको सुरुङको काम गर्ने योजना थियो । अडिट सुरुङ समय तालिका अनुसारै पूरा भएको छ । अहिले त्यर्हाबाट हेडरेसतर्फको सुरुङको काम मात्र भइरहेको छ । ठाडो सुरुङ निर्माणलाई सहज रूपमा गर्नका लागि अहिले ल्याउन लागिएको रेजबोरिङले पहिलो चरणमा ९ इन्चको पावरहाउससम्म ठाडो प्वाल पार्ने, दोस्रो चरणमा त्यसलाई डेढ मिटर ब्यासको बनाउने र तेस्रो चरणमा आवश्यकता अनुसारको सुरुङ साफ्ट तयार गर्ने योजना छ । आयोजनामा ३ सय ८५ मिटरको पेनस्टक साफ्ट र ४ सय ४० मिटरको सर्जसाफ्ट सुरुङ निर्माण गर्नुपर्छ । मेसिन भन्सारमा रोकिएर ढिला हुँदा एउटै मेसिनले दुवै साफ्ट सुरुङ निर्माण समय तालिका अनुसार पूरा गर्न कठिन हुने आयोजनाका अधिकारी बताउँछन् । आयोजनाको १६ किलोमिटर सुरुङमध्ये हालसम्म ८ हजार ५ सय ५० मिटर पूरा भएको छ ।
त्यसैगरी वीरगन्ज भन्सारमा आयोजनाका लागि ल्याएका सवारी र एम्बुलेन्सलगायतका दुई महिनादेखि रोकिएका छन् । ती सामानसमेत आयोजनाका लागि सिनो हाइड्रोले नै ल्याएको हो । आयोजनाका सहायक प्रबन्धक गुरुङले दुवै भन्सारबाट सामान छुटाउनका लागि आयोजनाले निरन्तर पहल जारी राखेको बताए ।कसरकारले राष्ट्रिय गौरवका आयोजनाहरूमा भन्सार, बजेट, इन्धनलगायतका कुनै पनि कुराको समस्या हुन नदिने घोषणा गरे तापनि माथिल्लो तामाकोसीले पटकपटक भन्सारमा सामान रोकिने समस्या भोग्दै आएको छ । आयोजनाका लागि सुरुका चरणमा चार महिनासम्म भन्सारमा सामान रोकिएको थियो ।

प्रतिक्रिया