अवैध सम्बन्ध राखेको भन्दै ढुंगा हानी मृत्युदण्ड

पेसावर : पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रका एक सैनिकले किशोरीसँग अवैध सम्बन्ध राखेको भन्दै उनलाई ढंगा प्रहार गरी मृत्युदण्ड दिइएको छ । २५ वर्षीय ती सैनिकलाई पाकिस्तानको आधिवासीबाहुल कुराम जिल्लाको जातीय परिषद्ले मृत्युदण्डको सजाय सुनाएको थियो ।

अनवार उद दिन नामका ती सैनिकले स्थानीय एक किशोरीसँग अवैध सम्बन्ध राखेको आरोप लगाइएको थियो । उनलाई बुधबार दण्डका लागि उपस्थित गराइएको थियो । उनलाई उपस्थित गराइएको सार्वजनिक स्थानमा ४० देखि ५० मानिस उपस्थित थिए । उनीहरूले ढुंगाले हानेर ती सैनिकको हत्या गरेका थिए ।
‘उनलाई सो स्थलमा उपस्थित गराएपछि त्यहाँ जम्मा भएका मानिसले ढुंगा हान्न थालेका थिए । मृत्यु नभइञ्जेलसम्म उनीमाथि ढुंगा प्रहार गरिएको थियो ।’ ‘ढुंगा प्रहारबाट रक्ताम्मे भइ लडेका ती युवकको रगत बगेरै एकछिनमा निधन भएको थियो,’ जातीय परिषद्का एक अधिकारीले नाम नबताउने सर्तमा भने ।
परिवारको सहमतिविना कुनै पनि महिला अथवा पुरुषले कुनै प्रकारको शारीरिक सम्बन्ध राखेको खण्डमा त्यसलाई पाकिस्तानका कतिपय स्थानमा अपराध मानिन्छ । पाकिस्तानको विशेषगरी उत्तरपश्चिमी क्षेत्रको समाज परम्परावादी एवं रुढीवादी छ । ती समाजमा यस्ता क्रियाकलापलाई अपराधका रूपमा लिइन्छ र सजायस्वरूप मृत्युदण्ड दिइन्छ ।
ढुंगा प्रहार गरी मृत्युदण्ड दिइएको क्षेत्रमा अफगानिस्तानका तालिवानी तथा कट्टरपन्थी मुस्लिम समुदायको बाहुल्य रहेको छ । सो क्षेत्रमा चरमपन्थी सञ्जाल अल–कायदाको पनि प्रभाव रहेको बताइन्छ । यस्तै प्रकृतिका आरोप अथवा परिवारको मान प्रतिष्ठामा आँच पुर्‍याएको आरोपमा पाकिस्तानमा बर्सेनि सयौँ मानिसलाई मृत्युदण्ड दिने गरिन्छ ।
ती युवकलाई सोही स्थानकी एक १८ वर्षीया किशोरीसँग यौन सम्बन्ध राखेको आरोप लगाइएको छ । ती किशोरीलाई पनि मृत्युदण्ड दिने अनुमान गरिएको छ । यस विषयमा स्थानीय सरकारले कुनै प्रतिक्रिया जनाएको छैन । किशोरीले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेकी छिन् । आफूले ती सैनिकसँग कुनै प्रकारको शारीरिक सम्बन्ध नराखेको उनले दोहोर्‍याउँदै आएकी छन् । स्थानीय अधिकारीहरूले पनि ती किशोरीको भविष्यबारे केही बताएका छैनन् । उनीमाथि कस्तो कारबाही हुने भन्ने विषयमा केही दिनमै निर्णय हुने उनीहरूको कथन छ । अफगानिस्तानसँग सिमाना जोडिएका पाकिस्तानका सात जिल्लामा यस्ता कारबाही हुने गर्छ । (एएफपी)

प्रतिक्रिया