मर्यादित परीक्षा सञ्चालनको अपेक्षा

लाखौँ किशोर–किशोरीको भविष्य जोडिएको एसएलसी परीक्षा आजदेखि सुरु हुँदै छ । सरकारले यस वर्षको परीक्षालाई विगतका तुलनामा सम्पूर्ण तवरबाट मर्यादित बनाउने जिकिर पटकपटक गर्दै पनि आएको छ । हुन पनि ५ लाख ४७ हजार १ सय ६५ विद्यार्थी प्रत्यक्ष उपस्थित भई ‘फलामे ढोका’बाट भित्र प्रवेश गर्न चिरप्रतीक्षित दस्तक दिइरहेको अवसर सामान्य हुनै सक्दैन । त्यसमा पनि नियमिततर्फ ४ लाख ३० हजार ९७ र एक्जाम्टेडतर्फ १ लाख १७ हजार ६८ विद्यार्थी सहभागी भइरहेको अवस्था हो यो । उनीहरूका लागि देशभरमा १ हजार ७ सय ८६ परीक्षा केन्द्र सञ्चालित छन् । परीक्षालाई पूर्णमर्यादित बनाउन १४ अञ्चलमा १४ जना सहसचिव पनि खटाइएको छ । यसपटक थप के छ भने प्रश्नपत्रमा हुने त्रुटिले परीक्षा सञ्चालनमा अवरोध पुर्‍याउने स्थिति जहिलेसुकै विद्यमान रहने हुँदा कुनै प्रश्नपत्रमा त्रुटि भए त्यसलाई तत्काल सुधार गर्नका लागि ‘नोटिस बोर्ड’ सञ्चालन गरिएको छ । अनिवार्य र ऐच्छिक गरी यस वर्ष एसएलसीका लागि ८६ विषयका प्रश्नपत्र तयार गरिएको हुँदा केही त्रुटि रहनसक्ने सम्भावना उत्तिकै छ । त्यसकारण नोटिस बोर्डको व्यवस्था विवादरहित र सुचारु बनाउन सकारात्मक रहने अनुमान गर्न सकिन्छ ।
पनिकाले भन्दा पनि स्वयं शिक्षामन्त्रीले नै विगतमा भएका कमीकमजोरी सच्याउँदै यस वर्ष परीक्षालाई मर्यादित बनाउन आवश्यक परे जस्तोसुकै कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस क्रममा परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८ बमोजिम अमर्यादित क्रियाकलाप गर्ने केन्द्राध्यक्ष, निरीक्षक, गार्ड र परीक्षार्थीलाई कारबाही गरिने चेतावनी पनि स्पष्ट दिइएको छ । प्रश्नपत्रको गोपनीयता भंग, परीक्षाकेन्द्रमा सम्बन्धित पदाधिकारीको स्वीकृतिविना प्रवेश, कुनै पनि किसिमका अमर्यादित कार्य गरेमा वा अरूको नाममा परीक्षा दिएमा कसुर हेरी एक लाख जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ । कुनै पनि अनियमित कार्य गरेको भेटिएमा परीक्षा नै बदर गर्ने वा पुन:परीक्षा गराउनेसम्मको कारबाही हुन सक्नेछ । दोहोरो रजिस्ट्ेरसन भर्ने ३ सय ४४ जना विद्यार्थीलाई यस वर्ष परीक्षा दिन बन्देज लगाइएको छ ।
हरेक वर्ष एसएलसी परीक्षा सुरु हुँदा र त्यसको परिणाम प्रकाशित हुने बेलामा मुलुकभर एक किसिमको तरंग पैदा हुने गर्छ । नर्सरीदेखि दस कक्षासम्म लामो समय लगाएर विद्याआर्जन गरेका लाखौँ छात्र–छात्रा उत्साह र उमंगका साथ ‘विद्यालय छाड्ने प्रमाणपत्र’ हासिल गर्न एसएलसी परीक्षामा सामेल हुन्छन् । यो तह उत्तीर्ण हुनेबित्तिकै उनीहरू आफू स्वाभाविक तवरले शिक्षाको क्षेत्रमा एक स्तरले छलाङ मारेको अनुभव गर्छन् र उनीहरूको आत्मविश्वास बढेर आउँछ । कसैको डक्टर बन्ने सपना त कसैका इन्जिनियर, वकिल, पाइलट, प्राध्यापक, बैंकर, व्यापारी, उद्यमी, सञ्चारकर्मीलगायत भविष्यका विविध सप्तरंगी सपना प्राप्तिको संसारमा प्रवेश गर्ने ढोका यही एसएलसी परीक्षाले उघार्छ । मीठो र रसिलो परिश्रमको फल प्रदर्शन गर्न यस घडीको प्रतीक्षामा रहेका किशोरकिशोरी परीक्षाको समाप्तिसँगै ठूलो बोझबाट उन्मुक्ति पाएसरह लामो उच्छ्वास छोड्छन् । यिनै कलिला मन र शरीरहरू नै भोलि गएर तमाम क्षेत्रमा देशको नेतृत्व सम्हाल्ने कर्णधार हुन् । उनीहरू निर्भीक, क्षमतावान्, दूरदर्शी एवं परिश्रमी भए भने उनीहरूबाट देशले राखेको अपेक्षा पूरा हुन सक्छ । यसका लागि उनीहरूले स्वच्छ, मर्यादित, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा भयरहित ढंगले एसएलसी परीक्षा दिन पाउनुपर्छ । यो उनीहरूको जन्मसिद्ध अधिकार पनि हो, जसको हरेक तह र तप्काका मानिसले नि:सर्त सम्मान गर्नै पर्छ । विद्यार्थी–अधिकारप्रति यही समादरभाव देखाउँदै आउँदो ९ चैतसम्म सञ्चालन हुने एसएलसी परीक्षाको अवधिभरि बन्द, हडताल वा अन्य कुनै पनि व्यवधानमूलक कार्यक्रम नगर्नु/नगराउनु नै हामी सबैको दायित्व हो ।
आमसरोकारको विषयसमेत रहेको एसएलसी परीक्षासित लाखौँ विद्यार्थी र उनीहरूका परिवारको पनि आशा बाँधिएको छ । देशको राजनीतिक ऊहापोहले यसमा नकारात्मक प्रभाव पार्न दिनुहुँदैन । मनन गर्नुपर्ने के पनि छ भने परीक्षा लिने निकाय र सम्बन्धित कर्मचारी यसलाई मर्यादित बनाउन जति जागरुक हुनु जरुरी छ, त्यतिकै आवश्यक छ– परीक्षार्थीहरूको शिष्ट, अनुशासित र संयमित व्यवहार पनि ।

प्रतिक्रिया