गाउँभरिमै स्कुल जाने केटी म मात्रै थिएँ

Purna-Kumari-Subedi०१५ सालमा कास्कीको लामाचौरमा जन्मेँ । ६ वर्षको उमेरदेखि दाजुहरूसँगै स्कुल जान थालेँ । दाजु मलाई बोकेर नजिकैको स्कुल लैजानुहुन्थ्यो । पहिलोचोटि गएको त्यो स्कुलको नाम अहिले त यादै छैन । किनकि केही दिनमै हामी चितवन बसाइँ सर्‍यौँ । चितवन आएर जब्दा भन्ने ठाउँमा बसियो, त्यहीँको स्कुलमा पढेँ केही समय । फेरि माडीतिर सर्‍यौँ । सरकारले नै जब्दामा बस्नेलाई माडी सारेको थियो । दुई कक्षादेखि बघौडा हाइस्कुल भर्ना भएँ । कक्षा १ यताउता गर्दै पास भइएको थियो । एसएलसी पास गर्दासम्म तीनवटा स्कुल फेरेँ ।
बाल्यकाल पूरै माडीमै बितेको हो । स्कुल पुग्न घरबाट ४५ मिनेट लाग्थ्यो । दाजुहरूसँगै पैदल जाने–आउने गथ्र्यौं । अहिलेका केटाकेटीलाई जस्तो स्वतन्त्रता हामीलाई थिएन । बुबाआमाको नियन्त्रणमा बस्नु पथ्र्यो । नियन्त्रणसाथै माया पनि धेरै नै हुन्थ्यो । उति बेलाको जमाना भए नि बुबा मलाई पढाउने पक्षमै हुनुहुन्थ्यो । छोरीहरू धेरै पढ्दैनथे त्यसबेला । हाम्रो बडामा त झन् छोरी पढाउने अरू कोही पनि थिएनन् । माविसम्म पढ्दा पूरै स्कुलभरिमा जम्मा सात–आठ जना मात्र केटी थियौँ । मेरो कक्षामा दुई जना केटी थियौँ ।
स्कुलमा खाजा बोकेर जादैन थियौँ । बुबाले स्कुलछेउमै रहेको पसलमा खाजा खाने व्यवस्था गरिदिनु भएको थियो । हामी आफूलाई मन लागेको खाजा खान्थ्यौँ । बुबा हरेक महिना आएर पैसा तिरिदिनु हुन्थ्यो । पसलेले लेखेर राख्थ्यो । हामीलाई खासै अभाव थिएन ।
बदमासी गरेर बुबाआमाको हातबाट पिटाइ खाएको याद छैन । सधैँ माया गर्नुहुन्थ्यो । तर, कहिलेकाहीँ गाली भने खान्थें । बुबा सम्झाउनुहुन्थ्यो– ‘छोरी मान्छे सुशील हुनुपर्छ ।’ हामी दिदीभाइबीच झगडा हुँदा पनि कहिले काहीँ गाली खान्थेँ । दिदी भएर भाइसँग झगडा गर्ने भनेर । म र भाइबीच खेल्ने खाने विषयमा झगडा हुन्थ्यो । आमा सम्झाउनुहुन्थ्यो– ‘भाइसँग झगडा गरेर हुन्छ ? घरको काममा सहयोग गर्नुपर्छ । पढाइमा पनि राम्रो हुनुपर्छ ।’
बिदामा गाई चराउन जान्थ्यौँ । एउटा गाई साह्रै छुच्चो थियो । हामी केटाकेटी खेल्नमा भुल्ने, गाईचाहिँ आँखा झिमिक्क गर्‍यो कि बाली चोर्न जाने । गाईले अर्काको बाली खाइदिँदा गाली त कति भेटियोभेटियो । गोठाला जाँदा वा स्कुलमा, डन्डीबियो कपर्दी, गट्टा जस्ता खेल हामीलाई प्रिय थिए । उति बेलाका पहिरनचाहिँ घाँगर, सुरुवाल, फ्रक हुन्थे ।
स्कुलछेउ चौधरीहरूको बस्ती थियो । साथीको लहलहैमा लागेर धेरैचोटि चौधरीको बारीमा काक्रो चोर्न गएँ । टिफिन हुनासाथ मौका छोपेर दौडिहाल्थ्यौँ बारीतिर । स्कुलमा सरहरूले माया गर्नुहुन्थ्यो । धेरै केटी नभएकाले पनि होला, सबै सरले राम्रो व्यवहार गर्नुहुन्थ्यो, प्रेरणा दिनुहुन्थ्यो ।
बुबा पण्डित हुनुहुन्थ्यो । गाउँमा सप्ताह हुँदा उहाँलाई नै बोलाउँथे । बुबा पढेलेखेको समाजसेवी भएकाले हामीलाई सजिलो थियो । उहाँ छोराछोरीलाई पढाइ–लेखाइ गराउनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । त्यसैले छोरी भए पनि मैले पढ्न पाएँ । नत्र त गाउँमा म सरहका धेरै साथीले स्कुल देख्नै पाएनन् ।
आठ कक्षामा छँदा लामै समय स्कुलमा हड्ताल गरेका थियौं हामी विद्यार्थीले । वरिपरिका चारवटा गाविसमा जम्मा दुईवटा निमावि थिए । मावि एउटै थिएनन् । हामीले माविको माग राखेर एक महिना हडताल गर्‍यौँ । एक महिना सरहरूले हडतार गर्नुभयो । पछि माडी हाइस्कुल बनायौँ । स्कुलदेखि नै राजनीतिको स्वभाव आएजस्तो लाग्छ मभित्र ।
साथीसाथी मिलेर वनभात खान पनि गइरहन्थ्यौँ । घरबाट चामल, दाल, तरकारीजस्ता आवस्यक सामान लगेर खेतमा पकाएर खान्थ्यौँ । एकपटक सबै साथी मिलेर सेल पकाएर खाने सल्लाह गर्‍यौँ । घरमा आमाहरूले पकाएको देखेका थियौँ । त्यसैगरी पकाउने कोसीस गर्‍यौं । सबै साना थियौँ । त्यसरी पकाउँदा हात पोल्थ्यो, मुखैभरि कालो हुन्थ्यो । तर, पनि हामी के के न गरेजसरी दंग पथ्र्यौं ।
(वार्तामा आधारित)

प्रतिक्रिया