अंकमाल गर्दा आलोचना

तेहरान : भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेजकी आमालाई इरानी राष्ट्रपति महमुद अहमदिनेजादले अंकमाल गरेको फोटो सार्वजनिक भएपछि इरानका धार्मिक नेताले चर्को विरोध गरेका छन् । अहमदिनेजादका मिल्ने साथीसमेत रहेका चाभेजको मृत्यु भएपछि चाभेजकी आमालाई सान्त्वना दिने क्रममा उनले अंकमाल गरेका थिए । इरानको इस्लामिक कानुनले अंकमाललाई अपराध मानेको जिकिर गर्दै धार्मिक नेताले यसको विरोध गरेका हुन् । चाभेजको अन्त्येष्टिमा भावविह्वल बनेकी आमालाई सान्त्वना दिने क्रममा अहमदिनेजादले उनलाई अंकमाल गरेका थिए ।
इरानका पत्रपत्रिकाले धार्मिक नेता तथा अगुवाले अहमदिनेजादको आलोचना गरेको समाचार प्रकाशित गरेका छन् । इरानबाट प्रकाशित एक अखबारले धार्मिक केन्द्र ‘कोम’का अगुवाले अहमदिनेजादको कदमलाई ‘प्रतिबन्धित कार्य’ र ‘मुर्खतापूर्ण व्यवहार’को संज्ञा दिएको जनाएको छ ।
इस्लामिक कानुनले पारिवारिक नाता नपर्ने विपरीत लिंगका व्यक्तिबीच जुनसुकै स्वरूपमा हुने शारीरिक घनिष्ठतालाई अस्वीकार गर्दै आएको छ । नाता नपर्ने पुरुष र महिलाले एकअर्कालाई छुनसमेत नपाइने नियम यस्तो कानुनमा छ ।
साथै इरानका कतिपय धार्मिक कट्टरपन्थीले अहमदिनेजादले चाभेजको मृत्युपछि लेखेको शोक मन्तव्यप्रति समेत आपत्ति जनाएका छन् । शोक मन्तव्यमा उनले चाभेजलाई ‘सहिद’को संज्ञा दिँदै जिजस क्राइस्ट र इमाम महदी (सिया मुसलमानले मान्ने नवौँ शताब्दीका इस्लामिक सन्त)झैँ चाभेजको पृथ्वीमा पुनरागमन हुने विश्वास व्यक्त गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया