चार भारतीय पक्राउ

राजविराज, २९ फागुन । सफा गरिदिने भन्दै स्थानीय महिलाको गहना ठगी गरेको आरोपमा सप्तरी प्रहरीले चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय पातोले आइतबार साँझ पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको छ ।

पक्राउ पर्नेमा बिहार समस्तिपुर निवासी सुरेश साह, दीपक साह, राकेश साह र बेगुसरायका शंकर साह छन् । उनीहरूले साफ गरिदिने भन्दै महिलाको फुली, कुण्डल, औँठी, टपलगायत गहना लिई नक्कली गहना फिर्ता गर्ने गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय रामचन्द्र मण्डलले दिएको जानकारीअनुसार पातो बजार आसपासका करिब आधा दर्जन महिलाले उनीहरूविरुद्ध प्रहरीमा उजुरी गरेका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको र दोषी ठहर भए चारै जनालाई ठगी मुद्दामा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया