संगीत र सुन्तलामा भुलिरहेका मच्छेश्वर

Maccheshwor-Sapkotaनेपाल आर्मी कुञ्जरमुनि सापकोटाका कान्छा छोरा मच्छेश्वरको जीवनको एउटै सपना थियो, रेडियो नेपाल धाउने, गीत गाउने र सबैले चिन्ने गायक बन्ने । काभ्रेको भित्री गाउँ रयाले (न्युरेखोला)मा जन्मी हुर्केको व्यक्तिका लागि यो निकै ठूलो सपना थियो । किनभने उनको सात गाउँवरिपरि वा पिता–पुर्खाबाट कसैले पनि गायक बन्ने सपना देखेका थिएनन् । मच्छेश्वर सापकोटा रेडियो नेपाल पनि पुगे, गीत गाएर ‘क’ श्रेणीको लोकगायक पनि बने । दुई सयभन्दा बढी गीतका गायक बनिसकेका मच्छेश्वर ६२ वर्षे जीवनको पूर्वाद्र्धतर्फ छुटेका दिनतिर तन्किएर यसो हेर्छन् र भन्छन्, ‘संगीतमा अझै गहिरो साधना गर्न पाएको भए त म अर्कै मच्छेश्वर हुन्थेँ ।’

जाने भए जाऊ माया मारेर
मेरो मुटु दुई टुक्रा पारेर
आफ्नो जीवनकै पहिलो गीतका भावनामा यसरी बुर्कुसी मारेका थिए मच्छेश्वरले । तर, जीवनको यथार्थ निकै भिन्न हुँदोरहेछ । साँच्चै आपैँmले लेखेका गीतका शब्द र तत्क्षण आउने कल्पनाभन्दा भिन्न । त्यसो त उनले आफ्नो बायोडाटाको मध्यतिर ‘गीत लेख्ने, गाउने प्रेरणा’ कोलममा ‘बिछोड’ लेखेका छन् । कस्तो बिछोड ? बायोडाटाको सिरानमा लेखिएको छ– ‘म एक वर्षको नपुग्दै बाबा बित्नुभयो । पाँच वर्षको पुग्न नपाउँदै आमा पक्षघात रोगबाट थला पर्नुभयो । मेरो बाल्यकाल अत्यन्त दर्दनाक अवस्थामा बित्यो ।’ जीवनमा पिता–मातासँगको बिछोडसँग धेरै कुरा जोडिएर आउँछन्, जस्तै बाल्यकालका चिसा दिनहरू, जीवनभर एक्लै हिँड्नुपर्ने अनगिन्ती यात्राहरू, दु:खसँगका दु:खद जम्काभेट । सामाजिक अवरोधविरुद्ध एक्लै गर्नुपर्ने सामना र त्यससँग जोडिएका डरहरू । कुनै महान् तपस्वी वा योगीले पनि यस्तै यात्रा गर्छ । भोगाइका आधारमा जीवनको हिसाबकिताब केलाउने मच्छेश्वरको मस्तिष्कमा पनि फिल्ममा झल्याकझुलुक फ्ल्यासब्याकमा आउने ब्ल्याक एन्ड ह्वाइट दृश्यभैँm घटनाहरू पुनरावृत्त हुन थाल्छन् ।
बाबुको कमी, रोगी आमा…। यस्तो अवस्थाबाट हुर्किनुको विस्वाद उनमा छँदै थियो । यस्तै घटनाले उनी भावुक र विद्रोहीजस्तो भएका थिए । मनभरि विरक्ति भरिएको थियो । कहिलेकाहीँ उनको जीवनको बगैँचामा ठुल्ठूला असिना पनि बर्सेका छन् र फुटेका छन् उनका सपना । अहिले मच्छेश्वर सापकोटाको जीवनमा तिलचामले कपाल र ठूलो फ्रेम भएको चस्माले प्रवेश पाएको छ । उनी टुक्राटुक्रा भएका सपना हत्केलाभरि बटुल्न खोज्छन्, कुनै पुरानो कविताभैँm लाग्ने हार्मोनियममा गीतको गेडी खोजेभैँm ।
सपनाको आदिम स्वरूप र यसका सांगीतिक प्रस्तुतिबीचको सम्बन्ध आजकल बल्ल केलाउन समर्थ भएका छन् मच्छेश्वर । भोगाइसँगै सांगीतिक मोडहरू पनि प्रशस्तै छिचोल्यो उनको जीवनले । अनि त्यस्ता कथाहरू, जसमा अनेकौँ अनुभव र अनुभूति भएको नायकको विम्ब पाइन्छ । उनको जीवन धेरै उपकथा गाँसिएर बनेको यथार्थ उपन्यासजस्तो लाग्छ ।
गाउँभरिमै पहिलोपटक मच्छेश्वरको घरमा सेकेन्ड हयान्ड ‘पानासोनिक’ रेडियो भित्रियो, ०२२ सालतिर । उनी प्राय: रेडियो बोकेरै गाउँ चहार्थे । उसबेला गाउँमा ‘राम्रै’ पढेका मच्छेश्वर लेखापढी गर्थे । ‘स्रेस्ताको ऐन–कानुनको किताब पढेको थिएँ,’ उनी सम्झन्छन् । उनी गाउँलेको तमसुक पनि लेख्थे । उनको जिन्दगीको तमसुकचाहिँ त्यसबेलासम्म पनि लेखिएको थिएन सायद । किनभने उनले सधैँ लेखापढी गर्नु थिएन । त्यस बेला उनको अर्को पनि काम थियो– लाहुर गएकाहरूलाई चिठी लेखिदिनु र लाहुरबाट आएको चिठी पढिदिनु । लाहुरेका श्रीमतीहरू उनीसँग चिठी लेखाइमाग्न आउँथे । उनी चिठी लेख्न थाल्थे, ‘लाहुरेनी’ हरू भन्दाभन्दै रोइसक्थे । बेडका रोमान्सदेखि सासूका बुहार्तनसम्म कथा चिठीमा लेखिन्थे । गाउँका ‘पञ्च, भलाद्मी’हरू गरिबका लालपुर्जा, तमसुकमा ठूलै गडबडी गर्थे, कत्तिको त बासै उठ्थ्यो । मच्छेश्वर सापकोटा नामका यी पात्र ती गरिबका पक्षमा बोल्थे, गाउँले ‘भलाद्मी’ समक्ष हात सुर्कन्थे ।

अघि नै भनियो, रेडियो उनको अभिन्न मित्र थियो । र, रेडियो नै उनको जीवनको नयाँ मोड बनेको थियो । घरको दलिनमा कपडा लगाएको रेडियो झुन्डिएको हुन्थ्यो । रेडियोले गाउँथ्यो, अनेक गीतहरू । कुमार बस्नेत, पाण्डव सुनुवार, वासुदेव मुनालहरू गाइरहन्थे लोकगीत । मच्छेश्वरको मनमा पनि लड्डु फुट्यो– आफू पनि यसरी रेडियोमा गीत गाउन पाए † तर, यो सपनाका पछाडि थिए– अनेक हन्डर र ठक्कर…। एक दिन उनले रेडियो नेपालको ‘प्रश्नोत्तर’ कार्यक्रमका प्रस्तोता पाण्डव सुनुवारलाई चिठी लेखे–‘मलाई गायक बन्ने ठूलो रहर छ । मैले के गर्नुपर्छ ?’ पाण्डवले मच्छेश्वरलाई रेडियोमा बोलाए । त्यसै दिनदेखि उनको गीति–संघर्ष सुरु भयो । उनले रेडियोमा स्वरपरीक्षा दिए, पहिलोपटक फेल भए । फेरि दोस्रोपटक ‘ट्राई’ गरे, बत्तीस सालमा । यसपालिचाहिँ पास गरेरै छाडे । यो उपलब्धिले उनको जीवनलाई नयाँ मोड दिलायो र थपिदियो, राम्रो गायक बन्ने हुटहुटी । गायनको सुरुआततिरको गीत थियो–
रातो सिन्दुर, पहेँलो बेसार
मरेपछि लैजानु के छ र ?
मच्छेश्वरको गीत अब आफ्नै घरको
‘पानासोनिक’मा पनि घन्किन थाल्यो । गाउँका ‘भलाद्मी’हरू डाहा गर्थे र गाउँ उचाल्थे, ‘मच्छेश्वर बिग्रियो ए, बजियाले त रेडियोमा पो गाउन थालेछ, गीतांगे बनेछ मोरो ।’ उनको गायनको यो पहिलो ड्राफ्ट हो, जुन कथाले त्यसबेलाको सामाजिक झल्को दिन्छ ।
संगीत र गायनको महत्त्वाकांक्षाले मानिसलाई भित्रैसम्म पोल्दोरहेछ र त्यसले छाडेको छाया अदृश्यमा कतै ढुकी बस्दोरहेछ । गीतको महत्त्वाकांक्षाको पछि लागेर उनले खुब चहारे काठमाडौंका सडकहरू, गाउँदेखि सहरसम्मको लामो यात्रा । दशकौँअघि एउटा गीति–चेतनाले उनी हिँडेका थिए । मानिसहरूको थामिनसक्नु हुलमा उनी खोजिपस्थे आफ्ना आदर्श गायक/गायिकालाई । उति बेलाका गीत मात्र रेडियोबाट सुनिएका तर नजिकबाट देख्न नपाएका ती गायक/गायिका उनका लागि किंवदन्तीका नायकजस्ता थिए । ‘ती गायक देख्दा, भेट्दा गहिरो आनन्द आउँथ्यो,’ उनी सम्झन्छन् । त्यो यथार्थ कहिलेकाहीँ अति यथार्थ भएर सपनाजस्तो पनि लाग्थ्यो । त्यसैले उनीसँग समयले थुप्रो लगाइदिएका अनन्त सम्झना उनिएका छन्– नातिकाजी, हिरण्य भोजपुरे, पाण्डव सुनुवार, उस्ताद भैरवबहादुर थापा, मदनमान मल्ल, ज्ञानु राणा, तीर्थकुमारी, पूर्णकुमारी नेपाली, कुमार बस्नेत, बुद्धिकृष्ण लामिछानेहरूसम्मका । तिनीहरूसँगको संगतले आफूलाई स्वर माझ्न र तिखार्न सघाएको उनलाई लाग्छ । उनका कति प्रिय गायक मित्रहरू अहिले ‘कोसौँ दूर’ अनन्त यात्रामा पुगेका छन् र ‘सम्झना’ मा मात्र बाँचेका छन् ।
आजकल बनेपाको घरमा नातिहरू खेलाउँदै मच्छेश्वरका दिन बित्छन् । भित्ताभरि टाँस्सिएका छन्, सम्मानपत्रहरू । सयौँको संख्यामा गीत गाइसकेपछि उनलाई आजकाल गायनमा धर्मपत्नी सरस्वती (५६) ले पनि साथ दिन्छिन् । यी बूढा गायनदम्पतीले भर्खरै नयाँ एल्बम बजारमा ल्याएका छन्– ‘दुखिरन्छ मन ।’ नयाँ एल्बमबाट उनी निकै आशावादी छन्, बजार राम्रै लिन्छ भन्नेमा । यस्तै ‘घर त रयाले’, ‘भुन्टेकी आमा’, ‘पानी घुटुक्कै’, ‘त्यसका बाउको उछितो’ उनका पूर्वप्रकाशित एल्बम हुन् ।
गायनले उनको अर्को परिचय झ्याप्पै छोपिदिएको छ । उनी कृषक पनि हुन् । रयालेमा उनले पाँच सय बोट सुन्तला खेती गरेका छन्, १५ रोपनी जग्गामा । वर्षको ६ महिना सुन्तलाका बोट स्याहार्दैमा बित्छ । सुन्तलाको यति पीर लाग्छ कि हार्मोनियममा गाउँदा–गाउँदैको गीत छोडेर अचानक हिँडिदिन्छन् गाउँतिर । भन्छन्, ‘गीतले मानसिक सुख दिन्छ, पेट भरिदिने त सुन्तलाले नै हो नि †’ बनेपाको उनको कोठामै पनि गमलामा रोपिएको छ– जापानी सुन्तला, इन्द्रकमलको बोट । ‘कोठामै बस्दा पनि सुन्तला हेरौँ भनेर यहाँ रोपेको,’ मच्छेश्वर मुस्कुराउँछन् ।
आफ्नो स्वाभाविक भावना र सपनाको गतिलो संयोजन गर्न उनले आफूले गाउने गीत आपैँm लेखे, जसले उनलाई ‘लेख्नु त गजबैको अनुभूति रहेछ’ भन्ने बुझायो । उनले लेखेका/गाएका गीतको स्वाद जतिखेर पनि लिन सकिन्छ । ती गीत सुन्दा झिँजो लाग्दैन किनभने भित्र कतै उनको मौलिक शैली बसेको हुन्छ । उनको लगभग हरेक गीतले एउटै चित्र कोरेको हुन्छ । शब्दहरूले संघर्षको उद्घोष गर्न खोजिरहेका हुन्छन् । जहाँ घन्कन्छ, पञ्चायतकालीन समाज, प्रजातन्त्र प्राप्तिपछिको समाज र त्यस समाजभित्र सिँचन हुन नसकेको प्रजातन्त्र र नागरिकको आवाज । सँगै बुढेसकालमा सन्तान, नातिनातिना छोडेर वृद्धाश्रम गएका बूढाबूढी र ठिटौले प्रेमी–प्रेमिकाका आवाज पनि उनका गीतमा पाइन्छन् । लाग्छ– उनी मानिसका सपनाका गायक हुन् । सायद, त्यसैले वर्षौँपहिले उनी पनि भनिए– जनगायक ।
मच्छेश्वर भन्छन्, ‘उति योजना बनाएर दौडने मान्छे म होइन ।’ जे पर्छ, त्यही टर्छ भन्दै कहिले रेकर्डिङ स्टुडियोमा गीत गाइरहेका हुन्छन् त कहिले सुन्तला बारीमा झार टिप्दै वा हार्मोनियममा लय हाल्दै । अँध्यारो गाउँको रेडियो सेटदेखि रेडियो नेपालसम्मको लामो यात्रामा जे देखे, जे भोगे– त्यही बन्यो उनको जीवनगीतको लय । ‘म काठमाडौंका साँघुरा गल्लीमा अर्कै सभ्यता हुर्किरहेको पाउँछु र गाउँमा चाहिँ चञ्चल व्यवहार र निश्चल हाँसो,’ उनी भन्छन् । कहिलेकाहीँ उनलाई लाग्छ, ‘जीवन ख्यालख्यालैमा पनि बित्दो रहेछ ।’
सहरमा एकै उमेरका थुप्रै किशोर भेटिन्छन्, जो निमेषभरमै सपना फेरिरहन्छन् । तीमध्ये गायक बन्ने सपना देख्नेहरू कुनै रेकर्डिङ स्टुडियोमा कनिरहेका हुन्छन् । तिनका गीत सुन्दा पहिल्यै कुनै गायकले गाइसकेको जस्तो लाग्छ र श्रोतासँग सम्पर्क गर्न असमर्थ हुन्छन् । तर, त्यो रेकर्डिङ स्टुडियोमा भोलिपल्टै नयाँ ‘गायक’ आइरहेको हुन्छ । फेरिएका ‘गायक’हरूमा अघिल्लो ‘गायक’को झल्को आउँछ । सहरमा धेरै ‘गायक’ आउँछन् र भोलिपल्ट कहाँ जान्छन् थाहा हुँदैन । त्यसैले मच्छेश्वर यस मानेमा फरक छन् । उनका गीत श्रोतासँग सोझै सम्पर्क राख्छन् र गीत सुन्दा सुरिलो धुनले मस्तिष्क–मुटुलाई चनाखो बनाउँछ । सायद, बजारु संगीत श्रवण गर्न पल्केको पुस्ताले मच्छेश्वरलाई चिन्नै बाँकी छ । गम्भीर स्वरमा चस्मा उचाल्दै मच्छेश्वर सुनाउँछन्, ‘रेडियो नेपालमा मेरा गीत नबजेका भए, मेरो नामनिसाना रहन्नथ्यो होला ।’ तैपनि उनलाई लागेकै रहेछ, ‘म प्रोफेसनल गायकचाहिँ बन्न सकिनँ ।’

प्रतिक्रिया