बलात्कारका मुख्य अभियुक्तद्वारा जेलमै आत्महत्या

नयाँदिल्ली : गत डिसेम्बरमा भारतको राजधानी नयाँदिल्लीमा एक युवतीमाथिको सामूहिक बलात्कारमा संलग्न मुख्य अभियुक्तले सोमबार जेलमै आत्महत्या गरेका छन् । गत डिसेम्बर १६ मा आफ्ना केटासाथीसँग फिल्म हेरेर बस चढी घर फर्किरहेकी २३ वर्षीया युवतीमाथि बसका चालकसहित ६ जनाले सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि बसबाट बाहिर हुत्याइएकी उनको उपचारकै क्रममा सिंगापुरमा मृत्यु भएको थियो ।

बलात्कारको घटना सार्वजनिक भए पनि ती अभियुक्तलाई प्रहरीले थुनामा राखी कारबाही अघि बढाएको थियो । नयाँदिल्लीस्थित तिहार जेलमा राखिएका उनले जेलभित्रै आत्महत्या गरेको प्रहरीले सोमबार जनाएको छ । ‘आइतबार बेलुकासम्म उनी सहिसलामत थिए, तर आज बिहान उनको कोठमा पुगेर हेर्दा आत्महत्या गरेको अवस्थामा उनी फेला परेका थिए,’ जेलका एक वरिष्ठ सुरक्षा अधिकारीले भने । राम सिंह नाम गरेका ती मुख्य अभियुक्त बस चालक हुन् । उनलाई प्रहरीले मुख्य अभियुक्तको दर्गा दिई कारबाही अघि बढाइरहेको थियो । अनुसन्धानका क्रममा राम सिंहले गल्ती स्वीकारेका थिए ।
जेलका अधिकारी सुनील गुप्ताले भने, ‘उनले आफूसँग भएका सबै कपडा गाँसेर डोरी बनाई त्यसैको पासो लगाएर झुन्डिएर आत्महत्या गरेको अवस्थामा हामीले फेला पार्‍यौँ ।’ आत्महत्याबारे अनुसन्धान आरम्भ गरिएको जानकारीसमेत उनले दिए । उनकाअनुसार आत्महत्या भएको स्थान वरिपरि आत्महत्याका लागि बल पुग्ने खालका कुनै सुरक्षा कमजोरी थिए कि भन्ने पत्ता लगाउन अनुसन्धान थालिएको हो । घटनालाई जेल प्रशासनको सुरक्षा कमजोरीका रूपमा भारतीय सञ्चारमाध्यमले चित्रण गरेका छन् । मृतक रामसिंह ३० वर्षका थिए ।
बलात्कारमा परी मारिएकी ती २३ वर्षीया युवतीका बुबाले पनि यसलाई सुरक्षाको कमजोरीको संज्ञा दिएका छन् । ‘प्रहरीले यति गम्भीर अपराधमा संलग्न अपराधीलाई पनि कति लापरवाहीपूर्ण व्यवहार गर्दाेरहेछ भन्ने यो ज्वलन्त उदाहरण हो, यस्तो अवस्थामा पूर्ण न्याय पाउने आश मर्दै गएको छ,’ उनले भने । बलात्कारका अन्य आरोपी भने प्रहरी हिरासदमै छन् । बलात्कारीमध्येको एक १७ वर्षको मात्र रहेकोले भारतीय कानुनबमोजिम नाबालकका रूपमा उनलाई बढीमा तीन वर्षको जेल सजाय हुनसक्ने बताइएको छ । तर, अन्य अरोपीलाई के कस्तो सजाय दिइनेछ भन्ने तय भइसकेको छैन । (एएफपी)

प्रतिक्रिया