खानेपानीका लागि रकम संकलन

सोलुखुम्बु : सोलुखुम्बुको पर्यटकीय बजार लुक्लामा वर्षौंदेखि खानेपानी समस्या बढ्दै गएको छ । विभिन्न निकायमा खानेपानी समस्या समाधानका लागि पहल गरिए पनि अझै सम्म समाधान नभएकाले लुक्लावासी हरेक घरबाट रकम संकलन गर्ने तयारीमा जुटेका छन् ।
लुक्लामा सम्पन्न आम भेलाले लुक्लाका सबै दुई सय चार घरधुरीलाई अवस्थाअनुसार विभाजन गरी रकम संकलन गर्ने निर्णय गरेको हो । भेलाको निर्णयअनुसार लुक्लाका घुरधुरीका बासिन्दालाई ए, बी, सी, डी र ई वर्गमा विभाजन गरी वर्गअनुसार रकम संकलन गर्ने निर्णय गरेको चौरीखर्क मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिए ।
शेर्पाका अनुसार भेलाले प्रतिघर ए वर्गबाट ६० हजार, बी वर्गबाट ५० हजार, सी वर्गबाट ३० हजार, डी वर्गबाट १० हजार र ई वर्गबाट पाँच हजारका दरले रकम संकलन गर्ने निर्णय गरिएको हो । वर्ग विभाजन गरेर सबै घरधुरीबाट रकम संकलन गर्दा करिब १२ देखि १५ लाख रुपियाँ संकलन हुने अनुमान गरिएको छ ।
व्यस्त पर्यटकीय बजार लुक्लाको खानेपानी समस्या समाधानका लागि यसअघि पटकपटक विभिन्न निकायमा प्रयास भएको भए पनि समाधान नभएको र अहिले समस्या चर्को बन्दै गएकाले समस्याको अस्थायी समाधानका लागि स्थानीयले नै रकम संकलन गर्न लागेका हुन् ।
स्थानीय ल्हाक्पाछिरिङ शेर्पाको अध्यक्षतामा खानेपानी तथा सरसफाइ तदर्थ समिति गठन गरी समस्या समाधानको खोजी गरिएको पनि शेर्पाले जानकारी दिए । लुक्लामा खानेपानी र ढल व्यवस्थापनको योजना सञ्चालनका लागि जिल्ला विकास समिति सोलुखुम्बुको १६औँदेखि २०औँसम्मका सबै जिल्ला परिषद्ले योजना पारित गरेर प्राथामिकतामा राखेको भए पनि अझै योजना विनियोजन भएको छैन । करिब तीन करोड ५० लाखको सो योजना जिल्ला विकास समितिले सञ्चालन गर्न नसक्ने र अन्यत्रबाट योजना प्राप्त नभएको भन्दै जिल्ला विकास समितिले योजना नदिएको हो । यो योजना सञ्चालनका लागि लुक्लावासीले भारतीय राजदूतावासमा समेत अनुरोध गरिसकेका छन् ।
तर, अहिलेसम्म कतैबाट पनि योजना प्राप्त नहुँदा लुक्लामा खानेपानीको समस्या निकै जटिल बन्दै गएको छ ।

प्रतिक्रिया