मलेसियाकाट जबरजस्ती कामदार फर्काइए

काठमाडौं, २८ फागुन । घरखेत बेचेर रोजगारीका लागि मलेसिया गएका कामदार जबरजस्ती स्वदेश फर्काइएका छन् । मलेसिया स्थित ‘टप ग्लोब’ मा कार्यरत दुई दर्जन कामदार जबरजस्ती नेपाल फर्काएका हुन् ।

फर्किएका अधिकांश कामदार कम्पनीका सुरक्षा गार्डले राति बन्दुक देखाएर फिर्ता पठाएको बताएका छन् । ‘कम्पनीका निजी सुरक्षाकर्मी लगाएर हामीलाई फिर्ता पठाइयो’ पीडित कामदारले भने, ‘सुतिरहेको अवस्थामा धम्कीपूर्ण तरिकाले जबरजस्ती स्वदेश फर्काइयो ।’
उनीहरूका अनुसार बिहीबार ६ जनाको समूहमा नेपाल फर्काइएको छ भने शुक्रबार १३ जना र शनिबार चार जनालाई स्वदेश फर्काइएको छ । पीडित मध्येका तेन्जिङ लामाका अनुसार अधिकांशले बैंकमा रहेको पैसा एटिएमबाट झिक्न नपाएको र कसैले तलबसमेत पाएका छैनन् । उनका अनुसार कम्पनीमा कार्यरत सयौँ नेपालीले नेपाल फर्काइने डरले झोला किनेर सामान पोको पार्न थालेका छन् ।
यता वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने कामदार फर्काइएको विषयमा आफूलाई जानकारी नभएको बताए । ‘मलेसियाबाट कामदार फर्काइएको विषयमा मलाई थाहा छैन’ उनले भने, ‘कूटनीतिक नियोगसँग नबुझी केही भन्न सकिन्न, यदि जबरजस्ती कामदार फर्काइएको भए कूटनीतिक नियोगमार्फत आवश्यक पहल हुनेछ ।’ उनले अहिलेसम्म दूतावासले आफूलाई कुनै जानकारी नगराएको पनि जनाए ।
व्यवसायीका अनुसार सो कम्पनी मलेसियाको एक प्रतिष्ठित कम्पनी हो । २७ वटा फ्याक्ट्री सञ्चालनमा रहेको सो कम्पनीमा कार्यरत करिब सात हजार मजदुरमध्ये पाँच हजारभन्दा बढी नेपाली कामदार छन् । मलेसिया सरकारले मजदुरको न्यूनतम पारिश्रमिक पाँच सय ४६ रुपियाँबाट बढाएर नौ सय रिंगेट बनाएपछि कम्पनीले पुराना नेपाली कामदारलाई हटाएर सस्तोमा नयाँ मजदुर ल्याउन जबरजस्ती कामदार फर्काएको आशंका पीडितको छ ।
सरकारले तोकेको पारिश्रमिक र बिदाको ओभरटाइम दिन कम्पनीले इन्कार गरेपछि गत आइतबार टप ग्लोबका मजदुरले २४ घन्टा हड्ताल गरेका थिए । सोही हड्तालपछि कम्पनीले नेपालीहरूलाई राता–रात निकालेको लामाको गुनासो छ ।

प्रतिक्रिया